close

गुगलको एउटै टोकरीमा यसकारण राख्नु हुँदैन आफ्ना सबै डिजिटल अण्डा

टेकपाना टेकपाना

भदौ २, २०७९ २०:२२

गुगलको एउटै टोकरीमा यसकारण राख्नु हुँदैन आफ्ना सबै डिजिटल अण्डा

काठमाडौं । यदि तपाईँ हाम्रो फोन बिग्रियो भने त्यति धेरै फरक नपर्ला । किनभने फोन बिग्रिँदा बनाउन सकिन्छ । यदि बनेन भने पनि नयाँ खरिद गर्न सकिन्छ । तर, गुगल अकाउन्ट बिग्रियो भने के होला ?

हामीले आफ्ना अनेक प्रयोजनका लागि गुगलका विभिन्न सेवाहरू (युट्युब, गुगल सर्च, गुगल म्याप) प्रयोग गरिरहेका हुन्छौँ । हाम्रो दैनिकीमा उपयोगी हुने यी विविध सेवा एउटै अकाउन्टबाट एक्सेस गर्न पाउनु सकारात्मक कुरा हो । तर, केही गरी गुगल अकाउन्ट बिग्रियो भने ?

विभिन्न सेवाका लागि एउटै गुगल अकाउन्टमा निर्भर हुनु एउटा पक्ष हो भने यसमा हुनसक्ने जोखिम अर्को ठाउँमा छ । आज हामी गुगल बाहेक अन्य हरेक सेवाका लागि गुगल अकाउन्टमै किन निर्भर रहनु हुँदैन वा भनौँ सबै डिजिटल अण्डा गुगलकै डालोमा किन राख्नु हुँदैन भन्ने विषयमा चर्चा गर्दैछौँ ।

विभिन्न माध्यमका लागि गुगलमै निर्भर हुँदा आउन सक्ने समस्या

जसरी हामीले आफ्नो फोन बिग्रिँदा भोग्नुपर्ने समस्या कल्पना गर्छौँ, त्यसभन्दा कैयौँ गुणा भयानक समस्या गुगल अकाउन्ट बिग्रिँदा भोग्नुपर्ने हुन्छ । यदि तपाईँ हाम्रो गुगल अकाउन्ट ह्याक भयो भने के होला ?

यदि कुनै कारणवश गुगल अकाउन्ट हरायो वा त्यसमा पहुँच पाउन सकिएन भने हाम्रो डिजिटल जीवनका कैयौँ हिस्सा विलीन हुनेछ । यदि गुगल अकाउन्ट हरायो, बिग्रियो वा त्यसमा पहुँच पाउन सकिएन भने न हामीले जिमेलमा पहुँच पाउछौँ, न त युट्युब अकाउन्टमा हाम्रो पकड रहन्छ ।

त्यसैगरी गुगल ड्राइभमा राखेका फाइल हराउँछन्, गुगल फोटोजमा ब्याकअपका रूपमा रहेका फोटो समेत गायब हुन्छन् । त्यसबाहेक पनि विभिन्न सेवाका लागि हामी गुगलमा निर्भर भइरहेका हुन्छौँ ।

उदाहरणका लागि तपाईँ हामीले फेसबुक, टिकटक, ट्वीटर जस्ता विभिन्न सामाजिक सञ्जालका अकाउन्ट पनि गुगल अकाउन्टसँग लिङ्क गराएका हुन्छौँ ।

गुगलले जतिबेला पनि लगाउन सक्छ अकाउन्टमाथि प्रतिबन्ध

गुगलको नीति विपरीत कुनै पनि काम गर्‍यौँ भने गुगलले तपाईँ हाम्रो अकाउन्टमाथि  प्रतिबन्ध लगाउँछ । हामीले जान अन्जानमा गर्ने गल्तिका कारण गुगल अकाउन्टमा प्रतिबन्ध लाग्न सक्ने भएकाले सबै कुराका लागि गुगलमा निर्भर हुनु उचित होइन ।

गुगलले अकाउन्टमा प्रतिबन्ध लगाएका तमाम उदाहरण छन् । यदि तपाईँले गरिरहेका काम गुगललाई चित्त बुझेको छैन भने कम्पनीले तपाईँलाई जुनसुकै बेला प्रतिबन्ध लगाउन सक्छ ।

यस्तोमा प्रयोगकर्ताको अकाउन्ट नै खारेज गर्नेसम्मको अधिकार गुगललाई हुन्छ । यदि केही गरी गुगलले तपाईँको अकाउन्टमा प्रतिबन्ध लगायो भने त्यसबाट तपाईँलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।

त्यसो हो भने के गर्ने अब ?

