close

जोडी खोज्न सघाउने 'बिहे नेपाल'मा नयाँ फिचर, विवाह र प्रेमसम्बन्धी आफ्नो विचार राख्न मिल्ने

टेकपाना टेकपाना

असोज ३१, २०७९ २२:५६

जोडी खोज्न सघाउने 'बिहे नेपाल'मा नयाँ फिचर, विवाह र प्रेमसम्बन्धी आफ्नो विचार राख्न मिल्ने

काठमाडौं । अनलाइनबाट जीवनसाथी खोज्न सघाउने नेपाली स्टार्टअप 'बिहे नेपाल'मा कम्युनिटी नामक नयाँ क्याटेगोरी थपिएको  छ । उक्त फिचरमार्फत प्रयोगकर्ताले विवाह वा प्रेम सम्बन्धको विषयमा आफूलाई लागेका कुरा पोस्ट गर्न सक्छन् ।

टेकपानासँग कुरा गर्दै बिहे नेपालकी सहसंस्थापक श्रद्धा कटवालले भनिन्, "हामी बिहे नेपाललाई त्यस्तो प्लेटफर्मका रूपमा विस्तार गर्न चाहन्छौँ, जहाँ प्रेम गर्ने, साथी बनाउने वा बिहे गर्ने मात्र नभई मानिसहरूले आफ्ना अनुभवहरू पनि बाँड्न सकुन् । उनीहरूको विचार, अनुभव, वा सल्लाहले अन्य मानिसहरूलाई पनि सहयोग गर्नुका साथै सामाजिक सद्भाव कायम गर्न मद्दत गर्छ ।"

कतिपय अवस्थामा प्रेम सम्बन्धलाई लिएर मानिसहरूलाई धेरै कुरा शेयर गर्न मन लागिरहेको हुन्छ । विशेषगरी आफूले कसैलाई प्रेम गरेको कुरा उक्त व्यक्तिसामु प्रस्तुत गर्न नसक्दा उनीहरूबीच प्रेम हुन सकिरहेको हुँदैन । त्यस्तो अवस्थामा आफूले कसैलाई व्यक्त गर्न चाहेका कुरा यहि कम्युनिटी क्याटेगोरीमा रहेको 'हाम्रो कुराकानी' सेक्सनमा गएर पोस्ट (कन्फेस) गर्न सकिन्छ, जसरी फेसबुक ग्रुपमा पोस्ट गर्दा अन्य मानिसहरूले पढेर सुझाव दिन्छन् ।

यसमा पनि त्यसरी नै पढेर सुझाव दिन सकिने व्यवस्था रहेको उनले जानकारी दिइन् । त्यस्तै यस कम्युनिटी क्याटेगोरीमा महिलाका लाग लेडिज कर्नर र हाम्रो कुराकानी नामक दुई ओटा सेक्सन रहेका छन् ।

'हाम्रो कुराकानी' सेक्सन सार्वजनिक वा भनौँ सबै वर्गका मानिसहरूका लागि उपलब्ध गराइएको सेक्सन हो । जहाँ सबै वर्ग (लैङ्गिक) का प्रयोगकर्ताले सबै वर्गका प्रयोगकर्तालाई देखाउन पोस्टहरू राख्न सक्छन् । त्यस्तै अर्को सेक्सनमा वर्ग अनुसार फरक फरक सेक्सन रहेका छन् ।

उदाहरणका लागि तपाईँ पुरुष हुनुहुन्छ भने त्यहाँ जेन्ट्स कर्नर रहेको हुन्छ । त्यहाँ पुरुषले राखेका पोस्टहरू पढ्न सकिन्छ । त्यस्तै महिलाहरूका लागि लेडिज कर्नर रहेको हुन्छ । जहाँ महिलाले महिलासामु आफ्ना विचार, अनुभव वा धारणा राख्न सक्ने कटवालले जनाइन् ।

त्यस्तै समलिङ्गीका लागि हाम्रो कुराकानी र एलजीबीटी कर्रनरमा एक्सेस हुन्छ, जहाँ उनीहरूले आफूलाई लागेका कुराहरू आफ्नै वर्ग वा अनेक वर्गका प्रयोगकर्तासामु राख्न सक्छन् ।

"कसैले आफूलाई लागेका कुरा कोहीसामु राख्नु छ वा भनौँ कन्फेस गर्नुपर्नेछ भने त्यस्तो अवस्थामा प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्नेछन्," कटवालले भनिन् ।

यो फिचरले समाजमा सामाजिक सद्भाव कायम गर्ने, सचेत गराउने र विभिन्न वर्गका प्रयोगकर्तालाई एक आपसमा जोड्न सहयोग पुर्‍याउने उनको विश्वास छ ।

 

 

 

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ २३:५