close

लयमा फर्कदै नेटफ्लिक्स, सब्स्क्राइबरको संख्या २५ लाखले बढ्यो

टेकपाना टेकपाना

कात्तिक २, २०७९ ११:५६

लयमा फर्कदै नेटफ्लिक्स, सब्स्क्राइबरको संख्या २५ लाखले बढ्यो

काठमाडौं । करिब ६ महिना पश्चात नेटफ्लिक्सका सब्स्क्राइबर बढेका छन् । मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले २०२२ को तेस्रो त्रैमासिकमा २५ लाख सब्स्क्राइबर बढेको जानकारी दिएको छ । त्यस्तै २०२२ को चौथो त्रैमासिकमा कम्पनीले ४५ लाख बढी सब्स्क्राइबर पाउने अपेक्षा गरेको छ ।

विगत केही त्रैमासिक यता नेटफ्लिक्सले ठूलो सङ्ख्यामा सब्स्क्राइबर गुमाइरहेको थियो । जसको परिणाम नेटफ्लिक्स शेयर बजरमा पनि देखिएको थियो । हाल विश्वभर नेटफ्लिक्सका २२ करोड ३० लाख बढी सब्स्क्राइबर रहेका छन् । कम्पनीले प्रतिवेदन सार्वजनिक गरेपछि नेटफ्लिक्सको शेयर १३ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै नेटफ्लिक्सले तेस्रो त्रैमासिकमा कुल १।४ अर्ब डलर नाफा गरेको छ । जुन अघिल्लो त्रैमासिकको तुलनमा ६.७ प्रतिशतले वृद्धि हो । चुनौतीपूर्ण अर्धवार्षिक पछि हामी हाम्रो गतिलाई वृद्धि गर्ने बाटोमा रहेको विश्वास गरेका छौँ,' कम्पनीले उक्त प्रतिवेदनमा उल्लेख गरेको छ ।

विज्ञापनले नेटफ्लिक्सको उद्धार गर्न लागेकै हो त ?

लगातार सब्स्क्राइबर गुमाउन थालेपछि नेटफ्लिक्सले गत हप्ताबाट आफ्नो प्लेटफर्ममा विज्ञापनमा आधारित भिडिओ देखाउन थालेको छ । यसको अर्थ प्रयोगकर्ताले कम शुल्क तिरेर पनि नेटफ्लिक्सका भिडिओ हेर्न सक्छन् ।
जसका माध्यमबाट अमेरिकामा मासिक ६.९९ डलर (करिब ९ सय १६ रुपैंया) तिरेर सब्स्क्रिप्सन लिन सकिन्छ । अन्य क्षेत्रका लागि भने नोभेम्बर ३ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेटफ्लिक्स विज्ञापनरहित भिडिओ स्ट्रिमिङ प्लेटफर्मका रूपमा लोकप्रिय थियो । पछिल्लो समय सब्स्क्राइबरको सङ्ख्या लगातार ओरालो लागेपछि विज्ञापनमा आधारित भिडिओ उपलब्ध गराउने निर्णय लिएको थियो । नेटफ्लिक्सको यस्तो निर्णयले कम्पनीलाई अन्य प्रतिस्पर्धीबाट अघि बढाउन सक्ने अपेक्षा गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०७९ १२:५०