close

विश्वविद्यालयका विद्यार्थीहरूबीच स्टिम सिकाइ सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

असोज २८, २०७९ १२:२२

विश्वविद्यालयका विद्यार्थीहरूबीच स्टिम सिकाइ सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडाैं । विश्वविद्यालयका विद्यार्थीहरूबीच ‘स्टिम’ (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सिकाइ सामग्री निर्माण सम्बन्धी प्रतिस्पर्धा हुने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो प्रतिस्पर्धा आयोजना गर्न लागेको हाे । ‘

माध्यमिक विद्यालयहरू (कक्षा ५-१०) मा प्रयाेग हुने स्टिम (STEM) सिकाइ सामग्री’ नाम दिइएकाे  उक्त प्रतियोगितामा विद्यार्थीहरूलाई बुझ्‍न, सिक्न र पढ्न सहयोग पुर्‍याउने सामग्री निर्माण गर्नुपर्ने छ। आजकाे समयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा विद्यार्थीहरूकाे आकर्षण बढाउनु पर्ने र ती विषय पढाउन पर्याप्त प्रयाेगात्मक सिकाइ सामग्रीकाे आवश्यकता भएकाले यस्तो प्रतियाेगिता गर्न लागिएकाे हाे ।

यो प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ । पहिलाे चरणमा आवेदन फाराम संकलन हुनेछ । जसमा छनौट समितिले आवेदन दिएका याेग्य विद्यार्थीहरूलाई कार्यविधि अनुसार अङ्क प्रदान गर्नेछ ।

आवेदक विद्यार्थीहरूले ५० अङ्कमा ३० वा साे भन्दा बढी प्राप्त गरेको खण्डमा मात्रै दाेस्राे चरणमा प्रवेश गर्न सक्नेछन् । दाेस्राे चरणमा प्रवेश गरेका याेग्य आवेदकलाई अभिभुखिकरण कार्यक्रममार्फत थप जानकारी दिइने उल्लेख छ ।

प्रतिस्पर्धीहरूले बनाउनु पर्ने शैक्षिक सामग्रीकाे समयसीमा साेही दिनबाट सुरु हुनेछ । उनीहरूले भाैतिक वा अभाैतिक (सफ्टवेयर) सामग्री बढीमा चार महिना भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने मन्त्रालयकी उपसचिव अश्वबिना बरालले जानकारी दिइन् ।

उनका अनुसार दाेस्राे चरणमा प्रवेश गरेका सबै प्रतिस्पर्धीलाई सिकाइ सामग्री निर्माणका लागि २५ हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक सहयाेग उपलब्ध गराइनेछ । प्रतिस्पर्धीहरूले निर्माण सम्पन्न गरेका सिकाइ सामग्री प्रदर्शनीमा राखिनेछ ।

साेही दिन छनाैट समिति र विभिन्न विज्ञ मूल्याङ्कन कर्ताहरूले प्रदान गर्ने अङ्कका आधारमा विजेताहरूकाे घाेषणा हुने छ  । प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्‍त गर्ने छन् । यहाँ क्लिक गरी विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ १२:३२