close

सीजीले ल्यायो विद्युतीय माइक्रोबस, सिङ्गल चार्जमा ३०० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १६:५५

सीजीले ल्यायो विद्युतीय माइक्रोबस, सिङ्गल चार्जमा ३०० किमिसम्म गुड्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा पहिलाे पटक विद्युतीय माइक्राेबस भित्र्याएको छ । ‘नेटा भी’ कारमार्फत विद्युतीय सवारी व्यवसायमा प्रवेश गरेको सीजीले लाइट कमर्सियल सेगमेन्टमा माइक्रोबस ल्याएको हो । यसअघि कम्पनीले दुई पाङ्ग्रे सवारीमा भारतीय ब्राण्ड ओलाको स्कुटर नेपाल ल्याइसकेकाे छ ।

सीजीले चिनियाँ अटो कम्पनी चोङकिङ चांगन क्वाय (केवासी) को चांगन भी५ मोडल नेपाली बजारमा ल्याएकाे हाे । यो माइक्रोबसले फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीकाे दाबी छ । यसमा ४१.८६ किलोवाट आवर क्षमताको ब्याट्री दिइएकाे छ । यो ब्याट्री चिनियाँ ब्याट्री निर्माता सीएटीएलले तयार पारेको हो ।

माइक्रोबसमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर रहेको छ । स्ट्यान्डर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको चार्जर भएपनि कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर पनि उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार यो गाडी एसी चार्जरमार्फत चार्ज गर्दा ८.५ घण्टा र डीसी चार्जरमार्फत फास्ट चार्जरबाट १.५ घण्टामा फुल चार्ज हुन्छ । अधिकतम १०० किलोमिटर प्रतिघन्टाको स्पीड प्रदान गर्ने गाडीमा ११ जना यात्रु आरामदायी रुपमा यात्रा गर्नसक्ने कम्पनीले जनाएको छ ।

१७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको माइक्रोबस सिल्भर, ह्वाइट र ह्वाइट एन्ड गोल्ड गरी तीन फरक कलर भेरियन्टमा उपलब्ध छ । यसको बजार मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार यो माइक्रोबसको खरिदमा ग्राहकले एक वर्षको बीमा र एक वर्षको वार्षिक कर कम्पनीको तर्फबाटै प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १६:५५