close

गुगल फोटोजमा आयो ठूलो अपडेट, अब फोटो जोडेर भिडिओ बनाउन सकिने

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १२:५२

गुगल फोटोजमा आयो ठूलो अपडेट, अब फोटो जोडेर भिडिओ बनाउन सकिने

काठमाडौं । गुगल फोटोजमा भएको मेमोरिज अप्सनमा थुप्रै परिवर्तन आएको छ । हालै सार्वजनिक नयाँ अपडेटअनुसार प्रयाेगकर्ताले गुगल मेमोरिज सेवा सुरु भएपछिकै ठूलो अपडेट पाएका हुन् ।

गुगलले ‘मेमोरिज’ लाई स्न्यापच्याट स्टोरिजको रूपमा हेरेको छ, जसले गुगल फोटोजमा भएका विभिन्न फोटोहरूलाई मिलाएर छोटो भिडिओ तयार पार्छ ।

यद्यपि उक्त फोटो स्न्यापच्याट जस्तो हट्ने भन्ने चाहिँ हुँदैन । यस अपडेटमार्फत गुगलले प्रयोगकर्ताको रचनात्मक कलालाई बढी प्राथमिकता दिएको छ ।

प्रयोगकर्ताले एपमा गुगलले उपलब्ध गराएका विभिन्न टुलको प्रयोग गरेर आकर्षक पोस्टर डिजाइन गर्न सक्छन् ।

त्यसैगरी उक्त एपमा भिडिओ एडिटिङलाई बढी जोड दिइएको छ, जसले गर्दा प्रयोगकर्ताले विभिन्न फोटोमा ग्राफिकल आर्ट प्रयोग गरेर भिडिओ तयार पार्न सक्छन् ।

त्यस्तै गुगल फोटोजमा बनाएका विभिन्न भिडिओ तथा फोटोलाई आफ्ना आफन्त तथा साथीभाइलाई शेयर गर्न सहज विकल्प समेत उपलब्ध गराएको छ । ‘मेमोरिज’ गुगल फोटोजको आकर्षक फिचर मध्येको सबैभन्दा प्रख्यात फिचर हो ।

त्यसैले पनि कम्पनीले यही फिचरलाई केन्द्रित गर्दै नयाँ अपडेट सार्वजनिक गरेको हो । माथि उल्लेख गरिएका विभिन्न ग्राफिक आर्टहरू न्यु स्टाइलिस फिचर अन्तर्गत उपलब्ध हुने गुगलले जनाएको छ ।

गुगलका अनुसार केही ग्राफिक्स आर्ट नयाँ फिचर सार्वजनिक गरेको समयमा उपलब्ध हुनेछन् ।

त्यस्तै गुगल फोटोजमा केही डिजाइनहरू शान्टेल मार्टिन र लिजा कङ्गडनसहितका कलाकारले तयार पारेका हुन् ।

तर, यो डिजाइन सीमित समयका लागि मात्र उपलब्ध हुने जनाइएको छ । गुगल फोटोजको मेमाेरिज शेयर गर्नका लागि त्यहाँ भएको शेयरको आइकनबाट शेयर गर्न सकिन्छ ।

उक्त आइकनमा ट्याप गरेर प्रयोगकर्ताले आफूले चाहेको व्यक्तिलाई उक्त मेमोरी शेयर गर्न सक्छ ।

यो फिचर एन्ड्रोइड डिभाइसमा पहिले उपलब्ध हुन्छ भने आईओएस तथा अन्य ब्राउजरमा आउन केही समय लाग्नेछ । गुगल फोटोजमा आएको अर्को फिचर भनेको ‘कोलाज एडिटिङ टुल्स’ हो ।

यसका माध्यमबाट प्रयोगकर्ताले आफूलाई आवश्यक परेका विभिन्न फोटो एउटै फोटोमा जोडेर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्छन् ।

यसमा पनि शान्टेल मार्टिन र लिजा कङ्गडनले तयार पारेका डिजाइन समावेश हुनेछन् ।

उक्त कोलाजमा ब्राइटनेस एडजस्ट गर्नेदेखि फिल्टरहरू प्रयोग गर्न सकिने बताइएको छ । यसमा ३० ओटाभन्दा बढी भिन्नाभिन्नै डिजाइनहरू समावेश छन् ।

गुगल फोटोजका लागि कोलाज एडिटर एन्ड्रोइड र आईओएस डिभाइसका लागि सँगसँगै आउने भएपनि वेब ब्राउजरमा भने उपलब्ध नहुने उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४