close

आजदेखि जीआईएस र रिमोट सेन्सिङ विषयमा निःशुल्क तालिम, अनलाइनबाट यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असोज २४, २०७९ ९:२०

आजदेखि जीआईएस र रिमोट सेन्सिङ विषयमा निःशुल्क तालिम, अनलाइनबाट यसरी हुनुहोस् सहभागी

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले आजदेखि जीआईएस र रिमोट सेन्सिङसम्बन्धी निःशुल्क तालिम दिने भएको छ । ​जीआईएस भनेको भौगोलिक सूचना प्रणालीमा आधारित कम्प्युटर टुल हो, जसलाई म्यापिङका लागि प्रयोग गरिन्छ । जीआईएस प्रविधिलाई म्यापमा तथ्याङ्कगत मूल्याङ्कन जस्ता डेटाबेस अपरेसनका लागि प्रयोग गरिन्छ । त्यस्तै रिमोट सेन्सिङ भनेको कुनै पनि वस्तुलाई भौतिक रूपमा सम्पर्क नगरी डेटा संकलन गर्ने विज्ञान हो । 

आविष्कार केन्द्रले स्नातक तहका विद्यार्थीलाई केन्द्रित गर्दै यो तालिम आयोजना गर्न लागेको बताएको छ । ४५ दिनसम्म चल्ने तालिमका सहभागीलाई अमेरिकी अन्तरिक्ष एजेन्सी संस्था नासामा कार्यरत नेपाली वैज्ञानिक राजेश पौड्याल र अमेरिकाको कृषि क्षेत्रमा काम गरिरहेका विज्ञ डा. महेश पुनले हप्ताको दुई दिन प्रशिक्षण दिनेछन् ।

कार्यक्रमकाे पहिलो चरणमा जीआईएस र रिमोट सेन्सिङको परिचयात्मक कक्षा सञ्चालन हुनेछ । आज १० बजेबाट सुरु हुने तालिममा अनलाइनबाट निःशुल्क सहभागी हुन सकिन्छ ।

भौतिक कक्षामा सहभागी हुनका लागि यसअघि नै फारम भर्न लगाइएको थियो । अनलाइनबाट भने जोकोहीले यसमा सहभागिता जनाउन सक्नेछन् । तालिममा सहभागी हुन चाहने व्यक्तिले यहाँ क्लिक गरेर जुम मिटिङमा सहभागी हुन सक्नेछन् ।

इन्टरमिडियट र एड्भान्स लेभलका लागि भने यो कोर्ष सकिएपछि छुट्टै फारम भरेर सहभागी हुनुपर्ने हुन्छ । यसर्थ जीआईएस र रिमोट सेन्सिङसम्बन्धी आधारभूत ज्ञान भएकाहरू यसमा  सहभागी नहुन केन्द्रका अध्यक्ष महावीर पुनले आग्रह गरेका छन् ।

भौतिक रूपमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको हाई टेक ल्याबमा सञ्चालन हुनेछ । भौतिक रूपमा जम्मा ३० जनाले तालिममा सहभागी हुन पाउने बताइएको थिए ।

यो तालिम सबैभन्दा पहिले परिचयात्मक स्तर (Introductory Level), त्यसपछि मध्यम स्तर (Intermediate level) र अन्यमा उच्च स्तर (Advanced level)   हुनेछ । अहिले फारम भरेका सहभागी परिचयात्मक सेसनमा सहभागी हुनेछन् ।

अन्य तहका लागि फारम लिङ्क पछि नै उपलब्ध गराउने पुनले उल्लेख गरेका छन् ।

जीआईएस र रिमोट सेन्सिङसम्बन्धी परिचयात्मक स्तरको तालिम आजबाट हरेक हप्ता सोमबार र बुधबार १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ ।

 

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १३:७