close

युरोपमा २०३५ देखि इन्धनयुक्त गाडी नचल्ने, पारित भयो नीति

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ १३:५५

युरोपमा २०३५ देखि इन्धनयुक्त गाडी नचल्ने, पारित भयो नीति

काठमाडौं । सन् २०३५ बाट इन्धनयुक्त गाडीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने युरोपेली युनियन (ईयू)को नीति सर्वसम्मत पारित भएको छ । जलवायु परिवर्तनसँग लड्नका लागि पेट्रोल र डिजेलबाट चल्ने गाडी २०३५ बाट प्रतिबन्ध लगाउनुपर्ने र विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा अघि बढाउन युरोपेली युनियनका देशहरू सहमत भएका छन् ।

अबको १३ वर्षभित्र शुन्य कार्बनडाइअक्साइड उत्सर्जन हासिल गर्न ईयूका देशहरू, युरोपेली सांसदबाट कानुन अनुमोदन भएको थियो । जसमा कानूनको मस्यौदा तयार गर्ने युरोपेली आयोग र कार निर्माता कम्पनीहरू उक्त नीतिमा सहमत भएका हुन् । जसले गर्दा २७ ओटा युरोपेली युनियनका देशमा इन्धनयुक्त सवारी बिक्री गर्न सम्भव हुने छैन ।

"सवारी चालकहरूका लागि यो सम्झौता खुसीको खबर हो," युराेपेली संसदका प्रमुख वार्ताकार जन हुइटेमाले भने, "नयाँ शुन्य उत्सर्जन कारहरू सस्तो हुनुका साथै सबैका लागि थप पहुँचयोग्य बनाइनेछ ।"

ईयूका जलवायू नीति प्रमुख फ्रान्स टिम्मेमान्सले उक्त सम्झैताले उद्योग तथा उपभोक्तालाई राम्रो संकेत दिएको छ ।

उक्त सम्झौतामा सन् २०३० बाट बिक्री हुने २०२१ लेभलका कारमा ५५ प्रतिशत कार्बनडाइअक्साइड उत्सर्जन कटौती गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै सन् २०३५ बाट बिक्री हुने सवारीमा शतप्रतिशत कार्बनडाइअक्साइड उत्सर्जन कटौती गर्नुपर्ने बताइएको छ ।

नियामकहरूले कार निर्माता कम्पनीहरूलाई आफ्नो कार्बन फुटप्रिन्ट रोक्न दबाब बढाइ रहेका छन्, जसले गर्दा थुप्रै लगानीकर्ताले विद्युतीकरणमा लगानी गर्न सुरु गरेका छन् ।

चर्चित कार निर्माता कम्पनी फक्सवागनका प्रमुख थोमस शेफरले आफ्नो कम्पनीले युरोपमा २०३३ बाट विद्युतीय कार मात्र निर्माण गर्ने बताएका छन् । जुलाई २०२१ बाटै युरोपेली कार उद्योग संघ (एसीईए)ले कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी अति कम मात्रामा उत्सर्जन हुने इन्जिन तथा हाइड्रोजन सवारीलाई प्रोत्साहन गर्न प्रस्ताव गर्दै आएको थियो । 


 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १४:२४