close

नेपालमै पहिलो पटक यसरी भित्रिएको थियो इन्टरनेट सेवा

गोपाल साउद गोपाल साउद

असोज ३१, २०७९ १९:३

नेपालमै पहिलो पटक यसरी भित्रिएको थियो इन्टरनेट सेवा

काठमाडौं । अहिले इन्टरनेट हरेक व्यक्तिका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सन् १९९३ मा ईमेल सेवालाई सहज बनाउने गरी सुरु भएको इन्टरनेट अहिले अनलाइन सञ्चार, सामाजिक सञ्जाल, शिक्षण-सिकाइ, अनलाइन भुक्तानी, टेलिहेल्थ, सार्वजनिक सेवा, भर्चुअल मिटिङ, अटोमेसन जस्ता अनेकौँ क्षेत्रको आधारको रुपमा स्थापित छ ।

यो सेवा नेपालमा पहिलो पटक कसरी भित्रियो होला ? तत्कालीन प्रविधि, उपलब्ध जनशक्ति, बजार स्थिति कस्तो थियो होला ? इन्टरनेट भित्र्याउन केकस्ता आरोह अवरोह आए होलान् ? आदि अनेकौँ प्रश्नहरू तपाईँमा पनि हुन सक्छन् । 

नेपालमा इन्टरनेट भित्र्याउने श्रेय मर्कन्टाइल कम्युनिकेसन्सका संस्थापक सञ्जीव राजभण्डारीलाई जान्छ । सन् १९८३ तिर आईटी व्यवसाय सुरु गरेका सञ्जीव राजभण्डारीले इन्टरनेट भित्र्याउनु अघि नै सूचना प्रविधिको क्षेत्रमा थुप्रै काम गरिसकेका थिए । त्यसताका नेटवर्किङ निकै ठूलो कुरा मानिन्थ्यो, जसलाई नोभल नेटवर्किङ भनिन्थ्यो ।

कनेक्टेड कम्प्युटरमा मिनी कम्प्युटर र मेनफ्रेम कम्प्युटर हुन्थे । त्यतिखेर आउटर वाचको कम्प्युटरको मूल्य ५ लाख, १० लाख, २० लाख अमेरिकी डलरसम्म पर्ने गर्थ्यो । त्यसपछि आईबीएमले पीसी ल्यायो । नेटवर्किङको क्षेत्रमा ठूलै प्रगति भयो । 

सन् १९९१ तिर सहकार्यमा पर्सनल कम्प्युटरमा आधारित पूर्ण बैंकिङ सिस्टम विकास गर्न मर्कन्टाइलले नबिल बैंक र मध्यपूर्वको युनियन बैंकसँग सहकार्य थाल्यो, जसको नाम न्याबसिस थियो । यो सिस्टम पछि नबिल बैंकका शाखाहरूमा राखियो । 

यसरी नेपालमा इन्टरनेट ल्याउनु अघि मर्कन्टाइल सफ्टवेयर डेभलपमेन्ट, हार्डवेयर, कम्प्युटर, नेटवर्किङ जस्ता सूचना प्रविधि क्षेत्रका विभिन्न क्षेत्रमा सक्रिय थियो । 

यसैक्रममा सन् १९९० तिर ईमेल सेवा सुरु भयो, त्यो अहिले जस्तो इन्टरनेटमा आधारित नभएर कर्पोरेट ईमेल थियो । “यदि हामीले एसर वा आईबीएमलाई ईमेल पठाउनु पर्‍यो भने उनीहरूको सिङ्गापुर सर्भरमा डायल गरेर मेसेज पठाउँथ्यौँ,” उनी भन्छन्, “उनीहरू हाम्रो मेसेज त्यहाँबाट पिकअप गर्थे  ।” 

सञ्जीवले सन् १९९० मा इन्टरनेट भन्ने कुरा सुनेकै थिएनन् । सन् १९९२ मा मात्रै उनले पहिलो पटक त्यसको बारेमा थाहा पाए । इन्टरनेटबाटै ईमेल गर्न मिल्छ भन्ने कुरा उनका लागि नौलो थियो ।

यसरी हरेक कम्पनीले सम्बन्धित सर्भरमा डायल गरेर ईमेलहरू छोड्नु र तान्नुपर्ने हुन्थ्यो । 

