close

आईफोन १४ प्रो र प्रो म्याक्स खरिद गर्न चाहने ग्राहकले लामो समय कुर्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १०:३७

आईफोन १४ प्रो र प्रो म्याक्स खरिद गर्न चाहने ग्राहकले लामो समय कुर्नुपर्ने

काठमाडौं । वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएको छ । तैपनि यदि तपाईँ अन्य कुनै माध्यमबाट आईफोन फोर्टिन प्रो वा फोर्टिन प्रो म्याक्स अर्डर गर्ने सोचमा हुनुहुन्छ भने लामो समय कुर्नुपर्ने भएको छ ।

एप्पलले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका कारण चीनको जङ्गजाउमा रहेको आईफोनको मुख्य फ्याक्ट्री प्रभावित बनेको र जसले गर्दा आईफोनको उत्पादन उल्लेख्य रूपमा कटौती हुन पुगेको बताएको छ । "हामीकहाँ आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्सका लागि एकदमै धेरै माग आइरहेको छ," एप्पलले भनेको छ, "यद्यपि अहिले हामी  आईफोन फोर्टिन प्रो र आईफोन फोर्टिन प्रो म्याक्सका लागि पहिला अपेक्षा गरेभन्दा एकदमै न्यून मात्रामा मात्रै शिपमेन्ट गर्न सकिरहेका छौँ । जसले गर्दा ग्राहकले आफ्नो नयाँ उत्पादनका लागि लामो समय कुर्नुपर्ने हुनसक्छ ।"

अक्टोबरमा रोयटर्सले कोभिड निषेधाज्ञाको प्रभाव स्वरूप चीनमा रहेको फ्याक्ट्री फक्सकन प्रभावित हुने र त्यसबाट आईफोनको उत्पादन कम्तिमा ३० प्रतिशतले घट्ने भन्दै एक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त फ्याक्ट्रीमा एप्पलले नयाँ आईफोन बनाउने गरेको छ । न्यू योर्क टाइम्सले फक्सकनका दुई लाख कामदारलाई कोरोना महामारीको समयमा बिल्डिङ भित्रै रहन बाध्य पारिएको उल्लेख गरेको छ ।

यद्यपि कम्पनीले यस अघि नै आफ्नो केही उत्पादन चीनबाट बाहिर स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ । साथै सेप्टेम्बरबाट आईफोन फोर्टिनको आधारभूत मोडलको उत्पादन भारत स्थित कारखानाबाट सुरु भइसकेको छ ।  

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ ११:२३