close

लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने

टेकपाना टेकपाना

असोज १३, २०७९ १५:९

लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने

काठमाडौं । लुम्बिनी विकास कोषले दशैंको अवसरमा आज बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । कोषले धर्मावलम्बी तथा पर्यटकलाई बुद्धको जन्मस्थलमा जाने पर्यटकको सहजताका लागि पाँच ओटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

टेकपानासँग कुरा गर्दै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पर्यटकको सहजता र वातावरण प्रदूषण न्यूनीकरण गर्न विद्युतीय बस सञ्जालनमा ल्याएको जानकारी दिए । "वातावरण प्रदूषण न्यूनीकरण गर्न र पर्यटकको रोजाइ पनि पर्ने भएकाले विद्युतीय बस सञ्चालनमा ल्याउने योजना ल्याएका हाैं," उनले भने ।

दशैं अवधिभर परीक्षणको रूपमा सञ्चालन गरिने बसमा नि:शुल्क यात्राको व्यवस्था मिलाइएको छ ।

कोषले सञ्चालनमा ल्याएको पाँचओटा विद्युतीय बस लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोट क्षेत्र परिक्रमा, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवाको सिमानाका बेलहियासम्म, लुम्बिनीदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धको मावलीस्थल देवदह, लुम्बिनीदेखि भैरहवाको बुद्धचोक हुँदै बुटवलको गोलपार्कसम्म सञ्चालन हुने शाक्यले जानाकारी दिए ।

"अहिले दशैंको अवसर र केही प्रक्रिया पूरा नभएकाले निःशुल्क सञ्चालन गरिएको हो । नम्बर प्लेट आइसकेपछि यात्रुले केही शुल्क तिरेर यात्रा गर्नुपर्ने हुन्छ," उनले भने ।

लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न एसियाली विकास बैंकले अनुदान तीन वर्षअघि ती बस उपलब्ध गराएको थियाे ।

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १५:१४