close

भारतका १३ सहरमा सुरु भयो फाइभजी

टेकपाना टेकपाना

असोज १६, २०७९ ६:४५

भारतका १३ सहरमा सुरु भयो फाइभजी

काठमाडौं । छिमेकी मुलुक भारतमा शनिबारदेखि फाइभजी सेवा सञ्चालनमा आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय मोबाइल कांग्रेस (आईएमसी) २०२२ को उद्घाटन कार्यक्रममार्फत फाइभजी सेवाको सुरुवात गरेका हुन् । सन् २०२१ को अन्त्यमै फाइभजीको सफल परीक्षण सम्पन्न गरेको भारतले अन्ततः शनिबारबाट फाइभजीको व्यावसायिक सुरुवात गरेको हो ।

योसँगै भारतका प्रयोगकर्ताले उच्च गतिको मोबाइल इन्टरनेट फाइभजीको मज्जा लिन पाएका छन् । सँगै भारत फाइभजी सेवा सञ्चालनमा ल्याउने मुलुकको सूचीमा समेत दर्ता हुन सफल भएको छ । विगत केही वर्षदेखि विश्व दूरसञ्चार बजारमा फाइभजीको विस्तार तीव्र गतिमा चलिरहेको  छ ।

चीन, जापान तथा युरोपका धेरैजसो देशमा फाइभजी प्रयोगमा आइसकेको छ भने, अन्य कतिपय देशमा फाइभजी परीक्षणको तयारी भइरहेको छ । नेपालमा पनि सरकारले फाइभजी परिक्षणका लागि नेपाल टेलिकमलाई अनुमती दिइसकेको भएपनि हालसम्म कुनै प्रगति भने हुन सकेको छैन ।

पहिलो चरणमा भारतका १३ सहरमा फाइभजी सेवा सुरु भएको छ । दिल्ली, मुम्बई, कोलकाता, चेन्नई, अहमदाबाद, बैंगलोर, चन्डीगढ, गान्धीनगर, गुरुग्राम, हैदराबाद, जामनगर, लखनउ, पुणेजस्ता सहरमा फाइभजी सुरु भएको छ । भने, छिट्टै देशका अन्य भागमा समेत फाइभजी विस्तार गर्ने योजना दूरसञ्चार कम्पनीहरुको रहेको छ ।

भारतमा केही महिनाअघि भएको फ्रिक्वेन्सीको अक्सनका आधारमा चार कम्पनीले भारतमा फाइभजी सेवा सञ्चालनमा ल्याउने छन् । त्यसमध्ये शनिबारबाट दूरसञ्चार कम्पनी एयरटेलले मात्रै सेवा सञ्चालनमा ल्याएको छ । यसको अर्थ पहिलो चरणमा एयरटेलका ग्राहकले मात्रै फाइभजी सेवा प्रयोग गर्न पाउनेछन् ।

भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी जिओले भने यही महिनाको अन्त्यसम्म फाइभजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ । त्यस्तै अर्को दूरसञ्चार कम्पनी भोडाफोन आइडियाले फाइभजीका लागि हालै वनप्लससँग साझेदारी गरेको जनाएको छ । यसको अर्थ भोडाफोनका ग्राहकले फाइभजी प्रयोग गर्न केही समय कुर्नु पर्ने देखिएको छ । 


 

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ ६:४६