close

आईफोन १४ खरिद गर्न नपर्ने ६ कारण

टेकपाना टेकपाना

असोज ६, २०७९ १४:४०

आईफोन १४ खरिद गर्न नपर्ने ६ कारण

काठमाडौं । एप्पलले दुई साताअघि मात्र आफ्नो बहुप्रतिक्षित आईफोनको नयाँ सिरिज आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । प्रि-अर्डर पनि सुरु भइसकेको नयाँ सिरिजका स्मार्टफोनहरूको कतिपय देशमा बिक्री पनि सुरु भइसकेको छ ।

यदि तपाईँ आईफोन १३ वा १२ प्रयोग गरिरहनु भएको छ र अहिले आईफोन १४ प्रयोग गर्न खोजिरहनु भएको छ भने तपाईँका लागि यो लेख उपयुक्त हुनसक्छ । आज हामी आईफोन १४ भन्दा आईफोन १३ कुन कुन  कारणले उपयुक्त छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

आईफोन १४ मा थपिएको नयाँ फिचर भनेको सुरक्षाका फिचर र इमर्जेन्सी कम्युनिकेसन फिचर हुन् ।

यी बाहेक अन्य फिचरहरूको हिसाबले हेर्ने हो भने आईफोन १२ वा आईफोन १३ प्रयोग गरिरहेका प्रयोगकर्ताको लागि आईफोन १४ उपयुक्त नहुन पनि सक्छ ।

एप्पलले आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा केही भिन्नता ल्याएको भए पनि आईफोन १४ को बेस मोडेल आइफोन १४ र आईफोन १४ प्लसमा त्यति भिन्नता ल्याएको देखिँदैन । आईफोन १३ वा १२ छ भने आईफोन १४ खरिद गर्न नहुने केही कारणहरू यहाँ उल्लेख गरिएको छ । 

आईफोन १३ मा उपलब्ध आकर्षक ब्याट्री 

यदि तपाईं आईफोन १३ प्रयोग गरिरहनु भएको छ भने त्यसको ब्याट्री कति टिकाउ छ भन्ने कुरा बुझ्नु नै भएको छ होला । आईफोन १३ मा १५ घण्टाको भिडिओ स्ट्रिमिङ व्याकअप र ७५ घण्टासम्मको अडियो प्लेब्याक रहेको छ ।

आईफोन १४ को ब्याट्रीको आकार आईफोन १३ जत्तिकै रहेको छ ।

आईफोन १४ मा १६ घण्टासम्मको भिडिओ प्लेब्याक र ८० घण्टासम्मको अडियो प्लेब्याक रहेको बताइएको छ । यसमा भएको ब्याट्री ब्याकअपको समय त्यति धेरै होइन । त्यसकारण ब्याट्रीलाई नै आधार बनाएर आईफोन १४ खरिद गर्ने सोच बनाउनु भएको छ भने त्यसका अन्य फिचरबारे अध्ययन गर्नु उपयुक्त हुनसक्छ ।

चार्जिङ पोर्ट

विश्वका विभिन्न देशहरूमा टाइप-सी पोर्ट अनिवार्य गराउने अभियान चलिरहेका छन् । आईफोन १३ र आईफोन १४ मा प्रयोग भएको चार्जिङ पोर्टमा कुनै भिन्नता छैन ।

दुवै मोडेलमा एप्पलको लाइटनिङ पोर्ट नै प्रयोग भइरहेको छ । यसपछि आउने आईफोनको नयाँ सिरिजमा भने टाइप-सी पोर्ट आउन सक्ने अपेक्षा गरिएको छ । यसो भएमा प्रयोगकर्तालाई थप सहज हुनसक्छ । 

आईफोन १३ मा भएको उत्कृष्ट क्यामेरा

कतिपय प्रयोगकर्ताले नयाँ आईफोन क्यामेराका लागि खरिद गर्ने गर्छन् । यदि तपाईँसँग आईफोन १३ छ र आकर्षक क्यामेरा फिचरका लागि आइफोन १४ खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ । एप्पलले आईफोन १४ सिरिजको प्रो र प्रो म्याक्स मोडेलमा मात्र क्यामेराको गुणस्तर बढाएर ४८ मेगापिक्सेल पुर्‍याएको छ ।

आईफोन १४ मा भने १२ मेगापिक्सेलकै मुख्य क्यामेरा सेन्सर रहेको छ । आईफोन १३ मा १२ मेगापिक्सेलकै क्यामेरा छ । आईफोन १४ मा एप्पलले बढी लाइट लिनका लागि ठूला क्यामेरा सेन्सरहरू प्रयोग गरेको छ । यसको अर्थ आईफोन १४ मा लो लाइट पर्फमेन्स बढी छ । तर तपाईँ डिम लाइटमा त्यति फोटो खिच्नुहुन्न भने तपाईँका लागि यो फिचर पनि आकर्षक नहुन सक्छ ।

रिफ्रेस रेट 

आईफोन १३ प्रोमा प्रयोग भएको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको प्रो-मोसन प्रविधि हो । यही प्रविधि आईफोन १४ मा आउने अपेक्षा गरिएको थियो ।

तर, कम्पनीले आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र प्रो-मोसन प्रविधि समावेश गरेको छ । आईफोन १४ मा पनि आईफोन १३ मा जस्तै ६० हर्ज कै रिफ्रेश रेट भएको डिस्प्ले उपलब्ध छ ।

प्रोसेसर 

आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलमा ए१६ बायोनिक चिप प्रयोग भए पनि आईफोन १४ र आईफोन १४ प्लसमा आईफोन १३ को जस्तै ए१५ बायोनिक चिप प्रयोग भएको छ ।

उही विशेषता भएको चिप प्रयोग भएकाले फोनको पफर्मेन्समा खासै केही फरक पर्दैन । 

आईफोन १३ को सस्तो मूल्य 

एप्पलले कुनै पनि नयाँ सिरिज सार्वजनिक गरेको खण्डमा पुरानो सिरिजको मूल्य घटाउँछ । यस वर्ष पनि आईफोन १३ को मूल्य आईफोन १४ को तुलनामा १०० डलरले घटेको छ ।

उही क्यामेरा विशेषता, उही चिपसेटको प्रयोग र उस्तै ब्याट्रीको प्रयोग गरिएको हुनाले तपाईँका लागि आईफोन १३ नै उपयुक्त हुन सक्छ ।

 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ १४:५४