ईमेलमा रुचि राखिरहेका सञ्जीवले सन् १९९० मा इन्टरनेट भन्ने कुरा सुनेकै थिएनन् । सन् १९९२ मा मात्रै उनले पहिलो पटक त्यसको बारेमा थाहा पाए ।

इन्टरनेटबाटै ईमेल गर्न मिल्छ भन्ने कुरा उनका लागि नौलो थियो । खासगरी सुरुवाती समयमा अमेरिकामा विश्वविद्यालय र सरकारी कार्यालयहरूमा इन्टरनेट प्रयोगमा थियो । तर व्यवसायिक रूपमा भने यसको सुरुवात भइसकेको थिएन । 

सुरुवाती समयमा (सन् १९९२-१९९३ ताका) मर्कन्टाइलले डायलअप सेवामार्फत ईआर (भारतको प्राज्ञिक तथा अनुसन्धान सञ्जाल) नेट र कनेक्ट डटकम डट एयूसँग कनेक्ट गरेर सानो सङ्ख्यामा रहेका ग्राहकलाई ईमेल सेवा दिन थाल्यो । त्यतिखेर नेपालमा ईमेल सेवा निकै महँगो थियो ।

प्रति किलोबाइटकै शुल्क १० रुपैयाँ रहेको उक्त समयमा प्रति मिनेटका लागि १५० रुपैयाँ लिने गरिन्थ्यो । यद्यपि फ्याक्सका लागि प्रति पेज १०० रुपैयाँ पर्ने तत्कालीन समयमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म लाग्ने ईमेल सस्तो पर्न आउँथ्यो । 

सन् १९९४ को सुरुवातसम्म नेपालको आफ्नै डोमेन (डट एनपी) थिएन । जसले गर्दा ग्राहकहरूले डट ईन (भारतको) अथवा डट एयू (अस्ट्रेलियाको) डोमेनमार्फत काम चलाउन बाध्य थिए । 

तर १९९४ को मध्यतिर अस्ट्रेलियाको कनेक्ट डटकमले मर्कन्टाइललाई डट एनपी डोमेन स्थापना गर्न सहयोग गर्‍यो । त्यसैले आजको दिनसम्म पनि डटएनपी डोमेनका कतिपय डोमेनको ब्याकअप अस्ट्रेलियामै छ । 

सन् १९९५ मा सिङ्गापुर टेलिकम (सिङ्गटेल) ले इन्टरनेट व्यवसाय सुरु गर्‍यो । त्यसैक्रममा मर्कन्टाइललाई नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने कार्यमा सहयोग गर्न आग्रह गर्दै सञ्जीवले सिङ्गटेलको सम्पर्कमा पुगे ।

सिङ्गटेलको इन्टरनेट शाखाले उक्त निर्णय लिन सकेन । त्यसपछि सिङ्गटेलका सीईओलाई मनाउन उनी सिङ्गापुर हानिए । 

सञ्जीवको कुरा सुनेपछि सीईओ सहमत भए र मर्कन्टाइल सिङ्गटेलको इन्टरनेट प्रदान गर्ने पहिलो कम्पनी बन्यो । यत्रिमात्र नभई मर्कन्टाइल नेपालमा इन्टरनेट सेवा सुरु गर्ने पायोनियर कम्पनी बन्न सफल भयो । 

सुरुवाती तवरमा नेपाल-सिङ्गापुर जोड्ने लिङ्कको क्षमता ४.८ केबीको डिजिटल लिज लाइन थियो, केही समयपछि मोटोरोलाको उच्च क्षमताको मोडेम राखेपछि उक्त लिङ्क ३३.८ केबीमा स्तरोन्नति भयो । त्यतिखेर नेपालमा रहेका ग्राहकले इन्टरनेट ब्राउज गर्न टेक्स्ट (अक्षर) मा आधारित लिनक्स ब्राउजर प्रयोग गर्थे । 

सन् १९९६ को सुरुवाततिर लिङ्क क्षमता ६४ केबीको डिजिटल लाइनमा अपग्रेड गरियो । जसको मूल्य १२ लाख रुपैयाँ प्रति महिना रहेको सञ्जीव बताउँछन् ।

