close

कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ?

टेकपाना टेकपाना

असोज १२, २०७९ १०:३७

कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ?

काठमाडौं । सामसङ ग्यालेक्सीको नयाँ सिरिज ‘ग्यालेक्सी एस २३’ का विवरणहरू बाहिरिएको छ । कम्पनीले २०२२ मा ठूलो परियोजनाबारे केही कुरा बाहिर नल्याउने भनेपनि लिकरहरूले २०२३ को प्रारम्भमा सामसङको महत्त्वपूर्ण लन्चका कुराहरू बाहिर ल्याएका छन् ।

सामसङ ग्यालेक्सी एस २३ सिरिज आकर्षक डिजाइनका साथ बजारमा आउने अपेक्षा गरिरहँदा हालै वनलिक्स र स्मार्टपिक्सले सामसङको आउँदो प्लस मोडेलको फ्ल्यागशिपकाे बाहिरी आवरण (डिजाइन) बारे विभिन्न कुरा बाहिर ल्याएका छन् ।

स्मार्टपिक्सका अनुसार ग्यालेक्सी एस २३ मोडेल ग्यालेक्सी एस २२ प्लसभन्दा डिजाइन तथा क्यामेरा मोडेलमा भिन्नै रहेको छ । त्यस्तै एस २३ प्लसको पछाडिपट्टि तीन मुख्य क्यामेरा रहने जनाइएको छ ।

बाहिर आएको जानकारी अनुसार यसमा समावेश हुने टेलिफोटो क्यामेरा पनि एस २२ प्लस जस्तै हुनेछ । केहीले यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा समावेश हुने दाबी समेत गर्दै आएका छन् ।

त्यस्तै डिजिटमा आएको जानकारीलाई आधार बनाउने हो भने सामसङ एस २३ मा ६.१ इन्चको बेजललेस डिस्प्ले रहनेछ । केहीले यसमा भएको सेल्फी क्यामेरालाई पनि अपग्रेड गरेको जानकारी दिएका छन् ।

बाहिरिएको जानकारीलाई आधार बनाएर एस २३ प्लसलाई एस २२ प्लससँग तुलना गर्ने हो भने यो एस २२ प्लसको तुलनामा ०.३ एमएम ठूलो (लम्बाई) रहने छ । ग्यालेक्सी एस २३ र ग्यालेक्सी एस २३ प्लसको स्क्रिन साइज बराबर हुने बताइएकाे छ ।

सामसङ एस २३ सिरिजका केही माेडेलमा मिडियाटेक चिप प्रयोग हुनेछ भने केहीमा स्न्यापड्रागन सिलिकन चिपसेट  प्रयोग हुने चर्चा छ । यसमा निश्चित कुन चिपसेट प्रयोग हुन्छ भन्ने कुराको कुनै जानकारी बाहिर आएको छैन ।

त्यस्तै यस फोनमा ५००० एमएएचको ब्याट्री समावेश हुनेछ, जुन एस २२ अल्ट्रामा प्रयोग भएको छ । केही प्रतिवेदनले यसमा भएको ब्याट्री एस २२ को तुलनामा ५ प्रतिशत बढी क्षमता भएको उल्लेख गरेका छन् ।

त्यस्तै यसमा ग्यालेक्सी एस २२ मा जस्तै २५ वाट चार्जिङ स्पीड रहने बताइएको छ । यो फोन सम्भवतः फेब्रुअरी २०२३ मा सार्वजनिक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १०:४३