close

स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी

टेकपाना टेकपाना

असोज १४, २०७९ १६:१३

स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणलाई स्मार्ट मिटर जडानका लागि आवश्यक रेडियो फ्रिक्वेन्सी प्रति मेगाहर्ज १ करोड २० लाखमा उपलब्ध गराउने भएको छ । केही समय अघि बसेको मन्त्रिपरिषद बैठकले रेडियो सञ्चार (लाइसेन्स) नियमावली २०४९ संसोधनको निर्णय गर्दै स्मार्ट मिटरका लागि आवश्यक फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

सोही निर्णयका आधारमा बिहिबारमात्रै रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ मा भएको संशोधित सूचना राजपत्रमा प्रकाशित भएको छ । जसमा नियमावलीको अनुसूची ७ को प्रकरण ६ को खण्ड (ख) पछि खण्ड (ग) थप गरिएको छ । जसले स्मार्ट विद्युत मिटर, टेलिमेट्रिलगायतका अन्य यस्तै सेवा सञ्चालन वा सेवा प्रदान गर्न स्थापना भएको नेटवर्कमा प्रयोग हुने रेडियो उपकरणलाई फ्रिक्वेन्सी प्रयोगका लागि अनुमित दिएको छ ।

संशोधित व्यवस्थामा भनिएको छ, ‘३० मेगाहर्ज देखि १०.५ गिगाहर्जसम्मको फ्रिक्वेन्सी प्रयोग गर्ने गरी कुनै पनि सार्वजनिक दूरसञ्चार नेटर्वकसँग मिलान नगरी स्मार्ट विद्युत मिटर, टेलिमेट्रि वा यस्तै प्रकारका अन्य सेवा सञ्चालन वा सेवा प्रदान गर्न स्थापना भएको नेटवर्कमा प्रयोग हुने रेडियो उपकरणको हकमा त्यस्ता नेटवर्कले ओगटेको आर.एफ ब्याण्डविथको आधारमा प्रति मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डविथको लागि १ करोड २० लाख उपलब्ध गराउने ।’

यसको अर्थ दूरसञ्चार बाहेकका उपयुक्त सबै ब्यान्ड टेलिमेट्रिक प्रविधिका लागि खुला भएको छ । यो सँगै विद्युत प्राधिकरणले ग्राहकको घरमा स्मार्ट मिटर जडानका लागि दूरसञ्चार बाहेकका (३० मेगाहर्ज देखि १०.५ गिगाहर्जसम्म) कुनै पनि उपयुक्त फ्रिक्वेन्सी प्रयोगमा ल्याउन पाउने भएको छ । तर, यसका लागि प्राधिकरणले प्रति मेगाहर्ज १ करोड २० लाख बुझाउनु पर्नेछ ।

यसअघि विद्युत प्राधिकरणले स्मार्ट मिटरका लागि निःशुल्क फ्रिक्वेन्सी माग गरेको थियो । तर, सरकारले भने प्राधिकरणले फ्रिक्वेन्सीका लागि शुल्क बुझाउनु पर्ने कानुनी व्यवस्था गरिदिएको हो । यो सँगै अब नेपाल विद्युत प्राधिकरण लगायतका निकायहरूले आवश्यक फ्रिक्वेन्सीका लागि सञ्चार तथा सूचना मन्त्रालय वा सूचना तथा प्रसारण विभागमा दरखास्त दिन सक्नेछन् ।

दरखास्तका आधारमा आवश्यक ब्यान्ड तथा फ्रिक्वेन्सीको गणना गरी निश्चित शुल्कमा नेटवर्क स्थापनाका लागि अनुमतिपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका लागि विभिन्न योजना अघि सारेको छ । काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान सम्पन्न गरिसकेको प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यका सबै घरमा स्मार्ट मिटर जडान सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसपछि क्रमिक रूपमा देशभरका सबै ६० लाख ग्राहकलाई स्मार्ट मिटरमा आबद्ध गर्ने प्राधिकरणको योजना छ ।

यसकारण स्मार्ट मिटर

स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्न सक्छ । ग्राहकले पनि आफ्नो विद्युत् खपतलाई नियन्त्रणमा राख्नसक्ने छन् । एपमार्फत् ग्राहकले विद्युत सम्बन्धी विवरण पाउन सक्छन् ।

अझ यसको आकर्षक पक्ष भनेको सौर्य ऊर्जा जडान गरेका ग्राहकले आफूसँग बढी भएको सौर्य विद्युत् प्राधिकरणलाई बिक्री गर्न समेत सक्ने छन् । ग्राहकले आफू जुनसुकै स्थानमा भए पनि आफ्नो घरको विद्युत् खपतको अवस्थाको जानकारी मोबाइलबाटै लिन सक्छन् ।

त्यस्तै रिमोटबाटै विद्युत् सेवा बन्द गर्न वा सुरु गर्न सक्ने सुविधा पनि यसमा उपलब्ध हुनेछ । यसबाट रियल टाइम खपतसमेत ग्राहकले देख्न पाउनेछन् । स्मार्ट ग्रिड र स्मार्ट मिटरिङ प्रणालीले कार्यक्षमतामा सुधार आउनुका साथै चुहावट नियन्त्रण प्रभावकारी हुने प्राधिकरणको अपेक्षा रहेको छ ।
 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ १६:१४