स्मार्टफोन प्रयोग गरिरहँदा गुगलका विभिन्न सेवाको वैकल्पिक बाटो खोज्छु भन्नु आश्चर्यकै कुरा हुन्छ । गुगलका विभिन्न सेवाहरूको विकल्पमा माइक्रोसफ्टको वन ड्राइभ र आउटलुक उपयुक्त हुन सक्छ ।

ब्राउजिङ लागि पनि हामी गुगल क्रोम बाहेक अन्य प्लेटफर्म प्रयोग गर्न सक्छौँ । उदाहरणका लागि गुगल क्रोमको विकल्पमा तपाईँले माइक्रोसफ्ट एज, ब्रेभ जस्ता ब्राउजर प्रयोग गर्न सक्नु हुन्छ । तपाईँ हामीले यसरी सबै सेवाका लागि एउटै प्लेटफर्ममा निर्भर हुनुभन्दा पनि त्यसका विकल्प खोज्नुपर्ने हुन्छ ।

तपाईँ हामीले गुगलका केही सेवाको विकल्प खोजे पनि सबै सेवाको विकल्प पाउन नसकिएला । त्यसको सबैभन्दा उपयुक्त विकल्प हो, गुगल अकाउन्टलाई नै सुरक्षित राख्नु । गुगल अकाउन्टलाई सुरक्षित राख्न सकियो भने यो झन्झटबाट मुक्त हुन सकिन्छ । गुगल अकाउन्टलाई सुरक्षित राख्ने विभिन्न उपाय छन् ।

गुगल लगायत विभिन्न अनलाइन अकाउन्ट सुरक्षित राख्न टु-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सकिन्छ । यसो गर्दा गुगल अकाउन्टलाई यसले थप सुरक्षा प्रदान गर्छ । यदि तपाईँले आफ्नो गुगल अकाउन्टमा टु-फ्याक्टर अथेन्टिकेसन अन गर्नु भएको छ भने तपाईँको अनुपस्थितिमा कसैले पनि तपाईँको अकाउन्टमा पहुँच बनाउन सक्दैन ।

त्यस्तै अर्को उपाय हो, गुगलको पासवर्ड म्यानेजर प्रयोग नगर्ने । गुगलको पासवर्ड म्यानेजरमा हाम्रा हरेक संवेदनशिल अकाउन्टका पासवर्ड सेभ भएका हुन्छन् । केही गरी गुगल अकाउन्ट ह्याक भयो वा कोही अरूको पहुँचमा पुग्यो भने हाम्रा संवेदनशील अकाउन्ट अरुको हातमा पर्छन् ।

यस्तोमा तपाईँको गुगल सेवा त गुम्छन् नै सँगसँगै अन्य सेवाबाट समेत हात धुनुपर्ने हुन सक्छ । त्यसैले गुगलको पासवर्ड म्यानेजरको विकल्पमा अन्य एप जस्तै लास्टपास, वनपासवर्ड प्रयोग गर्न सकिन्छ । 

त्यस्तै जिमेलमा आएका ईमेल सुरक्षित राख्नका लागि तपाईँ हामीले आफ्नो जिमेल इनबक्समा आएका मेल स्वतः अर्को अकाउन्टमा फर्वार्ड गर्न सक्छौँ । यसरी एउटा गुगल अकाउन्ट हरायो भने पनि हामी सजिलै आफूलाई आएका ईमेलहरू अर्को अकाउन्टमा सुरक्षित राख्न सक्छौँ ।

हाम्रा फोटो तथा फाइलहरू जसरी गुगल फोटोज वा गुगल ड्राइभमा ब्याकअप भइरहेका हुन्छन्, त्यसरी नै महत्त्वपूर्ण फाइल, फोटो तथा डेटा अन्य क्लाउड प्लेटफर्ममा ब्याकअप गर्नुपर्ने हुन्छ । अब कसरी युट्युब, सर्चका डेटा डाउनलोड गरेर ब्याकअप गर्न सकिएला भन्ने प्रश्न आउन सक्छ । त्यसका लागि यहाँ क्लिक गरेर गुगलमा रहेका आफ्ना विभिन्न डेटाहरू ब्याकअपमा राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० २१:४१