close

आईफोन थर्टिन अर्डर गर्दा आईफोन फोर्टिन आईपुगेपछि

टेकपाना टेकपाना

असोज २१, २०७९ १७:२४

आईफोन थर्टिन अर्डर गर्दा आईफोन फोर्टिन आईपुगेपछि

काठमाडौं । चाडपर्वका बेला अनलाइनबाट धेरैजसो विद्युतीय सामग्रीको माग हुने गर्छ । अहिले हिन्दु धर्मावलम्बी भएका विभिन्न देशका नागरिकहरूले दशैं पर्व मनाइरहेका छन् । यस्ता चाडबाडका अवसरमा कम्पनीले आफ्ना उत्पादन खरिदमा विभिन्न किसिममा अफर पनि दिने गर्छन् भने अर्कोतिर एउटा सामान माग्दा अर्को सामान डेलिभरी हुने समस्या पनि उत्तिकै हुन्छ । यस्तो बेला धेरै समान माग हुने हुँदा कतिपय उपभोक्तालाई गलत सामान डेलिभरी हुनु स्वभाविक नै भइसकेको छ । भारतमा पनि एउटा त्यस्तै घटना बाहिर आएको छ ।

फेस्टिभ अफर अर्थात् चाडपर्व विशेष अफर अन्तर्गत यस्ता कम्पनीले सामान छुट दिने हुँदा विद्युतीय उपकरणहरू सस्तो मूल्यमा पाइने गर्छन् । त्यसैले यस्ता अफरतर्फ उपभोक्ताको आकर्षण धेरै नै हुने गर्छ ।

यसो त अनलाइनबाट समान खरिद गर्दा फरक सामान परेको घटना नौलो होइन । सामान्यतया अनलाइन अर्डर गर्दा उपभोक्ताले गलत सामग्री पाउँदा सामाजिक सञ्जालमा गुनासो गर्ने गर्छन् । अहिले भने ट्वीटरमा यस्तै प्रकृतिको घटना भाइरल भएको छ । र यो भाइरलमा भएको घटनामा जोडिएको नाम हो ‘फ्लिपकार्ट’ । फ्लिपकार्ट भारतीय बजारको सबभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । जो यतिखेर अर्डर गरे भन्दा फरक सामान डेलिभरी गरिदिएको भन्ने समाचारको हेडलाइन बनिरहेको छ । 

आश्विन हेज्ड नाम भएका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेको स्क्रिनशटमा आईफोन थर्टिन खरिद गरेको देखिन्छ । त्यस्तै उनले अर्को हातमा आईफोन फोर्टिन को बक्स लिएर फोटो खिचेका छन् ।

यसलाई देख्नेहरू प्राय प्रयोगकर्ताले उक्त सामग्री अर्डर गर्ने व्यक्तिलाई भाग्यमानीको दर्जा दिएका छन् भने कतिपयले आईफोन फोर्टिन को मजाक गरेका छन् । आईफोन फोर्टिन पनि आईफोन थर्टिन जस्तै भएकाले त्यसो भएको हुनसक्ने कतिपयले अनुमान गरिरहेका छन् ।

"आईफोन थर्टिन र फोर्टिन यति समान छन् कि फ्लिपकार्टले पनि झुक्किएर थर्टिन को ठाउँमा फोर्टिन डेलिभर गरिदियो ।" एक प्रयोगकर्ताले ट्वीट रिप्लाई गर्दै लेखेका छन् ।

अर्का प्रयोगकर्ता लेख्छन्, "फ्लिपकार्टले पनि यी दुवै फोन समान छन् भन्ने कुरा थाहा पाएको रहेछ ।"

यस्ता आकस्मिक घटनाहरू दुर्लभ हुने गर्छन् । यसले धेरै अर्थ राखेको हुन्छ । कतिपयले अर्डर गर्दा पाएका यस्ता अर्डरलाई आफैसँग राख्न सक्छन् । यसले क्षणिक फाइदा भए पनि पछि समस्या आउन सक्ने विज्ञहरूको भनाई छ । बिलमा एउटा सामान र हातमा अर्को सामान हुँदा उपभोक्ताले वारेन्टी दाबी नपाउन सक्छ ।

यसो त आईफोन थर्टिन र आईफोन फोर्टिन मा धेरै कम कुराको मात्र भिन्नता रहेको छ । सबैभन्दा पहिले कुरा मूल्यको । नयाँ उत्पादन बजारमा आउँदा एप्पलले आफ्ना पुराना उत्पादनको मूल्य घटाउने गर्छ । त्यस्तै आईफोन थर्टिनको तुलनामा आईफोन फोर्टिन र फोर्टिन प्लसको क्यामेरामा सुधार ल्याइएको छ । 

ब्याट्री ब्याकअपमा पनि आईफोन फोर्टिन केही अघि नै छ । त्यस्तै आईफोन फोर्टिन को १२ मेगापिक्सेलको मुख्य क्यामेरामा पनि लो-लाइट पर्फमेन्समा सुधार ल्याइएको छ । त्यस्तै यसमा राम्रो स्टेबिलाइजेसनको फिचर रहेको छ । यसैगरी आईफोन फोर्टिन को पछाडिको भागमा अल्ट्रावाइड क्यामेरा रहेको छ । एप्पलले आईफोन फोर्टिन मा नयाँ फोटोनिक इन्जिन प्रयोग गरेको जनाएको छ । जसका माध्यमबाट फोटोमा एचडीआर सुधार गर्न सकिन्छ ।

यस विषयमा भने फ्लिपकार्टले आधिकारिक धारणा दिएको छैन । अहिले यही विषयलाई लिएर प्रयोगकर्ताले एप्पललाई ट्रोल गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १९:३८