close

ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका

टेकपाना टेकपाना

असोज १०, २०७९ १८:४७

ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका

काठमाडौं । आफूले चाहेको कुनै पनि वेबसाइटमा प्रयोग गर्ने सुविधा सबैलाई हुँदैन । त्यसमा प्रशासनले तपाईँलाई युट्युब चलाउन नदिन सक्छ, अथवा तपाईँ रहेको देशको सरकारले आफूले अनुमति नदिएका समाचार हेर्न नसकोस् भन्ने चाहेको हुनसक्छ ।

चाहे जुनसुकै सन्दर्भ नै किन नहोस्, ब्लक भएका वेबसाइट हेर्ने अनेक उपायहरू हुन्छन् ।

आज हामी तपाईँलाई ब्लक भएका वेबसाइट हेर्ने केही उत्कृष्ट तरिकाको बारेमा बताउँदै छौँ । तर हरेकका लागि जुनसुकै समयमा काम गर्ने अचुक उपाय भने छैन ।

सबै विकल्पका आआफ्नै सकारात्मक र नकारात्मक पक्षहरू छन् । यद्यपि सबैका आआफ्नै उपयोगिता भने रहेका छन् । आउनुहोस्, सुरु गरौँ । 

१. प्रोक्सी (Proxies)

सबैभन्दा सजिलो विधि भनेको प्रोक्सी प्रयोग प्रयोग गर्नु हो । यो सामान्यतया ब्राउजरको विन्डोमा प्रयोग गर्न सकिन्छ, जसले तपाईँको इन्टरनेट कनेक्सनलाई राउट गरिदिन्छ र तपाईँलाई ‘स्पुफिङ’ भनिने छध्म आईपी एड्रेस उपलब्ध गराउछ ।

तपाईँको कनेक्सन राउट गरेर यसले ब्लक गर्ने संयन्त्रलाई नै छलिदिन्छ । तर प्रोक्सीमा एकदमै सीमित टुलहरू मात्रै छन् । यो स्कुल तथा कार्यालयमा छँदा युट्युब खोल्ने राम्रो तरिका हो । तर अन्य अवस्थामा भने यसले काम नगर्न सक्छ ।

इन्टरनेटको प्रयोग सीमित गर्ने चीन जस्ता देशमा तपाईँले यस्तो विधि प्रयोग गर्न सक्नुहुन्छ, तर यसो गर्दा तपाईँ समस्यामा पर्न समेत सक्नुहुन्छ । तैपनि तपाईँ एकपटक प्रयास गर्न चाहनुहुन्छ भने हाइडमाईए्यास र हाईडडटमीले दिने सुविधा प्रयोग गर्न सक्नुहुन्छ । 

२. भर्चुअल प्राइभेट नेटवर्क (VPN)

यसका लागि सबैभन्दा राम्रो विकल्प भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) हो । संक्षिप्त रूपमा भीपीएनले कसरी काम गर्छ भन्नुपर्दा तपाईँको कनेक्सन राउट गर्ने मामिलामा यो प्रविधि प्रोक्सी ले जस्तै यसले तपाईँको आईपी (स्पुफ) लुकाइदिन्छ ।

भीपीएनले तपाईँको कनेक्सन इन्क्रिप्ट समेत गरिदिने भएकाले यो प्रविधि बढी प्रभावकारी मानिन्छ । जसले गर्दा इन्टरनेटमा तपाईँले के गरिरहनु भएको छ भन्ने कुरा थाहा पाउन अरुका लागि धेरै नै कठिन बन्न पुग्छ ।

वेबसाइटहरू अनब्लक गर्न भीपीएन निकै उपयोगी मानिन्छन्, चाहे त्यो चीन जस्ता देशमा इन्टरनेटमाथि लगाइएको सेन्सरशिपको स्थिति होस् अथवा कुनै स्ट्रिमिङ सेवाप्रदायकले अर्कै भूगोलका लागि उपलब्ध गराएको सामग्री हेर्नकै लागि किन नहोस् ।

ब्लक तोड्नुका अलावा भीपीएनले तपाईँलाई जोकसैबाट तपाईँमाथि हुनसक्ने निगरानी अथवा जासुसीबाट जोगाउन एउटा उचित संरक्षण समेत प्रदान गर्दछ । त्यसैले भीपीएनहरू तपाईँका लागि गोपनीयता जोगाउने उपकरण समेत हुन् । तर यसका लागि पैसा तिर्नुपर्ने विषय भने अलिक चुनौतिपूर्ण छ ।

हुन त इन्टरनेट जगतमा निःशुल्क भीपीएनका समेत अनेक विकल्प छन् । तर धेरैजसो भीपीएन राम्रा छैन । सम्भवतः तपाईँले यस्ता निःशुल्क भीपीएनलाई बेवास्ता गरेकै राम्रो हुन्छ ।

प्रिभेडोभीपीएन जस्ता राम्रा विकल्पमा समेत तपाईँको प्रयोगमा विभिन्न किसिमका सीमितता हुन्छन् । अब यस्तो अवस्थामा यदि तपाईँसँग भीपीएनका लागि खर्च गर्ने पैसा छैन अथवा यसका लागि पैसा खर्च गर्न चाहनुहुन्न भने भीपीएन तपाईँका लागि कमजोर विकल्प हो । 

३. श्याडोसक (Shadowsocks)

