close

ट्वीटरमा ब्लु टिक भएका आईफोन प्रयोगकर्ताले अब प्रति महिना हजार रुपैयाँ तिर्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १४:२३

ट्वीटरमा ब्लु टिक भएका आईफोन प्रयोगकर्ताले अब प्रति महिना हजार रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । ट्वीटरमा ब्लु टिकका लागि मासिक ७.९९ डलर (करिब एक हजार ३० रुपैयाँ) तिर्नुपर्ने व्यवस्था केही देशका लागू भएको छ । आईओएसमा उपलब्ध ट्वीवटरको नयाँ अपडेटसँगै केही देशका प्रयोगकर्तामाझ यो व्यवस्था लागू भएको हो ।

शनिबारमात्रै ट्वीटरले आईओएसका लागि नयाँ अपडेट उपलब्ध गराएको छ । नयाँ अपडेटसँगै कम्पनीले ब्लु टिकका लागि करिब आठ डलर तिर्नुपर्ने व्यवस्था गरेको हो । ट्वीटरको नयाँ अपडेट अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्यूजिल्याण्ड जस्ता देशमा उपलब्ध भएको छ ।

''आजदेखि ट्वीटर ब्लुका लागि नयाँ फिचर थप गर्दैछौं । हामी अन्य फिचरहरू विस्तार गर्ने क्रममा छौं ।’’ उक्त अपडेटमा भनिएको छ । ब्लु टिक भएका प्रयोगकर्ताले बुझाएको मासिक शुल्कबाट ट्वीटरलाई बट (कम्प्युटरद्वारा तयार पारिएका प्रयोगकर्ता) सँग लड्न सहज हुने समेत जनाइएको छ ।

यसको सट्टा ब्लु टिक भएका प्रयोगकर्ताले पहिलेको तुलनामा उनीहरूको फिडमा आधा मात्र विज्ञापन देखिने बताइएको छ । गत साता टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्वीटरमा ब्लु टिकका लागि सशुल्क मोडालिटी ल्याउने घोषणा गरेपछि यो विषयले चर्चा पाएको थियो ।

यो व्यवस्था चाँडै एन्ड्रोइडमा समेत लागू हुने जनाइएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १४:२६