काठमाडौं । एप्पलले हालै सार्वजनिक गरेको आईओएस १६ को पहिलो अपडेट भर्सन आईओएस १६.१ आउँदो सोमबार सार्वजनिक हुने भएकाे छ । अपडेटसँगै कम्पनीले यसमा छ नयाँ फिचर थप गर्दैछ ।
आईक्लाउड फोटो शेयरिङ फिचरदेखि थर्ड पार्टी एपका लागि लाइभ एक्टिभिटीसम्मका फिचर याे अपडेटमा उपलब्ध हुनेछन् । साथै आईओएस १६ मा देखिएका बग (सुरक्षा कमजाेरी)हरुको समाधान पनि यही अपडेटसँगै आउँदैछ ।
आईओएस १६.१ मा थप हुने फिचरहरू
१. आईक्लाउड फोटो शेयर
नयाँ अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले एक-अर्काबीच फोटोज एपमार्फत नै फोटो शेयर गर्न सक्नेछन् । यसमा नयाँ लाइब्रेरी क्रियट गरेर पाँच जनासम्म प्रयोगकर्तालाई एड गर्न सकिन्छ ।
एड भएका पाँच जनाले उक्त लाइब्रेरीमा फोटो शेयर गर्ने, डिलिट गर्ने लगायत अन्य एडिटिङ फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
२. थर्ड पार्टी एपको लागि लाइभ एक्टिभिटी
अब थर्ड पार्टी एपहरूका लागि पनि एपस्टोरमा लाइभ एक्टिभिटी थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो लकस्क्रिन अथवा डाइनामिक आईल्यान्डमा अन्य थर्ड पार्टी एपहरुको लाइभ एक्टिभिटी वा वास्तविक समयमा उक्त एपमा भइरहेको गतिविधिहरू हेर्न सकिनेछ ।
यदि तपाईंले कुनै राइड अर्डर गर्नुभयो भने उक्त राइडको रियल टाइम जानकारी तपाईंले मोबाइलको लकस्क्रिनमा पनि देख्न सक्नुहुनेछ ।
३. क्लिन इनर्जी चार्जिङ
सबैभन्दा चर्चामा आएको आईओएसको फिचर हो, क्लिन इनर्जी चार्जिङ फिचर । यो फिचरले शुन्य उत्सर्जनलाई सहयोग गर्ने कम्पनीको भनाइ छ । यद्यपि यो फिचर सुरुवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।
४. एप्पल वाचबिना एप्पल फिटनेस प्लस
अब आईफोन प्रयोगकर्ताले एप्पल वाच बिना नै एप्पलको सबैभन्दा धेरै रुचाइएको ‘फिटनेस प्लस’ फिचर प्रयोग गर्न पाउने भएका छन् । यो फिचर प्रयोगकर्ताले आईओएस १६.१, आईप्याडओएस १६.१ र टिभी ओएस १६.१ मा प्रयोग गर्न सक्नेछन् ।
यसअघि एप्पल वाचबिना प्रयोगकर्ताले आफ्नो स्वास्थ्य स्थितिलाई ट्रयाक गर्न सक्दैन थिए । अब भने एप्पल वाचबिना पनि यो फिचर प्रयोग गर्न सकिने भएको छ ।
सन् २०२० को डिसेम्बर मा सार्वजनिक भएको यो फिचरमा ३००० भन्दा बढी व्यायाम तथा मेडिटेसनका भिडिओ लगायत अन्य फिचरहरू छन् । यो फिचर २१ देशका लागि मात्र सशुल्क रुपमा उपलब्ध छ ।
५. होम एपमा म्याटर एक्सेसरिज
होम डिभाइसहरूलाई कनेक्ट गर्न आईओएस १६.१ मा म्याटर फिचर उपलब्ध हुने भएको छ । यसले विभिन्न प्लेटफर्मका होम एक्सेसरिजमा काम गर्न सहयोग गर्छ ।
यो फिचर एप्पलको होमकिटसँगै अमेजनको एलेक्जा र गुगलको होमकिटमा प्रयोग गर्न सकिन्छ ।
६. एक हातले प्रयोग गर्न सकिने
आईफोन १४ प्रोको मोडेलहरुमा उपलब्ध डाइनामिक आईल्यान्डमा एक हातले नै मोबाइल प्रयोग गर्न मिल्ने गरी रिचेबिलिटी फिचर थप गरिएको छ ।
यो फिचर इनेबल गरेपछि प्रयोगकर्ताले स्क्रिनमा सहजै एक हातले नै मोबाइल प्रयोग गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १९:३३