“हामीले आधा सर्किट नेपाल टेलिकमबाट र आधा सिङ्गटेलबाट खरिद गरेका थियौँ,” उनी भन्छन्, “त्यसपछि मात्रै इन्टरनेट ब्राउज गर्न नेटस्केप र मोजेक ब्राउजर प्रयोग गर्न सकिने भयो । त्यसपछि ईमेलको शुल्क समेत उल्लेखनीय रूपमा सस्तो बन्न पुग्यो ।” नेपालमा इन्टरनेट सुरु गर्ने कार्य जति उत्साहजनक थियो, त्यसभन्दा बढी चुनौतिपूर्ण थियो ।

सञ्जीव उतारचढावपूर्ण ती दिन सम्झिन्छन्, “किन भने हामीलाई त्यस बारे केही पनि थाहा थिएन । मैले व्यवसाय सुरु गर्ने बेलामा नेपालमा इन्जिनियर पाइँदैन थे । जति इन्जिनियर थिए, सबै नेसनल कम्प्युटर सेन्टर (एनसीसी) सँग मात्र  थिए । त्यसपछि हामीले तालिम दिएर आवश्यक जनशक्ति तयार पार्‍यौँ ।”

सन् १९९४/९५ ताका भारत, अमेरिका लगायतका देशबाट इन्जिनियरहरू विस्तारै नेपाल फर्किन थालेका थिए । सञ्जीवले आफ्नो इन्टरनेट डिभिजनमा आठ-नौ जना इन्जिनियर भर्ना गरे । त्यो व्यवसायिक रूपमा इन्टरनेट सुरु हुनु अघिकै कुरा थियो । 

“मैले अमेरिकामा रहेको साथीलाई कल गरेर सिस्कोको नियमित नम्बर दिन आग्रह गरेँ । सानफ्रान्सिस्कोको नम्बर ४०८ बाट सुरु हुन्थ्यो । यसरी हामीले त्यहाँ कल गर्‍यौँ र नेपालबाट बोलिरहेको भन्यौँ । हामीसँग तपाईँको राउटर छ र त्यसमा समस्या आइरहेको छ भनेर सुनायौँ । तर सिस्को इन्जिनियरले ‘प्र्याङ्क कल’ ठानेछ । उसले त्यसअघि नेपाल भन्ने सुनेकै रहेनछ । ‘माइ नेम इज नेपोलियन बोनापार्ट’ भन्दै फोन राखिदियो ।”

तर मर्कन्टाइलमार्फत ईमेल तथा इन्टरनेट व्यवसाय स्थापना गर्ने पहिलो ब्याचका कुनै पनि इन्जिनियर नेपालमा टिकेनन् । त्यसमध्ये धेरैजसो अमेरिका र केही बेलायतमा छन् । यद्यपि उनीहरूले राम्रै गरिरहेको सञ्जीव बताउँछन् । 

मर्कन्टाइलको कार्यालय दरबारमार्गमा थियो । तत्कालीन डायलअप इन्टरनेट फोन लाइनमा आधारित थियो । तर फोन लाइन पाउन निकै मुस्किल थियो । “हामीले एउटै फोन लाइनका लागि करिब दुई लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्थ्यो,” सञ्जीव भन्छन्, “हामीले आठ ओटा टेलिफोन लाइनबाट डायलअप इन्टरनेट सुरु गरेका  थियौँ । ती टेलिफोन लाइन हामीले बजारमा गएर लिनुपर्ने हुन्थ्यो, तत्कालीन दूरसञ्चार संस्थानबाट लिन निकै गाह्रो हुन्थ्यो ।”

दूरसञ्चार संस्थानको टेलिफोन लाइनको क्षमता सीमित थियो, त्यसमाथि मर्कन्टाइल रहेको दरबारमार्गमा कनेक्सन नै थिएन । आफूसँग आवश्यक दक्षता र स्रोत साधन नभएपछि हरेक कुरा चुनौतिपूर्ण लाग्ने नै भयो । यस्तोमा अन्यत्रबाट सहयोग जुटाउनु मर्कन्टाइलका लागि बाध्यताको विषय थियो ।

त्यसका लागि सिङ्गापुरदेखि अस्ट्रेलियासम्मै पुग्नुपर्ने हुन्थ्यो । “हामी जसरी सिक्न चाहँदै थियौँ, सिङ्गापुर त्यसैगरी सिकिरहेको थियो । उनीहरूले अमेरिकाबाट कन्सल्ट्यान्ट ल्याएर सेवा सञ्चालनमा ल्याएका थिए । यस्तोमा कुनै कुरा सोध्नका लागि सिङ्गापुरमा पनि जानकार मान्छे थिएन । हरेक कुरामा ठूलो चुनौती थियो ।”

