काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा सस्तो विद्युतीय कार टियागो ईभी (Tiago EV) सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो सस्तो तथा सबैभन्दा सानो विद्युतीय कार सार्वजनिक गरेको हो ।
कम्पनीले टाटा टियागो ईभी सात ओटा भेरियन्टमा उपलब्ध गराउनेछ । जसमा ८ लाख ४९ हजार भारू (करिब १३ लाख ५८ हजार ४०० रुपैयाँ) पर्ने १९.२ किलोवाट ब्याट्री क्षमता भएको एक्सई भेटियन्टदेखि ११ लाख ७९ हजार भारू (करिब १९ लाख दुई हजार ४०० रुपैयाँ) पर्ने २४ किलोवाट ब्याट्री क्षमता भएको 'एक्स जेट प्लस टेक लक्स' भेरियन्टसम्म छन् ।
७.२ किलोवाट चार्जरले गाडीलाई फुल चार्ज गर्न ३ घण्टा ३६ मिनेट लाग्ने कम्पनीको भनाइ छ । त्यस्तै डीसी चार्जरले उक्त कारमा १० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा ५७ मिनेट लाग्छ । कारमा टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक ओआरभीएम, क्रुज कन्ट्रोल, स्टार्ट अन तथा स्टार्ट अफ गर्न सकिने पुश बटन, लेदर सिट, अटोह्याण्ड ल्याम्प समावेश छन् ।
कम्पनीले हाल एक्सई, एक्सटी, एक्स जेट प्लस, एक्सजेट टेक प्लसका विभिन्न मोडेलहरू बजारमा ल्याएको छ । १९.२ किलोवाट ब्याट्री क्षमता भएको कारले फूल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । तल उल्लेखित मूल्य पहिलो हजार ग्राहकका लागि मात्र लागू हुनेछ ।