close

नयाँ ग्राहकलाई आकर्षित गर्न नेटफ्लिक्सले ल्यायो विज्ञापन सहितको सस्तो प्याकेज

टेकपाना टेकपाना

असोज २८, २०७९ २२:१८

नयाँ ग्राहकलाई आकर्षित गर्न नेटफ्लिक्सले ल्यायो विज्ञापन सहितको सस्तो प्याकेज

काठमाडौं । नेटफ्लिक्सले विज्ञापन सहितको सस्तो सब्सक्रिप्सन प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्यका साथ आगामी नोभेम्बर देखि लागू हुने गरी मासिक सात अमेरिकी डलर मूल्यको प्याकेज ल्याउन लागेको हो ।

नेटफ्लिक्सले चालू अङ्ग्रेजी वर्षको पहिलो अर्धवार्षिक अवधिमा अनपेक्षित रूपमा ग्राहक सङ्ख्या गुमाए पछि यस्तो रणनीति लिएको बुझिएको छ । नेटफ्लिक्सले विज्ञापन सहितको आधारभूत योजनाका लागि मासिक ६.९९ अमेरिकी डलर तय गरेको छ, जुन आधारभूत व्यवसायिक योजना भन्दा तीन अमेरिकी डलरभन्दा थोरै हो ।

यो नयाँ विकल्प आगामी १० दिनमा अमेरिका, ब्राजिल, जर्मनी, जापान र कोरिया सहितका १० देशमा रोलआउट गरिनेछ । नेटफ्लिक्सका अनुसार यो नयाँ योजनामा सहभागी हुने ग्राहकले मोटामोटी रूपमा  प्रति घण्टा चारदेखि पाँच ओटा विज्ञापन देख्नेछन्  ।

हालसालै रिलिज भएका फिल्महरूमा सिनेम्याटिक अनुभवका लागि भने विज्ञापनलाई सीमित गरिनेछ । अनुमतिपत्रको सीमाका कारण विज्ञापन सहितको संस्करणमा पाँच देखि १० प्रतिशत नेटफ्लिक्सको प्रोग्रामिङले सपोर्ट नगर्ने नेटफ्लिक्सका प्रमुख सञ्चालन अधिकृत ग्रेज पिटर्सले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २८, २०७९ २२:१९