close

‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल’: तेस्रो हप्तामा नेपाली टिमको राम्रो प्रदर्शन

टेकपाना टेकपाना

असोज ५, २०७९ २०:३६

‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल’: तेस्रो हप्तामा नेपाली टिमको राम्रो प्रदर्शन

काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको तेस्रो अर्थात निर्णायक हप्ताको खेल मंगलबार देखि सुरु भएको छ । नेपाल सहित मंगोलिया र  बङ्गलादेश गरी यो प्रतियोगितामा कूल २० टिमले खेल्दैछन् । जसमध्ये १६ टिमले पीएमपीएल फलको फाइनलमा स्थान बनाउने छन् । 

प्रतियोगिता अन्तर्गत तेस्रो हप्ताको पहिलो दिनको खेल अर्थात मङ्गलबारको खेल सकिँदा अघिल्ला खेलहरूमा राम्रो गर्न नसकेको नेपाली पब्जी टिम ज्यानमारा ई-स्पोर्टसले राम्रो पुनरागमन गर्ने सङ्केत देखाएको छ । प्रतियोगिताको अङ्क तालिकामा १७ औँ स्थानमा रहेको ज्यानमाराले तेस्रो हप्ताको पहिलो दिनको खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकाको पहिलो स्थानमा रहन सफल भएको छ । 

ज्यानमारा ई-स्पोर्ट्सले तेस्रो हप्ताको पहिलो चार खेलबाट ६५ पोइन्ट बटुलेको छ । जसमा एक चिकेन डिनर र ३२ इलिमिनेशन पोइन्ट समावेश छ । त्यस्तै प्रतियोगिताको अङ्क तालिकाको पाँचौ स्थानमा रहेको नेपाली पब्जी टिम डीआरएसले पनि दोस्रो हप्ताको जस्तै लय समातेको छ । 

तेस्रो हप्ताको अङ्क तालिकामा ५८ पोइन्टको साथ डीआरएस दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाली टिम रअ अफिसियल तेस्रो स्थानमा रहेको छ । यसै गरी नेपाली टिम हाइ भोल्टेज, द एट्याक्स ई-स्पोर्ट्स, इलिमेन्ट्रिक्स र स्काइलाइट गेमिङ क्रमश पाँचौ, छैटौँ , १० औँ र १२ औँ  स्थानमा रहेका छन् । 

प्रतियोगिताको अहिले सम्मको अङ्क तालिकामा मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्ट पहिलो स्थानमा रहेको छ ।‍ दोस्रो स्थानमा भने नेपाली पब्जी टिम डेडआइज गाइजले सम्हाली रहेको मंगोलियन पब्जी टिम डेडआइज वारियर्स रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेपाली पब्जी टिम हाइ भोल्टेज रहेको छ । 

अक्टोबर २ सम्म चल्ने यो प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ५० हजार डलर तोकिएको छ । जसमध्ये विजेताले  १० हजार डलर, उप-विजेताले ६५०० डलर र तेस्रो हुन सफल टिमले ४५०० डलर हात पार्ने छन् । साथै यो प्रतियोगितामा शिर्ष १० भित्र पर्ने टिमले पीएमपीएल साउथ एसिया च्याम्पियनसिप फल २०२२ मा पनि सहभागी हुने मौका पाउनेछन् । 
 

पछिल्लो अध्यावधिक: असोज ५, २०७९ २०:४६