close

गुगल कन्ट्याक्टको नयाँ अपडेटमा जोडियो गुगल असिस्टेन्ट

टेकपाना टेकपाना

असोज ३१, २०७९ ९:३०

गुगल कन्ट्याक्टको नयाँ अपडेटमा जोडियो गुगल असिस्टेन्ट

काठमाडौं । गत हप्ता गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजका स्मार्टफोनसँगै गुगल असिस्टेन्टका लागि नयाँ एआई फिचर सार्वजनिक गरेको थियो । याे फिचर विशेषगरी गुगलले आफ्नो पिक्सेल सेभेन सिरिजलाई लक्षित गर्दै ल्याएको हो । यद्यपि यी फिचर पिक्सेल सिक्स सिरिजमा समेत उपलब्ध हुनेछन् ।

त्यस्तै गुगल कन्ट्याक्ट एपमा पनि एआई गुगल असिस्टेन्ट फिचर समावेश हुने बताइएको छ । गुगल कन्ट्याक्टका लागि गुगल असिस्टेन्टले नयाँ कार्ड फिचर ल्याउने भएको छ । कन्ट्याक्टमा रहेका व्यक्तिको महत्त्वपूर्ण विवरणहरू उक्त कार्डमा समावेश हुनेछ ।

योसँगै गुगल असिस्टेन्ट सेटिङबाट कन्ट्याक्टमा सेभ भएका कुनै पनि व्यक्तिको विवरणमा सहजै पाउन सकिन्छ । यसो त भ्वाइस असिस्टेन्टले कन्ट्याक्टमा रहेका व्यक्तिसँग तपाईँको सम्बन्ध के छ भन्ने कुरा थाहा पाउँदैन । त्यसका लागि तपाईँले कन्ट्याक्टमा भएको मान्छेसँग के नाता छ भन्ने कुरा उल्लेख गरेको हुनुपर्छ ।

त्यसपछि तपाईँले (कल माई मम्) भनेको खण्डमा असिस्टेन्टले तपाईँको आमालाई कल गर्नेछ । यो झन्झटिलो प्रक्रियालाई सहज बनाउन गुगल असिस्टेन्टको नयाँ कार्ड सिस्टमले मानिसहरुको आवश्यक विवरण संकलन गर्छ । सोही विवरणका आधारमा माेबाइलमा सेभ गरिएका नम्बरको जानकारी कार्डबाट सजिलै पाउन सकिन्छ ।

साथै कार्डमा व्यक्तिहरूको नाम, उनीहरूको जन्मदिन, उनीहरूसँगको सम्बन्ध लगायतका विवरण गुगल एसिस्टेन्टलाई भनेर आफैले सेभ गर्न समेत सकिन्छ । एन्ड्रोइड डिभाइसका लागि भने गुगलले नयाँ 'असिस्टेन्ट सेटिङ' कन्ट्याक्ट शिटमा उपलब्ध गराउने छ ।

तपाईँले गुगल अकाउन्टको पिपुल पेजमा गएर कन्ट्याक्ट लिस्टमा भएका मानिसहरूको विवरण सच्याउन सक्नुहुनेछ । यो फिचर केही प्रयोगकर्ताले उपयोग गरिरहेका छन् भने कतिपयमा आउनै बाँकी छ । क्लाउड कम्पनी एस्परका सिनियर टेक्निकल एडिटर मिशाल रहमानले यो फिचरका बारेमा ट्वीटरमाफर्फत जानकारी दिएका छन् ।

त्यस्तै यो फिचर केही पिक्सेल सिक्स ए डिभाइसमा पनि उपलब्ध भइसकेको उल्लेख छ । यो फिचर अन्य एन्ड्रोइड डिभाइसमा कहिले उपलब्ध हुनेछ भन्ने विषमया कुनै जानकारी दिएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ ९:४८