close

जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र

टेकपाना टेकपाना

असोज ४, २०७९ १०:३७

जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले जीआईएस रिमोट सेन्सिङ सम्बन्धी निःशुल्क ४५ दिने तालिम दिने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै तालिमबारे जानकारी दिएका हुन् ।

आविष्कार केन्द्रले स्नातक तहका विद्यार्थीलाई केन्द्रित गर्दै तालिम आयोजना गर्न लागेकाे हाे । तालिममा सहभागी हुने सहभागीलाई अमेरिकी अन्तरिक्ष एजेन्सी संस्था नासामा कार्यरत नेपाली वैज्ञानिक राजेश पौड्याल र अमेरिकाको कृषि क्षेत्रमा काम गरिरहेका विज्ञ डा. महेश पुनले हप्ताको दुई दिन प्रशिक्षण दिनेछन् ।

दशैँपछि सुरु हुने यो तालिम तीन तहमा सम्पन्न हुने जनाइएको छ ।

सबैभन्दा पहिले परिचयात्मक स्तर (Introductory Level), त्यसपछि मध्यम स्तर (Intermediate level) र अन्यमा उच्च स्तर (Advanced level)  को हुनेछ ।

जीआईएस भनेको भौगोलिक सूचना प्रणालीमा आधारित कम्युटर टुल हो, जसलाई म्यापिङका लागि प्रयोग गरिन्छ । जीआईएस प्रविधिलाई म्यापमा तथ्याङ्कगत मूल्याङ्कन जस्ता डेटाबेस अपरेसनका लागि प्रयोग गरिन्छ ।

त्यस्तै रिमोट सेन्सिङ भनेको कुनै पनि वस्तुलाई भौतिक रूपमा सम्पर्क नगरी डेटा संकलन गर्ने विज्ञान हो ।

तालिममा सहभागी हुनेहरूका लागि राष्ट्रिय केन्द्रले चाँडै अनलाइन फाराम उपलब्ध गराउने जनाएको छ । त्यस्तै यस कार्यक्रममा कसले सहभागी जनाउन पाउने भन्ने जानकारी पछि उपलब्ध गराउने अध्यक्ष पुनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १०:३८