close

टेस्लाको पहिलो विद्युतीय सेमी ट्रक तयार, सुरुको डेलिभरी पेप्सीलाई

टेकपाना टेकपाना

असोज २३, २०७९ २३:४०

टेस्लाको पहिलो विद्युतीय सेमी ट्रक तयार, सुरुको डेलिभरी पेप्सीलाई

काठमाडौं । टेस्लाको पहिलो विद्युतीय सेमी ट्रक तयार भएको छ । एलन मस्कले एक ट्वीट गर्दै आफ्नो सेमी ट्रक डेलिभरीको लागि तयार भएको घोषणा गरेका छन् । उनका अनुसार टेस्लाको सेमीट्रकले एक पटकको फूला चार्जमा ८०५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

कम्पनीले आफ्नो पहिलो डेलिभरी यही डिसेम्बर १ मा पेप्सीलाई गर्ने पनि मस्कले बताएका छन् । पेप्सीले उक्त सवारी क्यालिफोर्नियाको दुईओटा प्लान्टको लागि प्रयोग गर्ने पनि बताएको छ । टेस्लाले सन् २०१७ मा आफ्नो सेमी ट्रकको बारेमा घोषणा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो सेमी ट्रक वालमार्ट, डीएचएल, पेप्सी लगायतका कम्पनीहरूलाई डेलिभरी गराउने बताएको थियो । 

मूल्यको हिसाबले भने कम्पनीले ४८३ किलोमिटर रेन्जको सेमीट्रकको मूल्य एक लाख ५० हजार डलर तोकेको छ भने ८०५ किलोमिटर रेन्जको सेमी ट्रकको मूल्य एक लाख ८० हजार डलर तोकेको छ ।

रोयटर्सका अनुसार पेप्सीले सन् २०१७ मा नै टेस्लाको १०० ओटा सेमीट्रक बुक गरेको थियो । यद्यपि अहिले हुने भनिएको डेलिभरीमा कतिओटा ट्रक डेलिभरी हुने हो भन्ने कुरा भने खुलाइएको छैन । पेप्सीले सन् २०४० सम्म आफ्नो आपूर्ती श्रृङ्खलाको लागि पूर्णरुपमा विद्युतीय सवारी मात्र प्रयोग गर्ने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ २३:४०