close

शैक्षिक प्रविधिले विद्यार्थीको सिकाइमा कस्ताे प्रभाव पार्छ ?

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ १४:२९

शैक्षिक प्रविधिले विद्यार्थीको सिकाइमा कस्ताे प्रभाव पार्छ ?

काठमाडाैं । शिक्षा क्षेत्रमा प्रविधि एक अभिन्न अङ्ग बनिसकेको छ । डेभलपर तथा सफ्टवेयर इन्जिनियरहरूले शिक्षा क्षेत्रमा आवश्यक पर्ने विभिन्न उपकरण र प्लेटफर्महरू बनाइरहेका छन् । 

विद्यार्थीहरू प्रविधिबाट धेरै नै प्रभावित हुने गरेका छन् । यसकाे प्रयाेगले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव देखिन समेत थालेकाे छ ।

शिक्षा क्षेत्रमा प्रविधिकाे प्रयाेग झन् दिनानुदिन बढिरहेकाे छ । यस कारण शिक्षा क्षेत्रमा प्रविधिकाे प्रयाेग भइरहँदा कस्ता विद्यार्थी उत्पादन हुन्छन् भन्ने बहस पनि सुरु हुन थालेकाे छ ।

शिक्षा क्षेत्रमा प्रयाेग हुने विभिन्न प्रविधिलाई समग्रमा ‘एडटेक’ भन्ने गरिन्छ । यसकाे प्रयाेग कक्षा काेठामा पढाइकाे गुणस्तर बढाउने, विद्यार्थीकाे सिकाइमा मद्दत गर्ने लगायतका विभिन्न प्रयाेजनका लागि हुने गरेको छ । धेरै विद्यार्थीको सिकाइ आवश्यकताहरू पूरा गर्न एडटेककाे प्रयोग गर्न सकिन्छ ।

शिक्षा क्षेत्रमा प्रविधिकाे प्रयाेगले विद्यार्थीको जीवनमा नाटकीय प्रभाव पार्ने गर्छ । जुन उनीहरूमा जीवनभर रहिरहन्छ । 

विद्यार्थीकाे पढाइमा सहयाेग पुर्‍याउने थुप्रै एप तथा वेवसाइटहरू उपलब्ध छन् । जस मध्ये एउटा एप हाे, पेडागोजी

भलै याे नेपालमा त्यति लाेकप्रिय छैन । तर याे शैक्षिक क्षेत्रमा निकै उपयाेगी हुने एप हाे ।

जसरी हामी सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम प्रयाेग गर्छाैं, त्यस्तै याे पनि शिक्षा क्षेत्रमा संलग्नहरूका लागि एक शैक्षिक सामाजिक सञ्जाल हाे । 

नेपालमा पनि शिक्षा क्षेत्रमा सहयाेग पुर्‍याउने स्थानीय विभिन्न एप तथा वेबसाइटहरू आएका छन् । उदाहरणका लागि ओएलई नेपालले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराउन ई-पुस्तकालय संचालन गरिरहेकाे छ ।

त्यस्तै कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूका लागि अध्ययन सामग्री उपलब्ध गराउने उद्देश्यका साथमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन लर्निङ पोर्टल तयार पारेकाे छ । 

यस बाहेक अनलाइनबाट विद्यार्थीहरूकाे पढाइमा मद्दत पुर्‍याउने हेतुले निमा एकाडेमी, स्मार्टर, मेराे स्कुल, माइ सेकेन्ड टिचर जस्ता प्लेटफर्महरू पनि संचालनमा छन् । ​एडटेककाे प्रयाेगले विद्यार्थीकाे पढाइमा सहयाेग पुर्‍याउनुका साथै विद्यालय व्यवस्थापनमा पनि मद्दत गर्ने गरेकाे छ ।

नेपालमा पनि केही विद्यालयहरूले प्रविधिकाे प्रयाेग गरेर विद्यालय व्यावस्थापन गरिरहेका छन् । विद्यालयहरूमा जति जति प्रविधिकाे प्रयाेग बढ्दै जान्छ, त्यति नै मात्रामा विद्यार्थीहरू यसमा अभ्यस्त हुँदै जान्छन् ।

यसकाे पछिल्लाे उदाहरण भनेकाे काेराेना महामारीकाे समयमा भएकाे अनलाइन पढाइ हाे । अनलाइनबाट पढाइ हुन सुरु भएकाे बेलामा धेरैलाई के याे पनि सम्भव छ र भन्ने लागेको थियो ।

तर आज अनलाइनबाट पढाउने कुरा सामान्य बनिसकेको छ । यसै विषयमा हालै भएकाे एक अध्ययनमा ८८ प्रतिशत विद्यार्थीहरूले नयाँ एडटेकसँग अभ्यस्त भएकाे बताएका छन् ।

उक्त अध्ययन  वेस्टर्न गभर्नर युनिभर्सिटी ल्याब्स (डब्लूजीयू) अन्तर्गत रहेकाे कलेज इनोभेसन नेटवर्कले गरेकाे हाे । काेराेना महामारीका कारण विद्यालय बन्द भएकाे अवस्था थियाे ।

त्यसैले उक्त अध्ययनमा सहभागी भएका ६ भिन्न कलेज र विश्वविद्यालयका कूल १४०२ विद्यार्थीहरू मध्ये एक तिहाइले काेराेना महामारी पछि प्रयाेग गरिएका अधिकांश एडटेक नयाँ भएकाे बताएका छन् । 

उक्त अध्ययनमा सहभागी २३ प्रतिशत विद्यार्थीहरूले एडटेकले आफ्नाे पढाइ सुधार गरेका बताएका छन् । त्यस्तै उनीहरू मध्ये ६६ प्रतिशतले अनलाइन काेर्ष र पढाइलाई  सकारात्मक रुपमा लिएका छन् ।

तर अनलाइनमा हुने पढाइ भाैतिक उपस्थितिमा जस्ताे प्रभावकारी नहुने बताउँदै २० प्रतिशतले नराम्राे महशुस गरेकाे बताएका छन् । समग्रमा अध्ययनले एडटेककाे प्रयाेग सकारात्मक र नकारात्मक दुवै खाले रहेकाे देखाएकाे डब्लूजीयू ल्याबकाे लर्निङ इनाेभेसनका निर्देशक ओमिद फोतुहीले बताएका छन् ।

यद्यपि उनका अनुसार यो अध्ययनले एडटेककाे प्रयाेग सकारात्मक तरिकाले वृद्धि भइरहेकाे देखाएकाे छ । ​याे आधुनिक समयमा शिक्षा क्षेत्रमा प्रविधिकाे प्रयाेग अपरिहार्य छ ।

यसले विद्यार्थीहरूकाे समय र शक्ति दुवै बचत गर्न सक्छ । तर अझै पनि एडटेकबाट पूर्ण रूपमा विद्यार्थीहरू सन्तुष्ट नरहेकाे विभिन्न अध्ययनले देखाएकाे छ ।

एडटेकका नाममा ल्यापटप तथा माेबाइल फाेनबाट अनावश्यक सामग्रीहरू हेर्ने, भिडिओ गेम खेल्‍ने, व्यवहारिक ज्ञान दिन भन्दै संचालन गरिएका कम्प्युटर ल्याबहरूमा टाइपिङ जस्ता आधारभूत कुराहरू सिकाउने मै सीमित गर्नाले नतिजा उही देखिन्छ । ​

यस कारण एडटेककाे सही उपयाेग गर्न आवश्यक रहेकाे छ । यसले मात्र एडटेकबाट विद्यार्थीहरूले पूर्ण रूपमा फाइदा लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ १४:३०