सन् १९९४ को क्रिसमसतिर भर्खर सिस्को राउटर नेपाल भित्रिएको थियो । सञ्जीव आफू पनि त्यही सर्भर चलाउँथे । तर सिस्को ह्याङ भइदियो । सञ्जीवको टिमले सिस्कोको म्यानुअल खोतल्यो, त्यसमा कल गर्न १-१८०० नम्बर दिइएको थियो । तर अमेरिकाको उक्त टोलफ्रि नम्बरमा नेपालबाट फोन लागेन । यता सिस्टम डाउन थियो । अब के गर्ने ?

सञ्जीव आफैँ अबेर रातिसम्म अफिसमै थिए । “मैले अमेरिकामा रहेको साथीलाई कल गरेर सिस्कोको नियमित नम्बर दिन आग्रह गरेँ । सानफ्रान्सिस्कोको नम्बर ४०८ बाट सुरु हुन्थ्यो,” उनी सम्झिन्छन् ।

"यसरी हामीले त्यहाँ कल गर्‍यौँ र नेपालबाट बोलिरहेको भन्यौँ । हामीसँग तपाईँको राउटर छ र त्यसमा समस्या आइरहेको छ भनेर सुनायौँ । तर सिस्को इन्जिनियरले ‘प्र्याङ्क कल’ (ठट्टाका लागि फोन गर्ने) ठानेछ । उसले त्यसअघि नेपाल भन्ने सुनेकै रहेनछ । ‘माइ नेम इज नेपोलियन बोनापार्ट’ भन्दै फोन राखिदियो ।”

त्यसपछि फेरि कल गरे । अमेरिकामा क्रिसमस डे चलिरहेको  थियो । पछिल्लो कल एक भारतीयले उठाए । सञ्जीवले हिन्दी मिसाउँदै अङ्ग्रेजीमा कुरा गरे । त्यसपछि भने उक्त व्यक्ति सहयोग गर्न तयार भयो ।

सिस्को २५०१ कसरी रिबुट गर्ने भन्ने विषयमा ती व्यक्तिले सुझाएपछि बल्ल सिस्टम चल्न  थाल्यो । विदेशबाट नेपाल सामान ल्याउनै गाह्रो थियो । के सामान ल्याउने र ल्याएर कसरी कन्फिगर भन्ने कुराको आइडिया पनि सञ्जीवसँग थिएन । न त सपोर्ट कसरी लिने भन्ने नै  थाहा थियो ।

सन् १९९५/९६ मा नेटस्केप आएपछि मात्रै इन्टरनेटले व्यवसायिक रूप लियो । नेटस्केप त्यतिखेरको लोकप्रिय ब्राउजर थियो, जसले डटकमको वर्चश्व स्थापनामा सहयोग गर्‍यो । 

यता रिसर्च प्रोजेक्टको रूपमा रहेको इन्टरनेट व्यवसायिक रूपमा बजारमा आउने कुराको धेरैले कल्पनासम्म गरेका थिएनन् । नेपालमा युनिक्स अपरेटिङ सिस्टम चलाउने कोही पनि थिएनन् । तर सञ्जीवले त्यसका लागि छुट्टै डिपार्टमेन्ट सुरु गरे । एक दुई जना भान्छे राखे ।

युनिक्सको कुनै अनुभव नभएको मर्कन्टाइलमा त्यसको प्रयोग गर्न सकिन्छ कि सकिन्न भन्नेमै दुबिधा थियो । तत्कालीन अवस्थामा समग्र इन्टरनेट त्यही अपरेटिङ सिस्टममा आधारित रहेको थियो । यद्यपि कम्पनीले ईमेल व्यवसाय सुरु गरिसकेको थियो । 

इन्टरनेटमा नेपालबाट अपलोड गरिएको पहिलो तस्वीर

रोचक कुरा के छ भने नेपालबाट इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर गणेश ‘भगवान’को थियो । जेफ ग्रिनवाल्ड नाम गरेका एक अमेरिकी पत्रकारले उक्त तस्वीर इन्टरनेटमा राखेका थिए । 

