close

ट्रान्सपरेन्ट ब्याकग्राउन्डमा फोटो बनाउने तरिकाहरू

टेकपाना टेकपाना

असोज १०, २०७९ ८:१४

ट्रान्सपरेन्ट ब्याकग्राउन्डमा फोटो बनाउने तरिकाहरू

काठमाडौं । फोटोग्राफीमा काम गर्दा हामीलाई विभिन्न फर्म्याटका फोटो आवश्यक पर्छ । विशेषगरी पृष्ठभूमि (ब्याकग्राउन्ड)  नभएका फोटो विभिन्न परियोजनाका लागि काम लाग्छन् । यदि तपाईँलाई आफूले खिचेका फोटोको ब्याकग्राउन्ड मन परेको छैन भने उक्त ब्याकग्राउन्ड हटाएर नयाँ ब्याकग्राउन्ड राख्न सक्नुहुन्छ ।

विशेषगरी पासपोर्ट साइजको फोटोका लागि फोटोको ब्याकग्राउन्ड हटाउन धेरै आवश्यक पर्छ । हामीले साधारण ब्याकग्राउन्डमा खिचेका फोटो पासपोर्ट साइजका लागि उपयुक्त नहुन सक्छ । त्यसैले पहिले भएको ब्याकग्राउन्ड हटाएर नयाँ ब्याकग्राउन्ड राख्नुपर्ने हुन्छ ।

फोटोमा भएको ब्याकग्राउन्ड हटाउने थुप्रै विकल्प छन् । त्यसमा सबैभन्दा भरपर्दो र आकर्षक कुन भन्ने प्रश्न आउँछ ।

आज हामी मोबाइल एप तथा वेबसाइटबाट कसरी कुनै पनि फोटोको ब्याकग्राउन्ड हटाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

यदि तपाईँसँग कम्प्युटर छ भने त्यसमा फोटोको ब्याकग्राउन्ड हटाउने थुप्रै विकल्प (विन्डोज एप तथा सफ्टवेयर) छन् । यसमा विशेषगरी एडोबी फोटोशप, गिम्प, क्यान्भा, एडोबी एक्सप्रेस, तथा पावरपोइन्टको प्रयोग गरी फोटोको ब्याकग्राउन्ड हटाउन सकिन्छ ।

अनलाइनबाट फोटोको ब्याकग्राउन्ड हटाउने तरिका

हामीसँग इन्टरनेटको पहुँच भयो भने मोबाइल वा ल्यापटपबाट सहजै फोटोको ब्याकग्राउन्ड हटाउन सकिन्छ । यस्ता वेबसाइटबाट ब्याकग्राउन्ड हटाउँदा फोटोको गुणस्तर भने केही मात्रामा घट्छ ।

तर, गुणस्तर घट्छ भन्दैमा नबुझिने नै हुन्छ भन्ने चाहिँ हुँदैन । हामीले जुन प्रयोजनका लागि प्रयोग गर्न खोजेका हौँ त्यसका लागि उपयुक्त नै हुन्छ । वेबसाइटबाट फोटोको ब्याकग्राउन्ड हटाउन तलका दुई उपाय अपनाउनुहोस् ।

रिमुभ डट बिजी

अनलाइनबाट फोटोको ब्याकग्राउन्ड हटाउन सर्वाधिक प्रयोग हुने साइटमध्येको एक 'रिमुभ डट बिजी' हो । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

 त्यसपछि अपलोड इमेजको अप्सनमा गएर आफूले ब्याकग्राउन्ड हटाउनु पर्ने फोटो छान्नुहोस् । 

फोटो छानिसकेपछि त्यसमा भएको ब्याकग्राउन्ड स्वतः हट्छ । त्यसपछि डाउनलोडको अप्सनमा क्लिक गरेर फोटो डाउनलोड गर्नुहोस् ।

लुनापिक

रिमुभ डट बिजी जस्तै लुनापिक पनि निःशुल्क फोटोमा भएको ब्याकग्राउन्ड हटाउन सकिने वेबसाइट हो । त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

  • त्यसपछि त्यहाँ भएको अपलोडको अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि आफूले ब्याकग्राउन्ड हटाउन चाहेको फोटो छान्नुहोस् ।

  • अब माथि रहेको एडिट अप्सनमा जानुहोस् ।

  • त्यसपछि अन्तिममा रहेको ट्रान्सपरेन्ट ब्याकग्राउन्डको अप्सन छान्नुहोस् ।

  • त्यसपछि फोटो माथि रहेको ब्याकग्राउन्ड रिमुभलको अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि फोटोको तल रहेको सेभको अप्सन छान्नुहोस् ।

  • यसरी ट्रान्सपरेन्ट फोटो सेभ गर्न सकिन्छ ।

यदि तपाईँलाई बारम्बार वेबसाइटमा जान अल्छी लाग्यो वा वेबसाइटमा जान सम्भव भएन भने मोबाइल एपको सहयोग लिन सक्नुहुन्छ ।

त्यसका लागि रिमुभ डट बिजीले एपको विकल्प पनि समावेश गरेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरेर  एप डाउनलोड गर्न सक्छन् भने आईओएस प्रयोगकर्ताले लिङ्क नै प्रयोग गर्नुपर्ने हुन्छ ।

एप डाउनलोड गरिसकेपछि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले आफ्नो फोनमा एप खोल्नुहोस् ।

  • त्यहाँ ग्यालरीका लागि मागिएको एक्सेस दिनुहोस् ।

  • त्यसपछि अपडलोडमा ट्याप गरेर आफूले ब्याकग्राउन्ड हटाउनु पर्ने फोटो छान्नुहोस् ।

  • त्यसपछि फोटोको ब्याकग्राउन्ड स्वतः एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुलका माध्यमबाट हट्न थाल्छ ।

  • त्यसपछि डाउनलोडमा ट्याप गरेर फोटो डाउनलोड गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१५