close

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, के नाङ्गो आँखाले सूर्य हेर्न हुन्छ ?

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ १४:४२

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, के नाङ्गो आँखाले सूर्य हेर्न हुन्छ ?

काठमाडौं । आज विश्वका विभिन्न देशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । सूर्य ग्रहण लाग्दा खाना खान नहुने, काम गर्न नहुने, निश्चित रङ्गको लुगा लगाउन नहुने मान्यता छन् । ग्रहण लाग्दा खाने कुरा खायो भने के हुन्छ होला, नाङ्गो आँखाले सूर्यतर्फ हेर्‍यो भने के होला ? आज हामी यस्तै विविध विषयमा चर्चा गर्दै छौँ ।

सबैभन्दा पहिले ग्रहण भनेको के हो भन्ने बुझौँ । सूर्य वा चन्द्रमा छेकिएर जब छाया बन्छ, त्यसैलाई ग्रहण भन्ने गरिन्छ । विशेषगरी दुई प्रकारका ग्रहण हुने गर्छन् । एउटा सूर्य ग्रहण र अर्को चन्द्र ग्रहण ।

सूर्य ग्रहण भनेको त्यस्तो ग्रहण हो, जहाँ चन्द्रमाले सूर्यलाई छेक्दा त्यसको छाया पृथ्वीमा पर्ने गर्छ । र, चन्द्र ग्रहण भनेको त्यस्तो ग्रहण हो जहाँ सूर्यलाई पृथ्वीले छेक्छ र त्यसको छायाँ चन्द्रमामा पर्छ ।

नासाले सूर्य ग्रहण खग्रास, खण्डग्रास, बयलकार र हाइब्रिड हुने उल्लेख गरेको छ । खण्डग्रास सूर्य ग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको हुन्छ । खग्रासमा भने चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा छेकेको हुन्छ । त्यस्तै चन्द्रमा सूर्यको बीचमा परेको अवस्थामा आकाशमा आगोको गोलो रेखा जस्तो देखिने ग्रहणलाई बयलकार सूर्य ग्रहण भनिन्छ ।

ग्रहण कसरी लाग्छ ?

हाम्रो ब्रह्माण्डमा पृथ्वीले सूर्यलाई परिक्रमा गरेको हुन्छ भने पृथ्वीलाई चन्द्रमाले परिक्रमा गरेको हुन्छ । पृथ्वीले जुन गतिमा सूर्यको परिक्रमा गरेको हुन्छ त्योभन्दा कम गतिमा चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ ।

यो परिक्रमाको प्रक्रियामा पृथ्वी र चन्द्रमा त्यस्तो बिन्दुमा आइपुग्छन्,जहाँ सूर्य, चन्द्रमा र पृथ्वी एउटै रेखामा पर्छन् । यसो हुँदा पृथ्वीबाट चन्द्रमाले सूर्यको प्रकाश छेकेको जस्तो देखिन्छ । त्यसैलाई सूर्य ग्रहण भनिन्छ । चन्द्रमाले सूर्यको पूरै भाग छेक्ने प्रकिया निकै नै दुर्लभ हुन्छ, जसलाई खग्रास सूर्य ग्रहण भन्ने गरिन्छ ।

यो ग्रहण लाग्न करिब ३६० देखि ४१० वर्षको समयावधि लाग्छ । खण्डग्रास सूर्य ग्रहण भने वर्ष-वर्षमा देखिन्छ । त्यस्तै पृथ्वीले सूर्यको प्रकाश छेक्दा केही मात्रामा प्रकाश चन्द्रमामा पर्ने गर्छ, जसलाई चन्द्रग्रहण भन्ने गरिन्छ ।

विभिन्न धर्ममा आस्था राख्ने व्यक्तिले सूर्य ग्रहणलाई आफ्नै तरिकाले व्याख्या गरेका छन् । सूर्यलाई कुनै राक्षसले निलेको अवस्थामा ग्रहण लाग्छ भन्ने धार्मिक विश्वास बढी प्रचलित छ । भगवान र राक्षसले अमृत पाउनका लागि सात समुन्द्रसहित मन्धरा हिमाल मन्थन  गरेका थिए ।

