close

युक्रेनमा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउन अमेरिकी सरकारको सहयोग माग्दै एलन मस्क

टेकपाना टेकपाना

असोज २९, २०७९ १९:५६

युक्रेनमा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउन अमेरिकी सरकारको सहयोग माग्दै एलन मस्क

काठमाडौं । युक्रेनलाई स्टारलिंक स्याटलाइट सेवा उपलब्ध गराउन एलन मस्कको कम्पनी स्पेसएक्सले अमेरिकी सरकारको सहयोग मागेको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार स्पेसएक्सले सेप्टेम्बरमा अमेरिकाको रक्षा विभागलाई एक पत्र पठाउँदै कम्पनी युक्रेनमा स्टारलिंक इन्टरनेटमार्फत सहयोग गर्ने स्थितिमा नभएको जानकारी दिएको थियो । 

हाल स्पेसएक्सले युक्रेनलाई निःशुल्क स्टारलिंक सेवा दिँदै आइरहेको छ । तर अब भने कम्पनीले यो सेवा धान्न नसक्ने भन्दै अमेरिकी सरकारसँग सहयोगको अपिल गरेको हो । कम्पनीका अनुसार युक्रेनी सरकार र सेनालाई २०२२ को अन्त्यसम्म इन्टरनेट उपलब्ध गराउन थप करिब १२ करोड ४० लाख डलर खर्च हुनेछ भने वार्षिक खर्च ३८ करोड डलरको हुनेछ ।

यद्यपि यसलाई धान्न कम्पनी हाल सक्षम नभएको उल्लेख गरिएको छ । एलन मस्कले पनि शुक्रबार एक ट्वीट गर्दै यस विषयमा जानकारी दिएका थिए । स्पेसएक्सले हालको पूर्वाधारलाई अनिश्चित कालका लागि सहयोग स्वरुप उपलब्ध गराइरहन नसक्ने उनले बताएका छन् ।

स्पेसएक्सले युक्रेनलाई रुसविरुद्धको लडाइँका लागि स्टारलिंकका टर्मिनलहरू मार्फत इन्टरनेट सेवा उपलब्ध गराएको थियो । यसले युक्रेनी सेनालाई ड्रोनहरू सञ्चालन गर्न, महत्त्वपूर्ण गोप्य अपडेटहरू प्राप्त गर्न र त्यहाँका क्षेत्रहरूमा एक-अर्कासँग सञ्चार गर्न मद्दत गरिरहेको थियो ।

साथै स्पेसएक्सले एउटा सानो एन्टेनालाई ३५ सेन्टिमिटर अग्लो टर्मिनलमा जडान गरिएको प्रणालीमार्फत युक्रेनी नागरिकलाई इन्टरनेट पनि उपलब्ध गराइरहेकाे थियाे । अहिले यो सेवा अवरुद्ध गरिएको छ । सेवा अवरुद्ध भएको विषयमा कम्पनीले आधिकारिक धारणा नदिए पनि हालै खर्च धान्न नसकेका कारण सेवा प्रभावित भएको हुनसक्ने भन्ने जानकारी बाहिरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ १९:५७