close

गुगल सर्च गर्ने ८ स्मार्ट ट्रिक्स, जुन तपाईँलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

असोज ६, २०७९ ९:१८

गुगल सर्च गर्ने ८ स्मार्ट ट्रिक्स, जुन तपाईँलाई थाहा नहुन सक्छ

काठमाडौं । गुगलको सबैभन्दा आकर्षक फिचरमध्येको एक हाे, गुगल सर्च । आफ्नो दैनिकीलाई सहज बनाउन यस फिचरलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।

यसमा विशेषगरी कुनै पनि जानकारी खाेज्नदेखि भाषा तत्कालै अनुवाद गर्न, विभिन्न देशका मुद्राको विनिमय दर थाहा पाउन लगायत अन्य विभिन्न कामका लागि प्रयोग गर्न सकिन्छ । गुगलबाट केही समयका लागि स्टपवाच र टाइमर फिचर हराएका थिए । अहिले भने यो फिचर गुगलमा आइसकेको छ । आज हामी गुगलमा भएका यस्तै आकर्षक फिचरको बारेमा जानकारी दिन्छौँ ।

स्टपवाच र टाइमर

यो फिचर गुगलमा हालसालै मात्र आएको फिचर हो । स्टपवाचका माध्यमबाट तपाईँले कुन कामका लागि कति समय लाग्यो वा कुनै सीमित समय तोकेर उक्त समयमा काम सम्पन्न भए/नभएको हेर्न सक्नुहुन्छ । यो फिचर प्रयोग गर्नका लागि गुगलको सर्च बक्समा टाइमर (Timer) सर्च गर्नुपर्ने हुन्छ । उक्त ट्याबमा टाइमर र स्टपवाचका विकल्प रहेका छन् ।

रूपान्तरण गर्न

गुगलमा एउटा एकाईलाई अर्को एकाईमा रुपान्तरण गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि तपाईँलाई कसैले दुरीको एकाई माइलमा उपलब्ध गरायो । तर, तपाईँलाई उक्त दुरी किलोमिटरमा चाहिएको छ भने यो फिचरको प्रयोग गर्न सक्नुहुन्छ । कतिपय अवस्थामा कुनै वस्तुको तौल पाउन्डमा दिएको हुन्छ । त्यस्तो अवस्थामा उक्त एकाइलाई पाउन्डमा बदल्नका लागि यो फिचरको प्रयोग गर्न सक्नुहुन्छ ।

 

गुगल लेन्सबाट सर्च गर्नुहोस्

गुगल लेन्स गुगलबाट एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधि प्रयोग भएको टुल हो । यसले फोनको क्यामेरा प्रयोग गरेर तस्वीरमा भएका विवरणका आधारमा तपाईँलाई आवश्यक परेका रिजल्ट दिने गर्छ ।

यसका माध्यमबाट तस्वीरमा भएका अक्षरलाई टेक्स्टमा परिणत गर्न सकिन्छ । त्यस्तै कुनै पनि लुगा आफूलाई मन परेको छ भने गुगल लेन्समार्फत त्यसको मूल्य कति पर्छ वा कहाँबाट खरिद गर्न सकिन्छ भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

त्यस्तै तपाईँलाई कुनै पनि जनावर वा पंक्षीको बारेमा थाहा पाउनु छ भने गुगल लेन्सको प्रयोग गरेर उक्त पंक्षी वा जनावरको बारेमा थाहा पाउन सक्नुहुन्छ ।

स्मार्टफोनमा पछिल्लो १५ मिनेटका सर्च हिस्ट्री डिलिट गर्नुहोस्

यो फिचर गुगल सर्चको स्मार्टफोनमा समावेश भएको फिचर हो । यसका माध्यमबाट तपाईँले पछिल्लो १५ मिनेटभित्र गरेर विभिन्न सर्च विवरण एकैपटक डिलिट गर्न सक्नुहुन्छ । गुगल सर्चमा स्मार्टफोनबाट पछिल्लो १५ मिनेटका सर्च हिस्ट्री डिलिट गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले मोबाइलबाट गुगल एप खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि रहेको तपाईँको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि तल रहेको डिलिट लास्ट १५ मिनेट भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि तपाईँले पछिल्लो १५ मिनेटमा सर्च गरेका कुराहरू हटाउन सक्नुहुन्छ ।

स्मार्टफोनमा भएको मल्टिसर्च

गुगलले हालसालै आईओएस र एन्ड्रोइडका लागि मल्टीसर्च नामक नयाँ फिचर ल्याएको छ । यो फिचरले तस्बिर र टेक्स्टमा आधारित सर्चिङलाई जोडेर विशेष परिणाम पत्ता लगाउन सघाउँछ । यस फिचरका माध्यमबाट एकै पटक फोटो र टेक्स्टबाट सर्च गर्न सकिन्छ ।

 

 

साइट सर्च गर्ने तरिका

गुगल सर्चमा भएका विभिन्न आकर्षक तथा महत्त्वपूर्ण फिचरमध्येको साइट सर्च गर्ने फिचर पनि एक हो ।

यसका माध्यमबाट गुगलको सर्च बक्सका माध्यमबाट कुनै पनि वेबसाइटको विशेष शीर्षक सर्च गर्न सकिन्छ । उदाहरणका लागि गुगल बक्समा (site:techpana.com ios 16) सर्च गर्नुभयो भने टेकपानामा आईओएस १६ सम्बन्धी लेखेका विभिन्न समाचार पढ्न सक्नुहुन्छ ।

ब्राउजरमा क्याल्कुलेटर

यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने कुनै पनि हिसाब गरिरहन छुट्टै क्याल्कुलेटर एप खोलिरहन पर्दैन । गुगलको सर्च बक्समा '४+४' टाइप गरेर सर्च गर्नुभयो भने परिणाममा क्याल्कुलेटर सहित '८' आउँछ ।

 

मेट्रोनोम

गुगलमा थुप्रै इन-ब्राउजर टुलहरू रहेका छन् । यसमा रहेका विशेष टुलमध्ये मेट्रोनोम पनि एक हो ।

यसका माध्यमबाट विभिन्न कलरमध्ये एउटा कलर छान्ने, स्पिनर, रोल अ डाइ, क्याल्कुलेटर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि सर्च बक्समा क्वाइन फ्लिपर (Coin Flipper) सर्च गर्नुभयो भने यस्ता विभिन्न टुलको प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ ९:५३