close

जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असोज १४, २०७९ १०:१९

जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले असोज २४ गतेबाट जीआईएस रिमोट सेन्सिङ सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै तालिमबारे जानकारी दिएका हुन् ।

जीआईएस भनेको भौगोलिक सूचना प्रणालीमा आधारित कम्प्युटर टुल हो, जसलाई म्यापिङका लागि प्रयोग गरिन्छ । जीआईएस प्रविधिलाई म्यापमा तथ्याङ्कगत मूल्याङ्कन जस्ता डेटाबेस अपरेसनका लागि प्रयोग गरिन्छ । त्यस्तै रिमोट सेन्सिङ भनेको कुनै पनि वस्तुलाई भौतिक रूपमा सम्पर्क नगरी डेटा संकलन गर्ने विज्ञान हो ।

आविष्कार केन्द्रले स्नातक तहका विद्यार्थीलाई केन्द्रित गर्दै यो तालिम आयोजना गर्न लागेको हो । ४५ दिनसम्म चल्ने तालिममा सहभागी हुने सहभागीलाई अमेरिकी अन्तरिक्ष एजेन्सी संस्था नासामा कार्यरत नेपाली वैज्ञानिक राजेश पौड्याल र अमेरिकाको कृषि क्षेत्रमा काम गरिरहेका विज्ञ डा। महेश पुनले हप्ताको दुई दिन प्रशिक्षण दिनेछन् ।

दशैँपछि ९असोज २४ गते० सुरु हुने यो कार्यक्रममा पहिलो चरणमा जीआईएस र रिमोट सेन्सिङको परिचयात्मक कक्षा सञ्चालन हुने जनाइएको छ । इन्टरमिडियट र एड्भान्स लेभलका लागि भने यो कोर्स सकिएपछि छुट्टै फारम भरेर सहभागी हुनुपर्ने हुन्छ ।

यसर्थ जीआईएस र रिमोट सेन्सिङसम्बन्धि आधारभूत ज्ञान भएकाहरू यसमा  सहभागी नहुन पुनले आग्रह गरेका छन् । यो तालिम भौतिक र अनलाइन रूपमा सञ्चालन हुनेछ । भौतिक रूपमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको हाई टेक ल्याबमा सञ्चालन हुनेछ । भौतिक रूपमा जम्मा २५ जनाले तालिममा सहभागी हुन पाउनेछन् । त्यस्तै अनलाइनबाट भने फारम भर्ने सबैले पाउन सक्ने पुनको भनाइ छ ।

यो तालिम सबैभन्दा पहिले परिचयात्मक स्तर (Introductory Level), त्यसपछि मध्यम स्तर (Intermediate level) र अन्यमा उच्च स्तर (Advanced level)  को हुनेछ । अहिले फारम भरेका सहभागी परिचयात्मक सेसनमा सहभागी हुनेछन् । अन्य तहका लागि फारम लिङ्क पछि नै उपलब्ध गराउने पुनले उल्लेख गरेका छन् ।

जीआईएस र रिमोट सेन्सिङ सम्बन्धी परिचयात्मक स्तरको तालिम असोज २४ गतेबाट हरेक हप्ता सोमबार र बुधबार १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा भौतिक वा अनलाइन रूपमा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यहाँ क्लिक गरी फारम भर्न सक्नेछन् । 
 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १४:२