close

यस्तो छ, युक्रेन विरुद्ध रूसले प्रयोग गरिरहेको आत्मघाती ड्रोन

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १७:४

यस्तो छ, युक्रेन विरुद्ध रूसले प्रयोग गरिरहेको आत्मघाती ड्रोन

काठमाडौं । पछिल्लो समय रुसले युक्रेनविरुद्ध आत्मघाती ड्रोनमार्फत आक्रमण गरिरहेको छ । यो आक्रमणमा २५ भन्दा बढी व्यक्तिको निधन भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

अक्टोबर १० मा रुसले सुरु गरेको यो ड्रोन आक्रमणमा युक्रेनका कम्तीमा १० क्षेत्र प्रभावित भएका छन् । विस्फोटक पदार्थले भरिएको कामिकाजे भनिएको यो ड्रोनलाई इरानले 'शहिद १३६' नाम दिएको छ ।

के हो शहिद १३६ कामिकाजे ड्रोन ?

कामिकाजे एउटा जापानी शब्द हो, जसको अर्थ आत्मघाती भन्ने हुन्छ । कामिकाजे भनिएको यो ड्रोनलाई इरानले 'शहिद' नाम दिएको छ भने रुसमा यसलाई 'गेरानियम-२' भनेर चिनिन्छ । यही शहिदको सिरिजमध्ये हाल रुसले प्रयोग गरिरहेको सिरिज शहिद १३६ ड्रोन हो ।

यो इरानी ड्रोन अन्य ड्रोनभन्दा निकै भिन्न छ । अरु ड्रोन आक्रमणपछि फर्किएर आउँछ, तर यो ड्रोन फर्किएर आउँदैन । अर्थात् यो ड्रोन आक्रमण गरेको स्थानमा नै विस्फोट हुन्छ । त्यसैले पनि यो ड्रोनलाई आत्मघाती ड्रोन भनिएको हो ।

आक्रमणकारीले यी ड्रोनहरूलाई लक्षित स्थानमा विष्फाेट गराउनुभन्दा अगाडि त्यो स्थानमा रेकी लगाउनका लागि पठाउन पनि सक्छ । यसपछि आफ्नो लक्ष्यको हेक्का राखी उक्त स्थानमा ड्रोन आक्रमण गरिन्छ ।

क्रूज मिसाइलहरू जस्तै, यो ड्रोनले पनि सयौं किलोमिटर टाढाका लक्ष्यहरूमा प्रहार गर्न सक्छन् । क्रूज मिसाइलले जस्तै काम गर्ने हुँदा महँगो क्रुज मिसाइलको विकल्पको रुपमा पनि यो ड्रोन प्रयोग गर्न सकिन्छ ।

यो ड्रोन सस्तो भएपनि यसको निशाना भने निकै नै सटिक हुनेगर्छ । रुसले करिब २४ सय ओटा ड्रोन खरिद गरेको बताइएको छ ।

यो ड्रोनले कति क्षति गर्न सक्छ ? 

यो ड्रोन झट्ट हेर्दा कुनै प्लेनजस्तै देखिन्छ । यसको टाउकोपट्टिको भाग रकेट जस्तै छ भने त्यसपछिको सम्पूर्ण भाग कुनै पखेटाजस्तै देखिन्छ, जसलाई विङ्स्पान पनि भनेर भनिन्छ र जुन २.५ मिटर लामो छ । सोही पखेटामुनि विष्फाेटक पदार्थहरू राखिएको हुन्छ ।

यसको अधिकतम गति ११५ मिटर प्रति घण्टा हो भने यो ड्रोन २५०० किलोमिटरसम्म उड्न सक्छ । साथै यो ड्रोनलाई कुनै पनि रडारले ट्रयाक गर्न सक्दैन ।

यो ड्रोनलाई आक्रमणको लागि निर्देशन नदिएसम्म लक्ष्यको वरपर घुमिरहन्छ । तुलनात्मक रूपमा सानो भएपनि शहिद ड्रोनहरू मिसाइलहरू बोक्न सक्षम छन् र यसले लगभग ५० किलोग्राम सम्मको मिसाइलहरू बोक्नसक्छ ।

यसको अर्थ हो, यो ड्रोन निकै नै घातक हुनसक्छ र यसले ठूलो क्षति निम्त्याउन सक्छ । फलस्वरुप यो ड्रोनले युक्रेनमा धेरै क्षति पुर्‍याइसकेको छ ।

कुनै पनि युद्धमा सबैभन्दा धेरै आवश्यकता भनेको लक्षित स्थानमा आक्रमण गर्न सक्ने हतियारको हुन्छ । लक्षित स्थानमा नै आक्रमण गर्नको लागि कहिलेकाही मानिस आफै पनि असफल हुनसक्छ । यस्तोमा यो ड्रोन निकै नै उपयोगी हुने विज्ञहरूको भनाई छ ।

किनभने यो ड्रोनको लक्ष्य निकै नै सटिक हुन्छ । यसको अर्को विशेषता भनेको यसले लक्षित स्थानको अनुगमन गरेर कहाँनिर आक्रमण गर्ने भन्ने पनि पत्ता लगाउन सक्छ । यो ड्रोन आक्रमणले सर्वसाधारणलाई ठूलो असर पार्न सक्छ ।

यसले गर्दा अन्तर्राष्ट्रिय रेड क्रसले पनि यो ड्रोनको प्रयोगको भर्त्सना गरिसकेको छ । यो प्रकारको आक्रमणले मानसिक र मनोवैज्ञानिक हानिका साथै जीवनलाई खतरामा पार्ने चोटहरू निम्त्याउने अन्तर्राष्ट्रिय रेड क्रसले अभिव्यक्ति दिएको थियो ।

एउटा-एउटा गरेर भन्दा एउटा झुण्डमा गरिएको आक्रमणले कुनै ठूलो मिसाइल जत्तिकै क्षति पुर्‍याउन सक्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अनुसार एउटा शहिद ड्रोनको मूल्य २०,००० डलर सम्म पर्न जान्छ । 

-अलजजीराबाट

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १७:१३