close

ठूलो साइजका फाइल शेयर गर्नुपर्‍यो ? यो तरिका अपनाउनुहोस्

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ १०:१५

ठूलो साइजका फाइल शेयर गर्नुपर्‍यो ? यो तरिका अपनाउनुहोस्

काठमाडौं । आफ्नो डिभाइसमा भएका फाइलहरू विभिन्न प्रयोजनका लागि शेयर वा ट्रान्स्फर गरिरहनुपर्ने हुन्छ । विशेषगरी कुनै ठूला साइजका फाइल छोटो समयमा पठाउनुपर्‍यो भने हामीसँग विभिन्न विकल्प छन् ।

करिब २ जीबीसम्मका फाइल शेयर गर्नका लागि वीट्रान्सफर (WeTransfer) जस्ता माध्यम छन् । त्यस्तै विभिन्न क्लाउड प्लेटफर्म (वन ड्राइभ, गुगल ड्राइभ) बाट पनि फाइल शेयर गर्न सकिन्छ । ​क्लाउड प्लेटफर्मबाट फाइल शेयर गर्दा त्यसको स्टोरेज फुल हुन्छ । थप स्टोरेज आवश्यक पर्दा त्यसलाई सम्बन्धित प्लेटफर्मबाट खरिद गर्नुपर्ने हुन्छ ।

आज हामी यस्तो प्लेटफर्मबारे चर्चा गर्दै छौँ । जसका माध्यमबाट असीमित साइजका फाइल शेयर गर्न सकिन्छ । हामीले कुरा गर्न लागेको प्लेटफर्मको नाम हो, टफीशेयर (Toffeeshare) ।

यो एउटा त्यस्तो माध्यम हो, जसले जतिसुकै ठूला साइजका फाइल ट्रान्सफर गर्न सघाउँछ । हामीले पठाउन चाहेको फाइल कुनै पनि प्लेटफर्ममा भण्डारण हुँदैन । जसरी ब्लुटुथबाट वा शेयरइटबाट नजिकका साथीलाई वा नजिकका डिभाइसमा शेयर गर्न सकिन्छ, टफीशेयरका माध्यमबाट पनि फाइल ट्रान्सफर गर्न सकिन्छ ।

यताबाट पठाएको फाइल अपलोड त्यति नै हुन्छ जति अर्को डिभाइसमा डाउनलोड भएको हुन्छ । यसको अर्थ यहाँ फाइल अपलोड र फाइल डाउनलोड सँगसँगै भइरहेको हुन्छ ।

फाइल पठाउन लागिएको डिभाइस वा फाइल डाउनलोड गर्न लागिएको डिभाइसमा इन्टरनेट कनेक्ट भएको छैन भने यो प्रक्रिया असफल हुन सक्छ । टफीशेयरबाट फाइट ट्रान्सफर गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

सबैभन्दा पहिले यहाँ क्लिक गरेर टफीशेयर को वेबसाइटमा जानुहोस् ।

त्यसपछि त्यहाँ रहेको 'सेलेक्ट फाइल्स'को अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि आफूले ट्रान्सफर गर्न चाहेको फाइल छान्नुहोस् ।

फाइल छानिसकेपछि त्यहाँ एउटा लिङ्क आउँछ । सँगै क्यूआर कोड, तथा शेयरिङका अन्य विकल्प देखिन्छन् ।

उक्त लिङ्क कपी गरेर सो फाइल डाउनलोड गर्नुपर्ने डिभाइसमा पठाउनुहोस् । 

अर्को डिभाइसबाट उक्त लिङ्क खोलेको अवस्थामा पठाइएको डिभाइसबाट फाइल अपलोड हुन्छ र समानान्तर रूपमा अर्को डिभाइसबाट डाउनलोड हुन्छ ।

याद गर्नुहोस्, यस बीचमा कुनै एक डिभाइसको इन्टरनेट कनेक्सन बिग्रिँदा फाइल ट्रान्सफर नहुन सक्छ । विशेषगरी फाइल डाउनलोड गर्नुपर्ने डिभाइसमा फाइल डाउनलोड नभएसम्म फाइल अपलोड गरिएको डिभाइसबाट उक्त पेज हटाउन हुँदैन ।

यसरी नजिक वा टाढा भएका डिभाइसमा असीमित साइज भएका फाइल पठाउन सकिन्छ । यसबाट फाइल ट्रान्सफर हुने भएकाले फाइलको गुणस्तरमा त्यति ह्रास आउँदैन । त्यसैले निर्धक्क फाइल शेयर गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ ११:४६