close

वस्तुभाउ खरिद-बिक्री गर्न सघाउने नेपाली एप 'पशु बजार'

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक १४, २०७९ १५:४१

वस्तुभाउ खरिद-बिक्री गर्न सघाउने नेपाली एप 'पशु बजार'

काठमाडौं । घरमा भएका वस्तुभाउ खरिद वा बिक्री गर्नुपर्‍यो भने के गर्नुहुन्छ ? सायद कोही एजेन्ट (मध्यस्थकर्ता) को सहयोग लिनुहुन्छ होला । अझै पनि देशका प्रायः भागमा एजेन्ट लगाएर गाईवस्तु बिक्री गर्ने प्रचलन छ । यसो गर्दा बीचमा बसेर कुरा मिलाउने वा बिक्रेता र क्रेता भेटाइदिने व्यक्तिले मोटो रकम कमिसनका रूपमा पाइरहेको हुन्छन् ।

यसबाट बिक्री गर्ने र खरिद गर्नेलाई कुनै न कुनै रूपमा मार परिरहेको हुन्छ । त्यस्तै आफूले चिनेका वा गाउँघरमा भएका एजेन्टसँग हामीलाई आवश्यक परेको वस्तुभाउ नहुन सक्छ । त्यस्तो अवस्थामा गाउँ डुलेर वस्तुभाउ खोज्नुपर्ने हुन्छ ।

बिक्री गर्दा पनि त्यस्तै समस्या आइलाग्छ । यही समस्यालाई न्यूनीकरण गर्न झापाका नवीन अधिकारीले 'पशु बजार' एप ल्याएका छन् ।

पाँच वर्षअघि अध्ययनको सिलसिलामा अष्ट्रेलिया पुएका अधिकारीलाई यस वर्ष घर फर्किँदा याे एपको आइडिया आयाे ।

"दशैँअघि घर गएको थिएँ," उनी भन्छन्, "गाउँ जाँदा एउटै गाई बेच्दा ४/५ हजार कमिसन तिर्नुपरेकाे कुरा सुनेँ । त्यसपछि नै 'पशु बजार' एप बनाउन सुरु गरेँ ।"

यस एपमा आफूसँग भएका कुनै पनि वस्तुभाउ (गाई, भैंसी, बाख्रा, खसी, बोका आदि) बिक्रीका लागि राख्न सकिन्छ । त्यस्तै यस्ता वस्तुभाउ आवश्यक परेका व्यक्तिले उक्त एपबाट बिक्रेता पहिचान गरी उसँग सोझै कुरा गर्न सक्छन् ।

यस एपमा विशेषगरी पशु एड गर्ने, पशु सर्च गर्ने, पोस्टमा कमेन्ट गर्नसक्ने, आफूलाई आवश्यक हुने पशुको विवरण सेभ गर्न र बिक्रेतासँग सोझै कुराकानी गर्न सकिने सुविधा रहेकाे अधिकारी सुनाउँछन् । यसमा आफूले बिक्री गर्न चाहेको पशुको विभिन्न विवरण जस्तै त्यसको कलर, तौल, उचाइ, गाई भैंसी भएको अवस्थामा दुधको मात्रा, पशु भएको ठाउँको विवरण समावेश गर्नुपर्ने हुन्छ ।

बिक्रेताले राखेको विवरण खरिद गर्ने व्यक्तिले एपबाट देख्छन् र आफूलाई आवश्यक परेको पशु खरिद गर्नसक्छन् । त्यस्तै खरिदकर्ताले एप खोल्नासाथ त्यसको होम पेजमा विभिन्न पशुको आइकन देख्नसक्छन् ।

आफूलाई आवश्यक परेको पशुको आइकनमा ट्याप गरी बिक्रीका लागि राखिएका पशु देख्न सकिनेछ । त्यसबाट आफूलाई इच्छा भएको पशु, बिक्रेतालाई सम्पर्क गरी खरिद गर्न सकिनेछ । गाईवस्तु भएका प्रायः मानिसहरूसँग एन्ड्रोइड फोन हुने भएकाले हाललाई एन्ड्रोइड एपमात्र बनाएको उनकाे भनाइ छ ।

एप फ्लटरमा आधारित भएकाले आवश्यक परेको खण्डमा आईओएस भर्सनमा पनि ल्याउन सकिने उनले बताए ।

''किसानमा केन्द्रित एप भएकाले उनीहरूबाट कुनै शुल्क लिने योजना छैन  बनाएका छैनन् । पशुसँग सम्बन्धित विज्ञापनबाट आम्दानी गर्ने साेच छ,'' उनले टेकपानासँग भने ।

"अहिले हामीले गाई, भैँसी, खसी बाख्रा, सुँगुर कुखुरा आदिको लिस्ट मात्र तयार पारेका छौँ । आवश्यकता र माग अनुसार पशुको लिस्ट थप्दै जानेछु," उनले थपे ।

एक्लै यो एप तयार पारेका अधिकारी व्यावसायिक तवरबाट कसरी अघि बढ्न सकिन्छ भन्ने विषयबारे थप अध्ययन गरिरहेकाे सुनाउँछन् ।

"गाउँ जाँदा फुरेको आइडिया हो यो," उनले भने, "पछिका दिनमा केही लिमिटेड फिचर प्रयोग गर्न पाउने सुविधा आउँछ होला । तर, किसानका लागि भने यो सधैँ निःशुल्क नै हुनेछ ।"

हाल याे एपका ५०० भन्दा बढी प्रयाेगकर्ता छन् भने ५० भन्दा बढी पशु बिक्रीका लागि राखिएको उनले जानकारी दिए ।

यसमा देशभरको जुनसुकै क्षेत्रबाट पशु बिक्रीका लागि राख्न सकिने भएकाले प्रयोगकर्ता बढ्दै जाने अपेक्षा उनकाे छ ।

अहिलेलाई पशु बजार एप एन्ड्रोइड प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एप डाउनलोड गरिसकेपछि आफ्नो नाम, ठेगाना तथा अन्य आवश्यक विवरण राख्नुहोस् । त्यसपछि तपाईँलाई एपमा एक्सेस मिल्नेछ । एपमा एक्सेस पाइसकेपछि पशु खरिद वा बिक्री गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १२:४१