श्याडोसक्स चीनको ‘ग्रेट फायरवाल’ भित्र डिजाइन गरिएको एउटा प्रोटोकल हो । यसलाई प्रोक्सीकै एउटा प्रकारको रूपमा समेत प्रयोग गर्न सकिन्छ । यद्यपि यसले प्रोक्सीभन्दा अतिरिक्त सुविधाको रूपमा कनेक्सन इन्क्रिप्सन समेत गरिदिन्छ । तर भीपीएनकै स्ट्यान्डर्डमा भने त्यो हुँदैन ।

यसको अर्थ अनब्लक गर्ने र इन्टरनेट ट्राफिक लुकाउने विषय आक्रमणकारीबाट त्यति सुरक्षित हुँदैन । उदाहरणका लागि यसलाई तपाईँले टोरेन्टिङमा प्रयोग गर्नु हुँदैन । यसका बावजुद श्याडोसक आवश्यक लाग्छ भने आउटलाइन भनिने ओपन-सोर्स प्रोग्रामलाई तपाईँले सहजै सेटअप गर्न सक्नुहुन्छ ।

२० मिनेटमै गर्न सकिने सेटअपबाट तपाईँले सर्भर तयार पार्न र कुनै पनि ब्लकलाई तोड्न सक्नुहुनेछ । यसो गर्दा तपाईँलाई सर्भरको खर्च मात्रै पर्नेछ । जुन तपाईँले डिजिटलओसियनबाट मासिक ५ डलरमै पाउन सक्नुहुन्छ । 

४. टोर (Tor)

ब्लक गरिएका साइट चलाउने अन्तिम विकल्प हो टोर । पैसा नहुनेहरूका लागि यो एउटा राम्रो विकल्प बन्न सक्छ । ब्लक तोड्नका लागि यसमा अनियन राउटर अथवा टोर प्रयोग गर्नुपर्ने हुन्छ ।

डार्क वेब तथा यसमा उपलब्ध हुने अवैध सामग्रीमा पहुँच पाउने माध्यमको रूपमा प्रख्यात टोर ब्लक गरिएका वेबसाइटमा पहुँच बनाउन पनि निकै उपयोगी छ ।

यसले भीपीएनले जत्तिको तपाईँको आईपी स्पुफिङ (लुकाइदिने) काम गर्दछ । जब तपाईँ टोर प्रयोग गर्नुहुन्छ, त्यसक्रममा विभिन्न नोडहरूबीचको तपाईँको कनेक्सन बाउन्स अर्थात उछिट्टिने गर्दछ ।

सामान्यतया यो स्वयम्‌सेवीहरूले सञ्चालन गर्दछन्, उनीहरू प्रत्येकसँग आफ्नै आईपी एड्रेस हुने गर्दछ । नोडहरू व्यवसायिक रूपमा कसैको स्वामित्वमा नरहने भएकाले तपाईँलाई ट्र्याक गर्न निकै कठिन हुन्छ र तपाईँको आईपीलाई समेत बढी वास्तविक जस्तो बनाउँछ ।

तर टोरको नकारात्मक पक्ष भनेको यो निकै स्लो अर्थात सुस्त हुन्छ । जसले गर्दा ठूला साइजका फाइल डाउनलोड गर्न तथा नेटफ्लिक्स शोहरू स्ट्रिमिङ गर्न यो उचित विकल्प बन्न सक्दैन । यसबाहेक टोर प्रयोग गर्न केही गाह्रो पनि छ र यसका लागि तपाईँसँग प्रभावकारी रूपमा यसलाई सञ्चालन गर्ने भन्ने कुराको थोरबहुत ज्ञान समेत हुनुपर्छ । 

५. विकेन्द्रिकृत भीपीएन (Decentralized VPN)

डिसेन्ट्रलाइज्ड अर्थात् विकेन्द्रीकृत भीपीएनको तरिका भीपीएन र टोरको आइडियाको सम्मिश्रण हो । वास्तवमा डिसेन्ट्रलाइज्ड भीपीएनले टोरका विकेन्द्रीकृत नोडहरूको साथमा भीपीएनको प्रोटोकल र सेक्युरिटी उपलब्ध गराउँछ । जसले गर्दा यसलाई ब्लक गरिएका साइटहरू सिुरक्षित तरिकाले ब्रेक गर्ने उचित तरिका बनाउँछ ।

तर तत्कालका लागि विकेन्द्रीकृत भीपीएन प्रयोग गर्नु अझै दुविधाकै विषय हो । अर्किट अथवा मिस्टेरियम जस्ता माध्यम प्रयोग गर्न तपाईँले साइनअन गरी क्रिप्टोकरेन्सी खरिद गर्नुपर्ने हुन्छ र कयौँ अस्पष्ट प्राविधिक शर्तहरूसँग संघर्ष गर्नुपर्ने हुन्छ ।

त्यसैले यसमाथिको पहुँच त्यति राम्रो देखिँदैन । यति भन्दै गर्दा एकपटक यसले काम गरेपछि भने विकेन्द्रिकृत भीपीएन निकै आनन्ददायक लाग्छ ।

त्यसपछि पनि केही नयाँ प्रविधि आत्मसात् गर्दाको बखत आइपर्ने जस्तै अन्य समस्याहरू झेल्नुपर्ने हुनसक्छ । अबका केही वर्षमा डीभीपीएन अर्थात् डिसेन्ट्रलाइज्ड भीपीएन ब्लक गरिएका साइटहरू तोड्ने राम्रो विकल्पको रूपमा उदाउन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १८:४८