close

फेसबुकले हटायो चर्चित ग्रुप 'एमआरआर'

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १०:४७

फेसबुकले हटायो चर्चित ग्रुप 'एमआरआर'

काठमाडौं । युवा पुस्तामा लोकप्रिय बनेको फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले 'कम्युनिटी गाइडलाइन्स' उलङ्घन गरेको भन्दै उक्त ग्रुप हटाएको हो ।

चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । याेसँगै मेटाले यस्ता पेज तथा ग्रुपहरूमा निगरानी गरिरहेकाे छ ।

केही साताअघि मात्र मेटाका कर्मचारीले निर्वाचनलाई​ लक्षित गर्दै सञ्चारमाध्यमका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । यसपछि मेटाले 'कम्युनिटी गाइडलाइन्स' अत्याधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पाेस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ ।

पछिल्लो समय उक्त ग्रपमा 'नो, नट अगेन' सम्बन्धी पोस्ट हुन थालेपछि फेसबुकले उक्त ग्रुप हटाएको अनुमान गरिएको छ । याे फेसबुक ग्रुप २०२० मा पनि कारबाहीमा परेको थियो ।

युवाको बाक्लो जमात भएको एमआरआर ग्रुप मनोरञ्जन, सामाजिक कार्यमा संलग्न थियो । चुनाव नजिकिएसँगै याे ग्रुपमा पछिल्लो समय राजनीतिक विषयमा पाेस्ट र अन्तर्क्रिया हुँदै आएको थियो । कुन पोस्टले 'फेसबुक गाइडलाइन्स' उलङ्घन गरेको भन्ने नखुले पनि 'नो नट अगेन'सँग सम्बन्धित पोस्टले गर्दा नै ग्रुप निष्कृय बनेको आशंका गरिएको छ ।

एमआरआरका एड्मिनहरूले उक्त ग्रुप फिर्ता ल्याउने प्रयास गरिरहेकाे बुझिएकाे छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १०:४९