close

विज्ञापन बजार गुमाउँदै फेसबुक

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ ८:५८

विज्ञापन बजार गुमाउँदै फेसबुक

काठमाडाैं । फेसबुकको मुख्य कम्पनी मेटाकाे सन् २०२२ काे चौथो त्रैमासिकको आम्दानी विश्लेषकहरूको अनुमान अनुसार नै देखिएको छ । मेटाले याे वर्षकाे अन्तिम त्रैमासमा ३० अर्बदेखि ३२.५ अर्ब अमेरिकी डलर आम्दानी हुने अनुमान गरेकाे छ । यसअघि विश्लेषकहरुले ३२.४ अर्ब डलर आम्दानीकाे अपेक्षा गरेका थिए ।

मेटाकाे आम्दानीकाे मुख्य स्राेत विज्ञापन हाे । तर आर्थिक मन्दी र हालै परिवर्तन भएकाे एप्पलको गोपनीयता नियमहरूले विज्ञापनमा कम खर्च हुने देखिएकाे छ, जसले गर्दा मेटाकाे व्यापारमा प्रत्यक्ष असर पुग्नेछ । 

मेटाले अहिले कर्मचारी नियुक्तिमा कटाैती गर्दै आफ्ना सामाजिक सञ्जालहरुलाई प्रभावकारी बनाउन र भर्चुअल दुनियाँमा सफलता हात पार्न विशेष कुरालाई मात्र प्राथमिकता दिइरहेकाे छ ।

आम्दानीमा गिरावट भएपनि कम्पनीकाे हितका लागि सञ्चालन बोर्डमा महत्त्वपूर्ण परिवर्तनहरू गरिरहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताएका छन् । त्यस्तै कम्पनी सञ्चालनका खर्चहरुमा विशेष ध्यान दिइरहेकाे पनि उनले बताएका छन् ।

याे वर्ष मेटाले आफ्नाे व्यापारकाे माेडेलमा केही परिवर्तन गरेकाे छ । चिनियाँ कम्पनी बाइटडान्सकाे लाेकप्रिय टिकटक एपले धेरै प्रयाेगकर्ताकाे समय तानेसँगै मेटाले पनि फेसबुक र इन्स्टाग्राममा रिल्स थपेकाे छ ।

यसकाे प्रयाेगले प्रयाेगकर्ताकाे संलग्नता र आम्दानी बढ्ने कम्पनीकाे दाबी छ । एक वर्ष पहिले नाम परिवर्तन गर्दै फेसबुकबाट मेटा राखेकाे कम्पनीले भर्चुअल रियालिटी, मेटाभर्सका लागि पनि निकै ठूलाे रकम खर्च गरिरहेकाे छ ।

सीईओ जुकरबर्गका अनुसार मेटाभर्स ‘काम र सञ्चार’को भविष्य हुनेछ । मेटाभर्सकाे यथार्थका लागि कम्पनीले आउँदाे वर्ष पनि अर्बाैं खर्च गर्ने देखिएकाे छ ।

मेटाले चौथो त्रैमासिककाे आम्दानी अनुमान गर्दै यस वर्षमा ८५ देखि ८७ अर्ब अमेरिकी डलर खर्च हुने अपेक्षा गरेको छ । सन् २०२३ का लागि भने ९६ देखि १०१ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान रहेकाे पनि मेटाले उल्लेख गरेकाे छ ।

मेटाभर्सलाई यथार्थमा परिणत गर्न कम्पनीले विज्ञापनबाट संकलन हुने आम्दानीकाे मात्रा बढाउन आवश्यक रहेकाे छ । याे वर्षकाे तेस्राे चाैमासिकमा मेटाका विभिन्न प्लेटफर्महरुमा गत वर्षकाे साेही अवधिकाे तुलनामा चार प्रतिशतले वृद्धि भएकाे कम्पनीले बताएकाे छ । त्यस्तै कम्पनीका  अनुसार ती प्लेटफर्ममा दैनिक दुई अर्ब ९३ कराेड बढी दैनिक सक्रिय प्रयोगकर्ता छन् । 

हाल धेरै लगानीकर्ताहरु मेटाभर्स सफल हुन्छ वा हुँदैन भन्नेमा अन्याेलमा रहेका छन् । साथै उनीहरुले लामाे समयकाे प्रतीक्षा गरेर आउने प्रतिफल नचाहेकाे अवस्था देखिएकाे छ । केही समयअघि अल्टिमिटरको क्यापिटल सीईओ ब्राड गर्स्टनरले मार्क जुकरबर्गलाई यस विषयमा एक पत्र पठाएका थिए ।

पत्रमा उनले महत्वपूर्ण शेयरधनीहरु ल्याब परियाेजनाबाट खुसी नभएकाे बताएका छन् । साथै उनले पत्रमा उक्त परियोजनालाई ‘सिलिकन भ्यालीका मापदण्डभन्दा ठूलो र डरलाग्दो’ भनेका छन् ।

मेटाका लगानीकर्ताकाे सबैभन्दा ठूलाे चिन्ता भनेकाे शेयरकाे मूल्य ५५ प्रतिशतले तल झर्नु हाे । गर्स्टनरका अनुसार कमाइकाे संकेत २३ गुणाबाट १२ गुणामा झरेकाे छ । यसका साथै शेयर काराेबारमा पनि आधाभन्दा धरैले कमी भएकाे छ । 

शेयरको मूल्यमा आएको यो गिरावटले कम्पनीप्रतिको विश्वास घटेको गर्स्टनरले लेखेका छन् । मेटाकाे याे परिवर्तन सामान्य नरहेकाे पनि उनले बताएका छन् । त्यस्तै उनका अनुसार अहिलेको परिदृश्यले लगानीकर्तालाई मेटामा लगानी गर्नुअघि धेरै कुरा सोच्न बाध्य बनाएको छ ।

मेटाकाे व्यापार घटेसँगै जुकरबर्ग धनाढ्यहरुकाे सूचीबाट तल झरिरहेका छन् ।  सन् २०१५ पछि उनी अमेरिकाका १० धनी व्यक्तिहरुकाे सूचीमा परेका छैनन् । त्यस्तै सेप्टेम्बर २०२१ देखि उनले आफ्नो आधाभन्दा बढी सम्पत्ति गुमाइसकेका छन् ।

हाल उनी फोर्ब्सको ४०० अमेरिकी धनी व्यक्तिहरूको सूचीमा शीर्ष तीनबाट झरेर ११ नम्बरमा पुगेका छन् । उनकाे हाल कुल सम्पत्ती ७६.८ अर्ब अमेरिकी डलर छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ ९:१३