इन्टरनेटका लागि लोकप्रिय म्यागेजिन वायर्डको अनलाइन न्युजपोर्टलका लागि उनले तत्कालीन समयमा मर्कन्टाइल र यसको ईमेल तथा इन्टरनेट सेवाको विषयमा एउटा समाचार समेत लेखेका थिए । 

नेपालको सुरुवाती इन्टरनेट लिङ्क जम्मा ४.८ केबीको मात्र रहेकाले त्यसमार्फत तस्वीर पठाउनु निकै चुनौतिपूर्ण थियो । 

एक एमबी आकारको उक्त पीएनजी तस्वीर अपलोड गर्न राजभण्डारीका प्राविधिकलाई १४ घण्टा समय लागेको सन्दर्भ वायर्डमा प्रकाशित एक लेखमा ग्रिनवाल्डले उल्लेख गरेका छन् ।

पछि त्यसलाई जेपीईजी फर्म्याटमा सानो आकारमा रूपान्तरण गरेपछि मात्रै इन्टरनेटमा अपलोड भयो । यसरी सन् १९९५ मा इन्टरनेटमा नेपालबाट पहिलो तस्वीर अपलोड भयो, जुन ईमेलमार्फत अमेरिका स्थित वायर्डलाई पठाइएको थियो । 

स्काइप आउनुभन्दा अगाडि सन् १९९७/९८ तिर भोकलटेक नामक कम्पनी थियो । पछि इन्टेलले त्यसलाई खरिद गर्‍यो । उक्त प्लेटफर्मबाट कल समेत गर्न सकिन्थ्यो । फोन कल निकै महँगो रहेको त्यो बेला इन्टरनेटबाटै अडिओ कल सम्भव भयो । तर भिडिओ कल भने स्काइप आएपछि मात्रै सुरु भयो । 

डायलअप इन्टरनेट

सन् १९९२ मा सञ्जीव भारतको सरकारी संस्था एजुकेसन एन्ड रिसर्च नेटवर्क (ईआरनेट) सँगको सम्पर्कमा पुगे । “हामीले पनि अनुसन्धानकै लागि काम गरिरहेका छौँ, त्यसका लागि तपाईँहरूसँग हामी सम्पर्कमा रहन सक्छौँ भनेर सोध्यौँ,” उनी सम्झिन्छन्, “उनीहरू सहमत भए, त्यो हाम्रो लागि आश्चर्यको कुरा थियो ।” 

किन भने उनीहरू अनुसन्धान वा शैक्षिक संस्थासँग मात्रै कनेक्ट हुन चाहन्थे । त्यो चाहिँ इन्टरनेटमा आधारित ईमेल कुरा थियो ।

“हामी त्यसबेला डायलअप मोडेम प्रयोग गरेर नयाँ दिल्लीमा रहेको ईआरनेटमा सम्पर्क गर्थ्यौँ । हामीले त्यसबेला एक डेढ वर्षसम्म नै चिनजानका साथीहरू र केही आईएनजीओलाई निःशुल्क रूपमा सेवा दिएका थियौँ । त्यसले एकदमै राम्रोसँग काम गरेको देखेर हामी अचम्मित भएका थियौँ । यस्तो पनि हुन्छ भन्ने कुरा हामीले सोचेका पनि थिएनौँ,” उनी भन्छन् ।

“९०.२ केबीपीएसको मोडेमबाट हामी दिनको १०/१२ पटक दिल्ली कल गर्थ्यौँ । मिनेटको ३५ रुपैयाँ पर्थ्यो ।” भारत डायल गर्न सस्तै थियो । भारतको सरकारी संस्था भएकाले ईआरनेटले खासै प्रतिक्रिया दिँदैन थ्यो ।

बेलुका पाँच बजेपछि बन्द हुन्थ्यो । त्यसैक्रममा मर्कन्टाइलले अस्ट्रेलियाको एउटा साझेदार भेट्यो । त्यसपछि मर्कन्टाइलले डायलअपका लागि कनेक्ट डटकम नामक अस्ट्रेलियन कम्पनीसँग सम्पर्क कायम गर्‍यो ।

