close

भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

असोज ४, २०७९ १४:२१

भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ हुँदै, यसरी बन्नुहोस् सहभागी

चितवन । वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेससम्बन्धी दुई दिवसीय अन्तर्राष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ हुने भएको छ । आगामी कार्तिक १९ र २० गते भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा साे कार्यक्रम हुनेछ ।

कार्यक्रमका मुख्य संयोजक सुवास खड्काले दिएको जानकारी अनुसार वर्डक्याम्पको पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट सूचना र प्रविधिका विविध विषयमा प्रशिक्षण तथा छलफल हुनेछ भने दोस्रो दिन वर्डप्रेसका विभिन्न विधामध्ये भाषा अनुवाद, थिम समीक्षा, सहायता, डिजाइन, मार्केटिङ, डकुमेन्टसन आदि विषयमा प्रशिक्षण दिइने छ ।

त्यस्तै दोस्रो दिन प्रत्यक्ष रुपमा वर्डप्रेसलाई नै योगदान गरिने हुँदा उक्त दिन अझ महत्त्वपूर्ण रहने प्रशिक्षक छनौट समितिका संयोजक ई. निशाल गुरुङले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनका लागि विद्यार्थी सहुलियत टिकटका लागि एक हजार रुपैयाँ, प्रारम्भिक दर्ता गर्नेको लागि एक हजार दुई सय रुपैया र अन्य सहभागीहरुको लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।

अर्थ संयोजक शेरबहादुर अधिकारीका अनुसार सहुलियत र प्रारम्भिक टिकटको लागि निर्धारित समयभित्र नाम दर्ता गराउनुपर्ने छ ।

उक्त रकममा सहभागीका लागि प्रशिक्षणसँगै कार्यक्रम अवधिभर नास्ता, खाना, खाजा र टि–शर्टको व्यवस्था गरिने जनाइएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि ३८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । एक हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका लागि झन्डै ४० लाख खर्च हुने अर्थ संयोजक अधिकारीले जानकारी दिए ।

कार्यक्रमबाट वर्डप्रेसमा व्यावसायिक रुपमा काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति तथा कम्पनी, सूचना प्रविधिमा भविष्य निर्माण गर्न खोजेका विद्यार्थी तथा वर्डप्रेससँग काम गरी ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरी लाभ लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वमा पहिलो पटक सन् २००६ जुलाई ९ मा वर्डक्याम्प भएको थियो । नेपालका सन्दर्भमा सन् २०१२ देखि सुरु गरी हरेक वर्ष आयोजना हुँदै आएको छ ।

नेपालका विभिन्न सहरहरु काठमाडाैं, पोखरा, विराटनगर, बुटवल र चितवनमा विभिन्न वर्डक्याम्प सम्पन्न भइसकेकाे छ । वर्डक्याम्पबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १४:२९