close

अन्य भन्दा कसरी फरक छ भक्सवागनको स्वचालित बिजुली कार

टेकपाना टेकपाना

असोज २०, २०७९ ७:२६

अन्य भन्दा कसरी फरक छ भक्सवागनको स्वचालित बिजुली कार

काठमाडौं । पछिल्लो समयमा गाडी निर्माण गर्ने कम्पनीहरू विद्युतीय गाडीहरूमा केन्द्रित भइरहेका छन् । केही कम्पनीले सन् २०३० देखि विद्युतीय सवारी मात्र निर्माण गर्ने घोषणा गरेका छन् । विद्युतीय कारसँगै कम्पनीहरूले ध्यान अहिले स्वचालित विद्युतीय सवारी तयार गर्नुमा पनि रहेको छ ।

स्वचालित सवारीको सन्दर्भमा भक्सवागन भने एक कदम अगाडी पुगेको छ । कम्पनीले हालै आफ्नो एक स्वचालित विद्युतीय कारको डिजाइन सार्वजनिक गरेको छ । जेन ट्राभल नाम दिइएको यो कार स्वचालित मात्र छैन यो प्रयोगकर्ताको छोटो हवाई यात्रालाई विस्थापित गर्न सक्ने गरी तयार हुने कम्पनीको दाबी छ ।

डिजाइनका अनुसार स्वचालित हुनुको साथै यो सवारीको इन्टेरियरहरूलाई पनि प्रयोगकर्ताको आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ । कुनै व्यावसायिक छलफलहरूको लागि गाडी गुड्दागुड्दै यसलाई एउटा कन्फ्रेन्स हलको रुपमा परिणत गर्न सकिन्छ । त्यस्तै यात्रामा निस्केका व्यक्तिहरूले दुईओटा सिटलाई जोडेर एउटा खाट पनि बनाउन सक्छन् ।

यसका सिटहरू कुनै विमानको भन्दा पनि आरामदायी हुने कम्पनीको भनाई छ । सवारीमा भएको अग्मेन्टेड रियालिटीको साथमा यात्राको क्रममा बच्चाहरूलाई मनोरञ्जन गराउन पनि सकिन्छ । यो डिजाइनमा हाल कम्पनीले काम गरिरहेको छ । यात्राको लागि एउटा स्वचालित कारको अवधारणालाई लिएर कम्पनीले यसमा थप फिचरहरू समावेश गर्ने काम पनि गरिरहेको छ ।

सन् २०२५ सम्ममा यो कार तयार भइसक्ने कम्पनीको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १०:११