“त्यसको सेवा एकदमै राम्रो थियो । तर समस्या के भने डायलअप गर्न १५० रुपैयाँ पर्न आउँथ्यो,” ती सम्झना सञ्जीवको मानसपटलमा ताजै छन्, “जब हाम्रो ग्राहक आधार बढ्दै गयो, कनेक्सन अवधि दिनकै दुई तीन घण्टा हुँदा खर्च २०/३० हजार रुपैयाँसम्म पुग्थ्यो ।”

यसरी सन् १९९५ मा मर्कन्टाइलले नेपालमै पहिलो पटक व्यवसायिक रूपमा इन्टरनेट सेवा सुरु गर्‍यो । खर्च धेरै हुन थालेपछि कम्पनीले ग्राहकबाट शुल्क समेत उठाउन थाल्यो । 

पछि सन् १९९९ तिर भी-स्याटको रुपमा स्याटलाइटमार्फत इन्टरनेट लिङ्क आउन थाल्यो । किन भने त्यसअघि भी-स्याट कानूनी भइसकेको थिएन ।

त्यतिञ्जेलसम्म नेपालको इन्टरनेट नेपाल दूरसञ्चार संस्थानको कनेक्सनमाथि नै निर्भर थियो । सोझै स्याटलाइट लिङ्क प्राप्त गरेपछि इन्टरनेट सेवाप्रदायकले दूरसञ्चार संस्थानको सेवा लिनुपर्ने बाध्यता अन्त्य भयो । 

अहिले देशव्यापी बनेको फाइबर इन्टरनेट नेटवर्क सन् २००७/०८ तिर मात्रै आएको हो । स्याटलाइटको लिङ्क राम्रै भए पनि त्यो निकै महँगो थियो ।

तर त्यसमा ५०० मिलि सेकेन्ड डिले (ढिलो) समेत हुन्थ्यो । स्याटलाइटमा एक मेगाबाइटकै दुई हजार अमेरिकी डलर पर्थ्यो । 

भारतसम्म अप्टिकल फाइबर आइसकेको थियो । नेपालमा अप्टिकल फाइबर लिङ्क ल्याउन स्थानीय सेवाप्रदायकले सन् २००५ तिरै एयरटेल भारतीसँग सम्बाद अगाडि बढाएका थिए ।

तर क्रश बोर्डर कनेक्सनका लागि ‘सेक्युरिटी क्लियरेन्स’ आवश्यक पर्थ्यो । उता एयरटेलले त्यसको काम नगरिदिएपछि सञ्जीव र वर्ल्डलिङ्कका दिलिप अग्रवाल कम्पनी र त्यहाँको सुरक्षा निकायसँग कुरा गर्न दिल्ली पुगे । 

“उनीहरूले हरेक बोर्डर पोस्टमा लिम (लिगल इन्टरसेप्ट एन्ड मनिटरिङ सिस्टम) राख्नैपर्ने अनिवार्यता दर्शाए,” उनी भन्छन्, “एउटैको लागत करिब १० लाख अमेरिकी डलर पर्थ्यो ।”

अहिले पनि टाटा, एयरटेल भारती जस्ता जति पनि कम्पनी नेपालसँग कनेक्टेड छन्, उनीहरूले लिम राख्नैपर्ने बाध्यता छ । तर नेपालको इन्टरनेट व्यवसाय एकदमै सानो थियो । यस्तोमा उनीहरूले त्यति धेरै लगानी गरेर लिम राख्ने इच्छा देखाएनन् । सिङ्गापुरमा एयरटेल भारतीको एउटा शाखा थियो ।

“समस्यामा परेपछि हामीले उहाँहरूसँग यस्तो सम्वाद गर्‍यौँ कि नेपालको ट्राफिक भारतमा नलगी सोझै सिङ्गापुर पठाइदिने । यसो भएपछि नेपालको ट्राफिकसँग भारतीयहरूको सरोकार नै हुने भएन,” उनी सुनाउँछन्, “हामी वर्ल्डलिङ्कसँग मिलेर सोझै सिङ्गापुरको प्वाइन्टमा कनेक्ट हुने गरी अगाडी बढ्यौँ । भारत ट्राफिक लैजानु पर्‍यो भने सिङ्गापुर भएरै जानु पर्ने हुन्थ्यो ।”

