close

गुगल पिक्सेल फोनमा किन सपोर्ट गर्दैन टेलिकमको ई-सिम ?

टेकपाना टेकपाना

असोज ६, २०७९ २२:२५

गुगल पिक्सेल फोनमा किन सपोर्ट गर्दैन टेलिकमको ई-सिम ?

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूर सञ्चार कम्पनीले नेपाल टेलिकमले गत सातादेखि आफ्ना ग्राहकका लागि एम्बेडेड सिम (ई-सिम) को वितरण थालेको छ । आफ्नो फोनमा ई-सिम चल्छ वा चल्दैन भन्ने जान्नका लागि तपाईँले विभिन्न प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

तपाईँको डिभाइसमा ई-सिम सपोर्ट गर्छ या गर्दैन भन्ने कुरा यहाँ क्लिक गरेर जाँच गर्न सक्नुहुन्छ ।

हामीले केही दिनअघि विभिन्न फोनमा ई-सिम सपोर्ट गर्छ भन्ने विषयमा जानकारी दिएका थियौँ । उक्त सूचीमा गुगलको पिक्सेल फोन पनि रहेको थियो । तर, केही प्रयोगकर्ताले आफ्नो गुगल पिक्सेल फोनमा टेलिकमको ई-सिम सपोर्ट नभएको गुनासो गरेका छन् ।

टेकपानासँग कुरा गर्दै टेलिकमका उप-प्रबन्धक सञ्जीव कुमार देवले भने, "हामीलाई पनि पिक्सेल फोनमा ई-सिम सपोर्ट भएन भनेर गुनासो आएको थियो । हामीले बुझ्दै जाँदा ई-सिममा समस्या नभएर पिक्सेल फोनकै कारणले ई-सिम सपोर्ट नभएको पाएका छौँ ।"

गुगलले आफ्नो स्मार्टफोन (पिक्सेल) का लागि नेपाललाई टेरिटरी एरियामा राखेको छैन । गुगलले आफ्नो टेरिटरी एरियाभन्दा बाहिरका क्षेत्रमा ई-सिमको नेटवर्क (भेन्डर वा अपरेटर) लक गर्ने गरेको उनको भनाइ छ । यसरी अपरेटर लक गरेकाले उक्त फोनमा टेलिकमको ई-सिम सपोर्ट नभएको प्रारम्भिक खोजबाट निष्कर्ष निस्केको छ ।

त्यस्तै पिक्सेल फोनमा पनि अस्ट्रेलिया, जापान र ताइवान देशका गुगल पिक्सेल थ्री मोडेल र दक्षिण एसियाका गुगल पिक्सेल थ्रीएमा ई-सिम सपोर्ट नहुने बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार गुगलका अन्य पिक्सेल फोनमा टेरिटरी एरियाभन्दा बाहिरका क्षेत्रमा ई-सिम सपोर्ट नहुने पाइएको छ । यसबारे टेलिकम थप अध्ययन गरिरहेको देवले जानकारी दिए ।

 

 

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ २२:२५