close

शिक्षा क्षेत्रका सबै सूचना अब एकै ठाउँमा, यस्तो छ सरकारले जारी गरेको एकीकृत निर्देशिका

टेकपाना टेकपाना

कात्तिक १, २०७९ ११:२९

शिक्षा क्षेत्रका सबै सूचना अब एकै ठाउँमा, यस्तो छ सरकारले जारी गरेको एकीकृत निर्देशिका

काठमाडौं । देशभर सञ्चालित  विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षा प्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण अब एकै ठाउँबाट उपलब्ध हुने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत  शैक्षिक सूचना व्यवस्थापन प्रणाली अन्तर्गत यस्तो व्यवस्था मिलाउन लागेको हो ।  

छुट्टै निर्देशिका जारी गरेको मन्त्रालयले त्यसको कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराउनेछ । सङ्घ, प्रदेश र  स्थानीय तहअन्तर्गतका कार्यालय र शैक्षिक संस्थाबीच विद्युतीय माध्यमबाट समन्वय कायम गरी सूचना व्यवस्थापन गरिनेछ । 

यसबाट तीनै तहका  शैक्षिक  विवरण प्राप्ति  तथा  व्यवस्थापन हुने र शैक्षिक गुणस्तर सुनिश्चित गरी सुशासन कायम गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । हाल शिक्षण संस्थाले छुट्टाछुट्टै सूचना तथा तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गरेका छन् ।

मन्त्रालयले अब भने निर्देशिका अनुसार एकीकृत रूपमा सूचना प्रणाली व्यवस्थापन गरिने जनाएको छ, जसअनुसार सबै प्रकारका शैक्षिक संस्थामा रहेका भौतिक निर्माण, शैक्षिक संस्थाको चलअचल सम्पत्ति, कक्षागत तथा विधागत विद्यार्थी, शैक्षिक कार्यक्रम, विद्यार्थी, सिकाइ उपलब्धि, विषयगत शिक्षक तथा कर्मचारी, शैक्षिक संस्था सञ्चालन भएको र नभएको दिनको विवरण समेत सम्बन्धित संस्थाले अद्यावधिक गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाको सञ्चालक तथा व्यवस्थापकको विवरण  तथा मन्त्रालयले आवश्यक ठानेको अवस्थामा अन्य  विवरण पनि सम्बन्धित संस्थाले अद्यावधिक गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यी सबै विवरण हरेक तीन महिनाको अन्तरालमा अद्यावधिक गर्नुपर्ने हुन्छ । तर व्यक्तिगत गोपनीयता भङ्ग हुने विवरण भने सबैले हेर्न र प्रयोग गर्न पाउने छैनन् । निर्देशिका कार्यान्वयनमा आएपछि सबै प्रकारका शैक्षिक संस्थाबीच अन्तर आबद्धता कायम गरी विवरणको आधिकारिकता कायम गर्ने, शैक्षिक उपलब्धि तथा कार्यक्रम अनुगमन तथा मूल्याङ्कन गर्ने, शैक्षिक संस्थाको सम्पत्ति संरक्षण र उचित व्यवस्थापन लगायतका काम गर्न सजिलो हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

“हामीसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत सफ्टवेयर सिस्टम तयारी अवस्थामा छ,” उनले भने, “सम्बन्धित शैक्षिक संस्थालाई त्यसैमा पहुँच दिने योजना हो ।” शिक्षाका तमाम गतिविधिलाई अद्यावधिक गरी सूचना प्रविधि मार्फत शैक्षिक विवरण संकलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा प्रयोगलाई विश्वासिलो र भरपर्दो बनाउन निर्देशिका तयार पारिएको उल्लेख छ ।

यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा छुट्टै निर्देशक समिति बनाइएको छ । जस अन्तर्गत प्राविधिक समिति, मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय किताबखाना, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेशका शिक्षा क्षेत्र हेर्ने मन्त्रालय, स्थानीय तह, सम्बन्धित शैक्षिक संस्था र अन्य निकायको भूमिका समेत तय गरिएको छ । 

विस्तृत निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ ११:४०