close

सर्च इन्जिनका लागि टिकटक प्रयोग गर्दै युवा पुस्ता

टेकपाना टेकपाना

असोज १२, २०७९ २१:२१

सर्च इन्जिनका लागि टिकटक प्रयोग गर्दै युवा पुस्ता

काठमाडौं । सर्च इन्जिनका रूपमा टिकटक चलाउने प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । पछिल्लो समय सार्वजनिक भएका विभिन्न रिपोर्टमा सर्च गर्न टिकटक प्रयोग गर्नेहरूकाे सङ्ख्या बढेको पाइएको हो ।

टिकटक भिडिओ प्लेटफर्मबाट सर्च इन्जिनका रूपमा परिणत भइरहेको छ । सामान्यतः सूक्ष्म कुराको जानकारी लिन, पछिल्ला समाचारको जानकारी लिन, ट्युटोरियल हेर्नका लागि टिकटकको प्रयोग बढी हुन थालेको छ । यसलाई आधार बनाएर विभिन्न अनलाइन माध्यमले सर्च इन्जिनका लागि कति प्रतिशत प्रयोगकर्ताले टिकटक प्रयोग गर्छन् भन्ने कुराको परीक्षण गरेका छन् ।

खाना बनाउने विभिन्न तरिकाका लागि मानिसहरू टिकटकलाई नै प्राथमिकता दिने गर्छन् । आफूले चाहेको परिणाम छिट्टै भेट्न सकिने भएकाले युवापुस्ताले टिकटकलाई सर्च इन्जिनका रूपमा बढी प्रयोग गरेको पाइन्छ । कतिपय अवस्थामा प्रयोगकर्ता क्रियटरले भिडिओमा भूमिका बाँधेको रुचाउँदैनन् ।

टिकटकमा क्रियटरले विभिन्न ट्युटोरियल भूमिका नबाँधी बनाउने भएकाले प्रयोगकर्ता टिकटकमा ट्युटोरियल हेर्न रुचाउँछन् । त्यसैले पनि टिकटकमा प्रयोगकर्ताको रुचि बढी भएको विभिन्न माध्यमले उल्लेख गरेका छन् ।

यसो त चर्चित सञ्चार माध्यम द भर्जले टिकटकले गुगललाई विस्थापित गर्नसक्ने अनुमान पनि गरेको छ । एन्ड्रोइडसँग सम्बन्धित समाचार माध्यम एन्ड्रोइड अर्थोरिटीले गरेको सर्वेक्षणमा भने युवापुस्टाले सर्च गर्नका लागि टिकटकको भर नपरेको देख्न सकिन्छ ।

कुल १०६२ भोटमध्ये ९३ प्रतिशत प्रयोगकर्ताले सर्च इन्जिनका रूपमा टिकटक प्रयोग नगर्ने अप्सनमा भोट गरेका छन् । त्यस्तै ५ प्रतिशत प्रयोगकर्ताले कहिलेकाहिँ प्रयोग गर्छौँ भनेका छन् भने दुई प्रतिशत प्रयोगकर्ताले सर्च इन्जिनका लागि टिकटकमा निर्भर रहने जवाफ दिएका छन् ।

 

 

पछिल्लो अध्यावधिक: असोज १२, २०७९ २१:२१