close

लकडाउनमा घर बस्दा फुरेको ‘इनरोल’, जसले नेपालीमै निःशुल्क सिकाउँछ विभिन्न आईटी कोर्ष

सञ्जीवन राई सञ्जीवन राई

असोज ६, २०७९ ११:४९

लकडाउनमा घर बस्दा फुरेको ‘इनरोल’, जसले नेपालीमै निःशुल्क सिकाउँछ विभिन्न आईटी कोर्ष

काठमाडौं । चितवन, एक पर्यटकीय जिल्ला । यही ठाउँका दुई प्रविधिप्रेमी किशोरहरु अनमोल यादव र सचित यादव मिलेर केही समयअगाडि अनलाइन लर्निङ्ग प्लेटफर्म इनरोल सञ्चालनमा ल्याएका छन् ।

उमेरले दुवैजना १८ वर्ष मात्र पुग्दैछन् । तर उनीहरु इनरोलको माध्यमबाट सूचना तथा प्रविधिको क्षेत्रमा इच्छुक र केही गर्न चाहने व्यक्तिहरुलाई सीप सिकाउन लागिपरेका छन् ।

चितवनकै सामुदायिक विद्यालयमा डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका यी दुवैले अनलाइनको माध्यमबाट स्वअध्ययन गरेर सीप सिके ।

फेसबुकमा सक्रिय रहेको आईटी स्टुडेन्ट अफ नेपाल (आईटीएसएनपी) लाई उनीहरु इनरोल बनाउने माध्यम मान्छन् । खासमा कोभिडको समयमा घरमा बस्दैगर्दा फुरेको होे, इनरोल ।

आखिर के हाे त इनरोल?
इनरोल एक नेपाली अनलाइन लर्निङ प्लेटफर्म हो । दक्ष प्रशिक्षकहरुले प्रविधिका विषयमा तयार पारेका कोर्षहरु यस प्लेटफर्ममा उपलब्ध हुन्छन् । विशेषगरी यस प्लेटफर्मको मुख्य आकर्षण नेपाली भाषामा निःशुल्क र कम मूल्यमा कोर्षहरु उपलब्ध गराउनु हो ।

अहिले इनरोलमा जाभास्क्रिप्ट, पाइथन ज्याङ्गो, एचटीएमएल, गीट र गीटहब, एससीएसएस लगायतका कोर्षहरु उपलब्ध छन् ।

यसमा आफूले चाहेका कोर्षहरु आफ्नो इच्छानुसार जतिबेला पनि लिन सकिन्छ । कोर्षबारे जिज्ञासासमेत राख्न सक्ने सुविधा यसमा राखिएको छ ।

आईटी तथा प्रविधिका कोर्षहरु प्रायः हामी दोस्रो भाषामा पाइरहेका हुन्छौं । ती महँगा पनि हुन्छन् । यही अभावलाई पूरा गर्न इनरोलको जन्म भएको संस्थापकमध्येका एक सचित बताउँछन् ।

“नेपाली भाषामा आईटी विषयहरुका भिडिओ कमै बनेका छन् । बनेका पनि सर्वसुलभ छैनन्,” उनले भने “यसै कुरालाई सम्बोधन गर्न हामीले यो प्लेटफर्म सञ्चालनमा ल्याएका हौं ।”

इनरोलमा भएका अधिकांश कोर्षहरु निःशुल्क छन् । सशुल्क कोर्षहरु निकै कम मूल्यका छन् ।

यसका साथै इनरोलमा विभिन्न कोर्षहरु लिइसके पश्चात इन्टर्नशिप र छात्रवृत्तिहरु व्यवस्था रहेको छ । यहाँ कोर्ष अध्ययन गर्दै जाँदा राम्रो गर्ने विद्यार्थीलाई होस्टिङ्ग सुविधा, विभिन्न सशुल्क सफ्टवेयर तथा कोर्षहरु प्रोत्साहन स्वरुप पुरस्कारमा दिइने सचितले बताए ।

इनरोलले सिकाइलाई अझ गुणस्तरीय बनाउनका लागि फोटोजोआहोस्ट, आईटीएसएनपी आफ्नो साइटमा फिचर गरेको छ । 

छात्रवृत्ति र प्रशिक्षकको अवसर
इनरोलमा तपाईंले छात्रवृत्ति र प्रशिक्षकका लागि पनि अप्लाई गर्न सक्नुहुनेछ । त्यसका लागि लग इन गरेपश्चात होम पेजसँगै 'कोर्ष', 'एप्लाइ फर', 'प्रोफाइल र अबाउट अस' देखिन्छ । यीमध्ये 'एप्लाइ फर'मा क्लिक गरेर तपाईंले छात्रवृत्ति अथवा प्रशिक्षकका लागि एप्लाई गर्न सक्नुहुन्छ ।

तपाईंले साइन अप गरे पश्चात ड्यासबोर्डको माध्यमबाट आफ्नो प्रगति विवरण हेर्न सक्नु हुनेछ । त्यहाँ तपाईंले पढ्न थालेका कोर्षहरु, पढ्दै गरेका कोर्षहरु, पढिसकेका कोर्षहरु देख्न सक्नुहुन्छ ।

साथै प्रत्येक कोर्षमा तपाईं जस्तै अरु सिकारुले गरेका समीक्षा, प्रश्नोत्तर पनि देख्न सक्नुहुन्छ । आफूलाई लागेका कुराहरु सोध्न सकिन्छ । 
 
नाफाभन्दा पनि निःशुल्क र सरल रुपमा शिक्षा प्रदान गर्ने इनरोलको उद्देश्य रहेको संस्थापक सचित बताउँछन् ।

“जो आईटीमा इच्छुक हुनुहुन्छ । यस क्षेत्रमा केही गर्न चाहानुहुन्छ उहाँहरुका लागि इनरोल उपयुक्त हुन्छ ” अर्का संस्थापक अनमाेल भन्छन्, “किनकी आईटीका विषयमा कार्यशाला गराउँदै आइरहेका दक्ष विज्ञहरुबाट तयार पारिएका उत्कृष्ट कोर्षहरु यहाँ उपलब्ध छन् ।”

इनरोललाई नाफामुखीभन्दा पनि सबैको सहयोगमा सञ्चालित प्लेटफर्म बनाउने योजना भएको उनीहरु बताउँछन् । त्यसका लागि वेबसाइटमा ‘स्पोन्सर अस’ सेक्सन समेत राखिएको छ । 
 
कसरी प्रयोग गर्ने ?
●    ब्राउजरमा गएर 'enrol.noditt.tech'टाइप गर्नुहोस् ।
●    माथिल्लो भागको दायाँ तिर ‘लगइन’ मा क्लिक गर्नुहोस् ।
●    त्यहाँ लगइनको (पहिल्यै खाता खोल्नु भएको भए लगइन गर्नु हो) लागि आएको विवरणको तल ‘साइनअप नाउ’ मा क्लिक गर्नुहोस् ।
●    अब ‘रजिस्टर अकाउन्ट’ देखा पर्छ । त्यसमा आवश्यक विवरण भर्नुहोस् । 
●    रजिस्टर गर्दा प्रयोग गर्नुभएको मेल अकाउन्टमा ‘भेरिफिकेसन’ का लागि मेल आउँछ । 
●    त्यस लिङ्क क्लिक गर्नु भएपछि इनरोलमा तपाईंको खाता सिर्जना हुन्छ । 

अब तपाईंले इनरोलमा भएको निःशुल्क तथा सशुल्क आईटीका कोर्षहरु हेर्न पाउनुहुने छ । 


 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १२:२०