सुरुमा भैरहवा र वीरगञ्जबाट अप्टिकल फाइबर सम्पर्क कायम भयो । स्याटलाइटमा १०/२० मेगाबाइट रहेकोमा अप्टिकल फाइबरमा गइसकेपछि नेपाली इन्टरनेट सेवाप्रदायकले एकैपटक तीनचार सय मेगाबाइट लिन थाले । त्यतिखेर प्रति मेगाबाइट ब्यान्डविथका लागि ४५० अमेरिकी डलर तिर्नुपरेको सञ्जीव बताउँछन् ।

अहिलेको तुलनामा त्यो सय गुणा महँगो भए पनि तत्कालीन स्याटलाइट लिङ्कको तुलनामा निकै सस्तो थियो । अहिले यदि कुनै इन्टरनेट सेवाप्रदायकले १०० जीबी ब्यान्डविथ खरिद गर्छ भने प्रति मेगाबाइट ५ अमेरिकी अमेरिकी डलरभन्दा कममा नै आउँछ । 

नेपालभित्र नेपाल विद्युत प्राधिकरणले आफ्नो हाइटेन्सन लाइनमा फाइबर अप्टिक केबल राखेको थियो । काठमाडौंलाई भारतीय सीमासम्म जोड्न नेपाली इन्टरनेट सेवाप्रदायकले त्यही लाइन प्रयोग गरे । 
 

नेपालको पहिलो वेबसाइट

नेपालमा वेबसाइट आउनु अघि नै मर्कन्टाइलले सन् १९९५/०९६ तिर बेलायतमा साउथ एसिया डटकम नामक वेबसाइट होस्ट गरेको थियो । त्यतिखेर ६४ केबी क्षमताकै लिङ्कको मूल्य १२ लाख रुपैयाँ परिरहेको थियो । यस्तोमा खर्च जोगाउन बेलायतको सर्भरमा राखिएको सञ्जीव बताउँछन् ।

“नेपालमा सर्भर राख्दा बाहिरको मान्छेले एक्सेस गरेको खण्डमा हाम्रो ब्यान्डविथ खर्च निकै महँगो पर्न जान्थ्यो,” उनी भन्छन्, “त्यसैले हामीले आफ्नो वेबसाइट बेलायतको सर्भरमा राखेका थियौँ ।” 

त्यसमा यूएन, मर्कन्टाइल, कान्तिपुर र काठमाडौं पोस्टका सामग्री राखिएको सञ्जीव सम्झिन्छन् । सन् १९९७ मा मर्कन्टाइलले नेपाल न्युज सुरु गर्‍यो ।

मर्कन्टाइल कम्युनिकेसन्स सुरु हुनु अघि मर्कन्टाइल अफिस सिस्टम (मस) थियो । किन भने तत्कालीन समयमा ईमेलको परियोजना केवल परीक्षण मात्रै थियो ।

निकट भविष्यमा सञ्चार नै व्यवसाय बन्ने कुरा सञ्जीवले सोचेकै थिएनन् । त्यसबेला नेपालको आफ्नो डोमेन (डट एनपी) नै थिएन । मर्कन्टाइलको वेबसाइटको नाम मस डट कनेक्ट डटकम डट एयू (अस्ट्रेलिया) थियो । 

 

यसरी आयो डट एनपी डोमेन

अस्ट्रेलियन साझेदारले त्यतिखेर भनेको कुरा सञ्जीव अझै सम्झिन्छन्, “‘तिमीहरू हामीसँग कनेक्ट हुन त खोजिरहेका छौ, तर तिम्रो देशको डोमेन नै छैन’ भन्थे ।” डट एनपी डोमेनका लागि सहयोग गर्ने बचन अस्ट्रेलियन साझेदारले दिएपछि सञ्जीव सोच्न थाले ।

अझै पनि नेपालका कतिपय प्राथमिक सर्भरहरू अस्ट्रेलियामै छन्

“पूरै देशको डोमेन हामीले कसरी लिने भन्ने लाग्यो,” उनी भन्छन्, “त्यसपछि हामीले त्रिभुवन विश्वविद्यालय र रोनास्टसँग कुरा गर्‍यौँ ।”

रोनास्ट (तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तथा अहिलेको नास्ट) र भारतको ईआरनेट दुवै सरकारी संस्था थिए । रोनास्टले दिल्लीमा रहेको ईआरनेटमा डायल गरेर ईमेल सेवा थालेको थियो ।

