close

भारतले ल्यायो आफ्नै डिजिटल करेन्सी 'ई-रुपी', कसरी गर्छ काम ?

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १६:४६

भारतले ल्यायो आफ्नै डिजिटल करेन्सी 'ई-रुपी', कसरी गर्छ काम ?

काठमाडौं । छिमेकी देश भारतले आफ्नै डिजिटल मुद्रा 'ई-रुपी' को सुरुवात गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै भारतीय रिजर्भ बैंकले देशको आफ्नै डिजिटल मुद्राको परीक्षण परियोजना सुरु गरेको हो । यसलाई डिजिटल मुद्रामा भारतको पहिलो प्रयासका रूपमा हेरिएकाे छ ।

बितेका केही वर्षमा विभिन्न देशका केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रामा काम गरिरहेका छन् । डिजिटल मुद्राको सम्भाव्यताको अनुसन्धान तथा यसको अभ्यासलाई लिएर अध्ययनहरू भइरहेकाे छ । यसैबीच भारतले  पनि आफ्नो पहिलो डिजिटल मुद्रा परीक्षण कार्यक्रमलाई अगाडि बढाएको हो ।

ई-रुपी पहिले नै प्रयोगमा रहेको भारतीय रुपैयाँको डिजिटल रूप हुनेछ । भारतको केन्द्रीय बैंकले यही अक्टोबर महिनामा एक रिपोर्ट जारी गर्दै ई-रुपी सार्वजनिक गर्नुपछाडिको उद्देश्य, यसको डिजाइन र प्राविधिक पक्ष, साथै भारतको मौद्रिक लेनदेनमा यसको प्रभाव लगायतका विषय उल्लेख गरेको थियो ।

ई-रुपीको यो परीक्षण कार्यक्रमले अन्य देशका सबै प्रकारका आय स्तर, साक्षरता स्तर, क्षेत्र, लिङ्ग वा उमेर समूहका प्रयोगकर्ताको अध्ययन गर्न पनि सहज हुने विश्वास लिइएकाे छ । 

के हो ई-रुपी र कसरी गर्छ काम ?

केन्द्रीय बैंकको योजनाअनुसार भारतमा दुई प्रकारको ई-रुपी प्रयोगमा आउनेछ । पहिलो 'होलसेल ई-रुपी' जुन अन्तरबैंकिङ कारोबारको लागि प्रयोग हुनेछ भने अर्को 'रिटेल ई-रुपी' आमसर्वसाधारणले प्रयोग गर्नेछन् ।

हाल भारतले होलसेल ई-रुपीको पाइलट प्रोजेक्ट सुरु गरेको छ । आफ्नो सम्बन्धित बैंक अथवा सेवा प्रदायकको वालेट प्रयोग गरेर प्रयोगकर्ताले रिटेल ई-रुपी प्रयोग गर्न सक्नेछन् ।

रिटेल ई-रुपी आममानिस लगायत सबै प्रकारका निजी क्षेत्र, व्यवसाय तथा उपभोक्ताले प्रयोग गर्न सक्नेछन् । त्यस्तै होलसेल ई-रुपी भने अन्तरबैंक कारोबारको लागि प्रयोग हुनेछ । भौतिक मुद्राजस्तै ई-रुपी पनि केन्द्रीय बैंकले जारी गर्नेछ र अन्य वाणिज्य बैंकले वितरण गर्नेछन् ।

सन् २०२३ सम्ममा पूर्ण रुपमा डिजिटल मुद्रा लागू गर्ने भारत सरकारको योजना छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १६:५०