close

डिजिटल माध्यमबाट एक महिनामै ५ खर्बको कारोबार

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ १६:५२

डिजिटल माध्यमबाट एक महिनामै ५ खर्बको कारोबार

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा डिजिटल माध्यमबाट पाँच खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत कुल पाँच खर्ब तीन अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको हो ।

राष्ट्र बैंकले हालै देशको असोज महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७९ सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । प्रतिवेदन अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबारको संख्या र कारोबार रकम अघिल्लो महिनाको तुलनामा बढेको छ ।

असोज महिनामा कनेक्ट आईपीएसमार्फत कुल ३८ लाख २१ हजार २७७ ओटा कारोबार हुँदा दुई खर्ब ९२ अर्ब ५४ करोड रुपैयाँ कारोबार भएको छ । त्यस्तै दुई लाख ६६ हजार ४३५ पटक भएको इन्टरनेट बैंकिङ कारोबारमार्फत १५ अर्ब ६३ करोड रुपैयाँ कारोबार भएको छ ।

यो अवधिमा मोबाइल बैंकिङमार्फत दुई करोड छ लाख ४८ हजार २६८ पटक कारोबार भएको छ । यसमार्फत एक खर्ब ४६ अर्ब १४ करोडभन्दा बढी रकम कारोबार भएको देखिन्छ ।

त्यस्तै वालेटमार्फत यो अवधिमा १७ अर्ब ६३ करोड बराबरको कारोबार भएको छ । त्यसका लागि एक करोड ६२ लाख पाँच हजार ४८७ पटक कारोबार भएको देखिन्छ । अघिल्लो महिनाको तुलनामा असोजमा क्यूआरमार्फत झन्डै छ लाखभन्दा बढी पटक कारोबार भएको छ ।

यो अवधिमा कुल ५२ लाख पाँच हजार ८०४ पटक कारोबार भएको छ । जसमार्फत १५ अर्ब दुई करोड रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १६:५२