close

आईफोनमा स्याटलाइट फिचर, कत्तिको उपयोगी होला ?

टेकपाना टेकपाना

असोज १२, २०७९ १६:२४

आईफोनमा स्याटलाइट फिचर, कत्तिको उपयोगी होला ?

काठमाडौं । आईफोन १४ सिरिजमा स्याटलाइट नेटवर्कको सुविधा समावेश छ । मोबाइल नेटवर्कले काम नगरेको ठाउँमा प्रयोगकर्ताले स्याटलाइटमार्फत मेसेज गर्नसक्ने सुविधा यो फिचरले दिन्छ । यसलाई कम्पनीले सेफ्टी फिचरको रुपमा पनि लिएको छ ।

एप्पलले नोभेम्बरमा आउँदै गरेको इमर्जेन्सी एसओएस फिचरले सेलुलर र वाई-फाई कभरेजको दायराभन्दा बाहिरको आपतकालीन अवस्थामा प्रयोगकर्तालाई सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । कम्पनीका अनुसार सामान्यतया यो फिचरमार्फत मेसेज पठाउन १५ सेकेन्ड लाग्नसक्छ ।

यद्यपि जंगलहरू धेरै भएको स्थानमा एक मिनेटदेखि बढी समय लाग्नसक्ने बताइएको छ । उत्तरी क्यानडा, अलास्का लगायत बाक्लो जंगल, गुफा लगायतका क्षेत्रमा यो स्याटलाइट फिचरले काम नगर्ने विज्ञहरूको भनाइ छ । यसले गर्दा पूर्ण रुपमा स्याटलाइट फिचरमा निर्भर हुनु जोखिमपूर्ण हुनसक्ने विश्लेषण गरिएकाे छ ।

त्यसैले मोबाइल प्रयोगकर्ताले आफ्नो यात्राको क्रममा मोबाइलमा नै स्याटलाइट छ भनेर अन्य विकल्प प्रयोग नगर्नु खतरनाक पनि हुनसक्ने बताइएको छ । यसबीच केहीले भने प्रयोगकर्तालाई राम्रोसँग जानकारी दिएर यो फिचरको सही उपयोग गर्न सकिने तर्क दिएका छन् ।

अर्कोतर्फ सबै स्याटलाइट फिचरहरू समान नहुने र आईफोन १४ को स्याटलाइटले सबै काम गर्नसक्छ भन्ने कुरामा ढुक्क हुनुपर्ने कुरा नभएको तर्क पनि छ । स्वास्थ्य, सुरक्षा, उद्दार, यात्राको क्रममा आउने समस्या लगायतका विभिन्न फरक-फरक समस्याका लागि फरक-फरक आकस्मिक सेवा आवश्यक पर्छ ।

यस्तोमा आईफोन १४ ले यी सबै परिस्थितिको लागि सुविधा दिनसक्छ वा सक्दैन भन्ने पनि आफैंमा एउटा प्रश्न हो । यस किसिमको बहसमा हाल कम्पनीले कुनै प्रतिक्रिया  दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ २१:१३