डा. केदारभक्त माथेमा तत्कालीन समयमा रोनास्टको उपकुलपति थिए । “मैले देशको डोमेन सुरु गरौँ भन्दा उहाँहरूले त्यसप्रति चाहना देखाउनु भएन,” सञ्जीव तत्कालीन सम्वाद सम्झिन्छन्, “प्राविधिक संस्था भए पनि सूचना प्रविधि रोनास्टको कार्यक्षेत्रमा नपर्ने तर्क दिँदै उहाँले अस्वीकार गरिदिनु भयो ।”

उता त्रिभुवन विश्वविद्यालयकाले भने ईमेल के हो भन्ने कुरा नै थाहा नभएको जवाफ दियो । सरकारी संस्थाहरू पन्छिएपछि मर्कन्टाइल आफैँले अग्रसरता लियो र डट एनपी डोमेन सुरु भयो ।

यसरी सन् १९९४ तिर मर्कन्टाइलले एनपी डोमेन पायो । कनेक्ट डटकमको सहयोगमा डोमेन सुरु भएक‍ाले अझै पनि नेपालका कतिपय प्राथमिक सर्भरहरू अस्ट्रेलियामै छन् । 

डट एनपी डोमेन अझै पनि सरकारले सम्हाल्ने स्थिति बनिसकेको छैन । जसले गर्दा सुरु भएदेखि आजपर्यन्त मर्कन्टाइलले नै निःशुल्क रूपमा एनपी डोमेनहरू वितरण तथा व्यवस्थापन गर्दै आएको छ । 

“त्यो बेला हामी ईमेल मात्रै गर्थ्यौँ,” उनी भन्छन्, “तर हामीले एनपी डोमेन पनि पायौँ । त्यो हाम्रो लागि निकै ठूलो कुरा थियो । त्यसको प्राइमरी सर्भिसको सबै ब्याकअप अस्ट्रेलियामै थियो ।”


इन्टरनेट सुरु भएको ४ वर्षपछि मात्रै कानूनी मान्यता

अर्कोतर्फ सन् १९९३ देखि सुरु गरेको इन्टरनेट सेवा न त कानूनी थियो, न त गैरकानूनी नै । किन भने त्यतिबेला इन्टरनेट के हो भन्ने कुरा थाहै थिएन, त्यसका लागि नियम समेत थिएन । 

यसका लागि सञ्जीव लगायतले तत्कालीन सञ्चार मन्त्रालयसँग समन्वय थाले । उता विश्व बैंकले नेपाल टेलिकमसँग काम गरिरहेको थियो । उसले दूरसञ्चार प्राधिकरण स्थापना हुनुपर्छ भन्ने कुरामा लबिङ गरिरहेको थियो ।

यसरी सन् १९९७ मा नेपाल दूरसञ्चार प्राधिकरण स्थापना भयो । त्यतिखेरसम्म इन्टरनेट सेवा दिने कम्पनीमा मर्कन्टाइल र वर्ल्डलिङ्क मात्रै थिए । 

भोजराज पोखरेल सञ्चार मन्त्रालयको सचिव थिए । पछि उनी प्रमुख निर्वाचन आयुक्त समेत बने । उनलाई सञ्जीव निकै ‘प्रोग्रेसिभ ब्युरोक्र्याट’ ठान्छन् ।

“त्यसबेला सरकारले निजी क्षेत्रलाई बोलाएर परामर्श लिने किसिमको अभ्यास नै थिएन,” उनी भन्छन्, “तर भोजराज पोखरेलसँगै मन्त्रालयमा काम गर्ने भुपराज पाण्डे पनि हुनुहुन्थ्यो । हामीलाई उहाँहरू विभिन्न कुराहरू सोध्नुहुन्थ्यो, हामी आफ्नो धारणा राख्थ्यौँ । सन् १९९७ मा दूरसञ्चार प्राधिकरण गठन हुँदा आएको विनियमावलीमा धेरैजसो हामीले दिएका सुझाव समेटिए । पछि भुपराज पाण्डे नै प्राधिकरणको पहिलो अध्यक्ष हुनु भयो ।”

सन् १९९३ मा सुरु भएको इन्टरनेट सेवाले सन् १९९७ मा प्राधिकरण स्थापना भएपछि मात्रै कानूनी मान्यता पायो । यसरी मर्कन्टाइललाई पहिलो इन्टरनेट सेवाप्रदायकको लाइसेन्स दिइयो । 








 

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १९:२९