अमृतको मट्का निस्किसकेपछि भगवान विष्णुले मोहिनीको रूप धारण गरेर अन्य देउतालाई यो रस पिलाउन लागेका थिए । त्यही समयमा एउटा 'स्वरभानू' नाम भएको दानव देउताको लाइनको बीचमा घुस्यो र त्यो अमृत पियो । भगवान विष्णुलाई यो कुराको जानकारी भएपछि उनले सरभानीको शिर काटिदिए । त्यही टाउकोलाई राहु र शरीरलाई केतु भन्ने गरिन्छ ।

यही पौराणिक कथा अनुसार राहु र केतुले नै सूर्यलाई निल्ने गर्छन् । यो कथा ऋगवेदमा समेत उल्लेख गरिएको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यतालाई नियाल्ने हो भने पनि सूर्यलाई कुनै चिजले निलेको अवस्थामा ग्रहण लाग्छ भन्ने मान्यता छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज मंगलबार अपराह्न ४:५२ बजेदेखि करिब ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ ।

अपराह्न लाग्ने खण्डग्रास सूर्य ग्रहण तराईभन्दा पहाडी र खुल्ला क्षेत्रबाट देखिने विज्ञहरूको भनाइ छ । यी ग्रहणलाई लिएर विभिन्न धार्मिक अन्धविश्वास रहेको छन् । विशेषगरी ग्रहण लागेको समयमा बाहिर निस्किनै नहुने, घरलाई गोबरले घेरा हालेर राख्ने, ग्रहण सकिएपछि स्नान गर्ने, ग्रहणको समयमा खाना नखाने, खुल्ला आँखाले ग्रहण नहर्नेजस्ता अन्धविश्वासलाई मानिसहरू अहिले पनि मान्यता दिइरहेका हुन्छन् ।

केही अन्धविश्वासमा भने वैज्ञानिक कारण पनि रहेका छन् । सूर्य वा चन्द्र ग्रहण लाग्दा पहिलाबाट नै मान्छेहरू डराइरहेका हुन्थे । धार्मिक आस्था राख्ने मानिसहरू त झन ग्रहण लागेको बेला धार्मिक ग्रन्थमा उल्लेख गरेका गर्न नहुने कामहरू गर्नै डराउँछन् । यी विभिन्न ग्रहण हटाउनका लागि विभिन्न देशका मानिसहरूको आफ्नै आफ्नै प्रचलन रहेका छन् ।

कतिपय देशमा काल्पनिक राक्षसलाई जलाउन आगो बाली उक्त आगोको वरिपरि नाच्ने चलन छ । हिन्दु धर्ममा पनि ग्रहण लाग्नुभन्दा पहिले घरलाई गाईको गोबरले घेरा हाल्नुपर्ने मान्यता रहेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा यही ग्रहणलाई लिएर विभिन्न अफवाह फैलाइरहेका हुन्छन् । जसले गर्दा त्यहाँ उल्लेख गरिएका राशिका मानिसहरू समाचारमा भने अनुरूपकै काम गर्छन् । जसले गर्दा मानिसहरू झनै डराइरहेका हुन्छन् ।

ग्रहणको समयमा बाहिर निस्किँदा दुर्घटना हुने, परिवारमा झैझगडा हुने, सम्पत्ति गुम्ने जस्ता कुराको भविष्यवाणी गरिएको हुन्छ । यही नहोस् भन्ने चाहेर मानिसहरू व्रत बस्ने, पूजा पाठ गर्ने, बाहिर ननिस्किने, गोबरले घर घेराउ गर्ने गर्छन् । यही डरले पनि विगतदेखि यी अन्धविश्वासले मान्यता पाएका छन् । ग्रहणको समयमा बाहिर निस्किन नहुने मान्यता बढी प्रचलित छ ।

