close

‘९.६ जीबीपिएस सम्मको स्पीड हुने वाइफाइ सिस्टमको तयारी गरिरहेका छौं’

टेकपाना टेकपाना

असोज १४, २०७९ १३:५२

‘९.६ जीबीपिएस सम्मको स्पीड हुने वाइफाइ सिस्टमको तयारी गरिरहेका छौं’

काठमाडौं । डेटाको बढ्दो प्रयोगले एशिया प्रसान्त तथा यस क्षेत्रका उद्योग डिजिटल रुपान्तरणको क्रममा छन् । नेपालको परिवेशमा पनि पछिल्लो दुई वर्षमा अनलाइन ट्राफिक ठूलो मात्रामा वृद्धि भएको छ । सन् २०१८ मा इन्टरनेटको पुहँच कुल जनसंख्याको ५६ प्रतिशतमात्रै थियो । पछिल्लो तथ्याङ्क अनुसार इन्टरनेटको पहुँच ९० प्रतिशत भन्दाबढी जनसंख्यामा पुगिसकेको छ । फिक्स्ड ब्रोडब्याण्डको हिस्सा ३० प्रतिशतको हाराहारीमा छ ।

अझ कोभिड महामारी पश्चात गुणस्तरिय इन्टरनेटको माग बढेको छ । कोभिड महामारीको समयमा हाम्रो कम्पनीले व्यवसाय सुरु गरेको थिएन । तर, हामीलाई यसको आवश्यकता महसुस भएको थियो । त्यससँगै हामीले इन्टरनेट व्यवसायको तयारी सुरु गर्यौं । त्यो हिसाबले हामी केही ढिला भयौं । यदी समयमा हामीले यो व्यवसायमा प्रवेश गर्न पाएको भए आज हाम्रो ग्राहक आधार अझ ठूलो हुने थियो । 

डिशहोमले सुरुवाती चरणमा केबलमार्फत टिभी सेवा उपलब्ध गराएको थियो । सन् २०२० मा आएर डिशहोम फाइबर नेटको रुपमा कम्पनीले इन्टरनेट तथा आईपीटिभी सुरु गर्यो । आज डिशहोम फाइबर नेपाली बजारमा तिब्र गतिमा विस्तार भइरहेको छ ।

नेपाली बजारमा वाईफाई प्रविधि, वाईफाई सिक्स प्रयोगमा ल्याउने डिशहोम नै पहिलो कम्पनी थियो । यसका लागि डिशहोमले ह्वावेसँग सहकार्य गरेको छ । सोही सहकार्यमार्फत अब वाईफाईमा नयाँ जेनरेशनको सिस्टम उपलब्ध गराउने तयारी भइरहेको छ । जसमार्फत ९.६ जिबीपिएस सम्मको स्पिड उपलब्ध हुनेछ ।

यसका लागि सन् २०१८ मा हामीले ब्रोडब्याण्डमा जाने विषय तय गरेका थियौं । त्यो सँगै ह्वावेसँग छलफल भएको थियो । उनीहरुले हामीलाई यो व्यवसायमा जान थप प्रेरित गरे । स्याटलाईटमा आधारित टेलिभिजन सेवा उपलब्ध गराइ रहेका हाम्रा लागि यो निकै ठूलो फड्को थियो । यो पूर्ण रुपमा फरक थियो । हामी फाइबरमा गयौं । त्यहाँबाट ह्वावे र हाम्रो पार्टनरशिपको सुरुवात भयो । ह्वावेले हामीलाई बाटो देखाउने काम गर्यो । उनीहरुले हामी के गर्न चाहन्छौ भन्ने कुरा बुझेर सोही अनुरुप हामीलाई व्यवसाय विस्तारमा सहयोग गर्दै आएका छन् ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै गुणस्तर र प्रभावकारी इन्टरनेटको माग बढ्दै गएको छ । त्यसका लागि देशमा एड्भान्स प्रविधियुक्त सर्भिसको आवश्यकता थियो । सोही अनुरुप हामीले डेटा सेन्टरमा ठूलो लगानी ग¥यौं र गरिरहेका छौं । जसले हामीलाई थप अवसरहरू सिर्जना गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । डेटा सेन्टरका लागि पनि हामीले ह्वावेसँग सहकार्य गरेका छौं ।

हामी टेलिभिजनका ग्राहकलाई विस्तारै ब्रोडब्याण्डमा रुपान्तरण गर्ने योजनामा छौं । यसका साथै क्लाउडजस्ता इन्टरप्राइज सोलुसनमा समेत प्रवेश गरिरहेका छौं । जुन नेपाली बजारको लागि नयाँ हो । हामी नयाँ बन्दै गरेको डेटासेन्टर मार्फत व्यवसाय व्यवस्थापन तथा क्लाउड सेवा समेत उपलब्ध गराउँछौं । त्यो हुँदा हाम्रो व्यवसायको दायरा अझ विस्तार हुनेछ ।

नेपाल डिजिटल रुपमा रुपान्तरण हुन्छ भन्ने विषयमा कुनै संकोच छैन । मैले डिजिटल रुपमा नेपालको निकै राम्रो भविष्य देखेको छु । त्यस हिसाबले पनि हामी यसमा प्रवेश गरेका हौं । अझ ह्वावेसँगको सहकार्यले हामीलाई थप बल प्रदान गरेको छ । यो सहकार्यले नेपालको डिजिटल परिवर्तनमा हामीले नेतृत्व गरिरहेको जस्तो मलाई लाग्छ । विस्तारै नेपालका साना तथा मझौला व्यवसायहरु हाम्रो सेवामा निर्भर हुनेछन् ।

- डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले थाइल्यान्डको राजधानी बैंककमा आयोजित ह्वावे कनेक्ट २०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश-
 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १४:४०