close

सामाजिक सञ्जालमा समाचार शेयर गर्दा मानिस आत्मविश्वासी बन्छ- अध्ययन

टेकपाना टेकपाना

असोज १, २०७९ २३:२७

सामाजिक सञ्जालमा समाचार शेयर गर्दा मानिस आत्मविश्वासी बन्छ- अध्ययन

काठमाडौं । एक अध्ययनले सामाजिक सञ्जालमा समाचार तथा लेखहरू शेयर गर्दा मानिस आत्मविश्वासी बन्ने निष्कर्ष निकालेकाे छ । अमेरिकाको अस्टिनमा रहेको युनिभर्सिटी अफ टेक्सासले गरेको मनोवैज्ञानिक अध्ययनको रिपोर्ट अनुसार अनलाइन समाचार शेयर गर्दा मानिसको आत्मविश्वास बढ्ने गरेको पाइएको छ ।

दि जर्नल अफ कन्जुमर साइकोलोजीमा उल्लेख भएअनुसार सामाजिक सञ्जालमा समाचार शेयर गर्ने मानिसहरू आफूहरू बौद्धिक भएको र समसामयिक विषयमा जानकार भएको महसुस गर्दछन् । यसले उनीहरूको आत्मविश्वास बढाउन मद्दत गर्ने गरेको पाइएकाे हाे । 

सामाजिक सञ्जालमा सार्वजनिक रुपमा कुनै समाचार वा लेख शेयर गर्दा उक्त व्यक्तिभित्र लुकेको कुनै विषयमा भएको विज्ञतालाई अंकित गर्ने पनि अध्ययनमा उल्लेख छ । प्रयोगकर्ताले समाचार नपढिकन अथवा हेडलाइन मात्र पढेर शेयर गरेपनि यसले उनीहरूलाई आफू जानकार व्यक्तित्व भएको महसुस गराउने रिपोर्टमा उल्लेख छ ।

 

विशेषगरी आफ्नो नजिकका मानिसहरूसँग अनलाइन समाचार शेयर गर्दा मानिसहरूले आफू बढी जानकार भएको महसुस गर्दछन् ।

“शेयरिङ गर्दा आत्मविश्वासमा वृद्धि हुन्छ । किनभने अनलाइन तथा सामाजिक सञ्जालमा आफूले जानेका कुराहरू राख्दा उक्त व्यक्तिले सो विषयमा विज्ञताको पहिचान बनाइसकेको हुन्छ,” रिपाेर्टमा लेखिएको छ, “त्यसो गर्दा उनीहरू आफैंलाई पनि उक्त विषयमा बढी जानकार भएको महसुस गर्छन् । यसो गर्दा उनीहरूको आत्मविश्वास वृद्धि हुन्छ ।”

पत्रकारिताको अध्ययनका लागि रोयटर्स संस्थानबाट लगिएको डेटाअनुसार समाचार खोल्नेहरूमध्ये ५१ प्रतिशतले समाचार पूरै पढ्छन् । त्यस्तै २६ प्रतिशतले केही भाग मात्र पढ्छन् भने बाँकी २२ प्रतिशत पाठकले हेडलाइन र केही प्रमुख लाइनहरू मात्र पढ्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज १, २०७९ २३:४९