विशेषगरी गर्भवती महिलालाई बाहिर ननिस्किनु भनिएको छ । ग्रहणको समयमा सूर्यबाट हानिकारक किरण आउने भएकाले बाहिर ननिस्कने वा नाङ्गो आँखाले हेर्न नहुने भनिएको पाइन्छ । विभिन्न वैज्ञानिक तथ्यलाई आधार मान्ने हो भने पृथ्वीले सूर्यको प्रकाश छेक्दा वा चन्द्रमाले सूर्यको प्रकाश छेक्दा त्यसको रेडियसनमा कुनै बदलाब आउँदैन ।

ग्रहणको समयमा हानिकारक रेडियसन उत्सर्जन हुन्छन् भन्ने मान्यता गलत हो । ग्रहण लागेको समयमा खाना नखाने भन्ने पनि हुँदैन । नयाँ काम गर्नका लागि वा नयाँ लुगा लगाउनका लागि पनि ग्रहणले केही रोक लगाउँदैन । ग्रहण लागेको बेला होस् वा नलागेको बेला होस्, सूर्यमा सोझै हेर्नु हाम्रो आखाका लागि हानिकारक हुन्छ । यसमा विद्यार्थीकालमै प्रायजसोले एक्सपेरिमेन्ट गरिरहेका छन्, जसमा सूर्यको प्रकाशमा एउटा लेन्सलाई राखिन्छ ।

त्यसो गर्दा सूर्यको प्रकाश एउटै विन्दुमा ठोकिन पुग्छ, जसले गर्दा लेन्सको पछाडि राखिएको कागज वा अन्य वस्तु जल्छ । यही विज्ञान हाम्रो आँखामा पनि लागू हुन्छ । हाम्रो आँखामा पनि त्यस्तै लेन्स हुन्छ । हामीले नाङ्गो आँखाले सूर्यतर्फ हेर्‍यौँ भने त्यसबाट आएको अल्ट्राभाइलेट किरण हाम्रो आँखाको लेन्समा पर्छ र उक्त किरण कन्भर्ज (एकै ठाउँमा ठोक्किनु) हुन्छ । जसले हाम्रो आँखाको रेटिनालाई खराब पार्छ । यसलाई वैज्ञानिक भाषामा सोलार रेटिनोप्याथी भन्ने गरिन्छ ।

त्यसैले ग्रहण लागेको समयमा सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने मान्यता सधैँ लागू हुन्छ । अन्य समयभन्दा ग्रहण लागेको समयमा सूर्यमा देखिएको अनौठो बदलाव हेर्न बढी मानिसहरू नाङ्गो आँखाले हेर्न सक्छन् । त्यसैले ग्रहण लागेको समयमा सूर्यलाई नाङ्गो आँखाले नहेर्नु भन्ने मान्यता रहेको हुन सक्छ । ग्रहणका समयमा सूर्यलाई हेर्न विभिन्न उपकरणले हेर्न सकिन्छ ।

यो ग्रहणका बेला मात्र लागू हुन्छ भन्ने हुँदैन । सूर्यको चम्किलो किरण पृथ्वीमा परेको बेला यिनै उपकरणको प्रयोग गरी हेर्न सकिन्छ । त्यसैले सूर्य ग्रहणलाई हेर्न विभिन्न उपकरण तयार पारिएका छन् । सोलार फिल्टर (एक्लिप्स ग्लासेस), सोलार फिल्टर प्रयोग भएको टेलिस्कोप, विशेष मान्यता प्राप्त वेल्डिङ ग्लासेस आदिबाट सूर्य ग्रहण हेर्न सकिन्छ ।

त्यस्तै सूर्य ग्रहण हेर्ने अर्को तरिका पनि छ । त्यो हो पिनहोल प्रोजेक्सन । कुनै पनि रूखको छायामा जानुहोस् । त्यहाँ रूखको पातबाट सानोसानो पिनहोल तयार हुन्छ । र छायाबाट नै सूर्य ग्रहण लागेको हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १९:२०