close

अनलाइन गेम खेल्नका लागि उपयुक्त टिभी

हरिजङ्ग थापा हरिजङ्ग थापा

कात्तिक २२, २०७९ १७:१०

काठमाडाैं । आज मैले टीसीएल ब्राण्डको सी७३५ (C735) ६५ इन्च क्यूएलईडी फोरके टेलिभिजनकाे कुरा गर्दैछु । यसलाई म जमाना अनुसारको साँच्चैको स्मार्ट टिभी भन्न रुचाउँछु । टेकपानाको कार्यालयमा यो टिभी आइसकेपछि मैले टिभीका विभिन्न फिचरहरुको प्रत्यक्ष अनुभव गरे ।

लुक्स हेर्ने हाे भने एकदमै युनिक छ । टेबलमा राख्नुभयो भने यो कम्प्युटरको मोनिटर जस्तो देखिन्छ । हुन त यसमा पनि अन्य टिभीको जस्तै दुई ओटा स्ट्याण्ड नै छन् । तर मिडल स्ट्याण्डसँगै त्यसलाई छोप्नका लागि कभर पनि दिइएकाले लुक्समा यो युनिक देखिएको हो ।

टिभीमा मेटालिक बडी छ । डिस्प्लेमा बेजल्स देखिँदैन । तौलको कुरा गर्ने हो भने करिब १८ केजी छ । वाल माउन्टको अप्सन पनि यसमा तपाईंले पाउनुहुन्छ । तर मलाई चाहिँ टेबलमा राख्दाको लुक्स नै बढी मन पर्‍यो ।

कनेक्टिभिटीका लागि यसमा ब्लुटुथ ५.० छ , जसबाट रिमोटसँगै अन्य डिभाइसहरु पनि कनेक्ट गर्न मिल्यो । ब्लुटुथ कनेक्सनका आधारमा रिमोटले काम गर्ने भएकाले टिभीतिर रिमोट फर्काइरहन जरुरी भएन । नजिकको अर्को कोठामा हुनुहुन्छ भने पनि रिमोट तपाईंको हातमा छ भने टिभी कन्ट्रोल गर्न सक्नुहुन्छ ।

यस्तै टिभीले २.४ र ५ गिगाहर्ज दुवै खालका वाई-फाई नेटवर्क सपोर्ट गर्छ । फाइभजी राउटर नजिकै छ भने त फाेरके भिडिओका लागि ल्याब केबल जोडिरहनु पनि पर्दैन । मैले वाई-फाई कनेक्सनबाटै हाई क्वालिटी भिडिओ हेर्दा बिना बफर मजासँग चलेको थियो ।

यसका लागि इन्टरनेट प्याकेज चाहिँ गतिलो हुनुपर्छ । यो टिभीको प्यानल VA अर्थात Vertical Alignment वाला छ । गेमिङका लागि त यो फाइदाजनक नै हो । तर टिभीमा मुभी हेरेर मजा लिने हो भने VA भन्दा IPS प्यानल ठीक हुन्छ ।

पोर्टहरुको कुरा गर्ने हो भने टीसीएलको यो टिभीमा दुईओटा यूएसबी पोर्ट छन्, जसमा हामीले पेनड्राइभ, माउस, किबोर्ड वा वेबक्यामजस्ता डिभाइसहरु जोड्न सक्छौं । एचडीएमआई पोर्ट भने चार ओटा छन् । HDMI 2.1 भएकाले त्यही अनुसारको स्तरीय केवल प्रयोग गर्ने हो भने फाेरके रेजाेलुसनमा १४४ हर्जसम्मको रिफ्रेस रेट पाउन सक्छौं ।

HDMI 2.1 सपोर्ट गर्ने भएपछि यो टिभीमा PlayStation 5 मज्जले चलाउन सकिन्छ । भन्नुको मतलब HDR 4K क्वालिटीमा गेम खेल्नका लागि पनि यो टिभी उपयुक्त छ । त्यसका लागि PS5 जोडेर Setting भित्रको Screen and Video मा गएपछि Screen Output मा 4K Resolution छान्न मिल्छ ।

यस्तै १४४ हर्जसम्मको भीआरआर अर्थात् Variable Refresh Rate लाई अन गर्ने अप्सन पनि छ । जसले गेमको रिफ्रेस रेट अनुसार  टिभीको रिफ्रेस रेट एडजस्ट गर्ने काम गर्छ । Advance Setting मार्फत Game Master मा गएर अरु पनि थप सेटिङहरु मिलाउन सकिन्छ ।

यसका लागि हामीले Gaming Console जोड्नुपर्ने हुन्छ। जसले तपाईंको गेमिङ अनुभवलाई उत्कृष्ट बनाउन मद्धत गर्नेछ । गेमहरु HDR 4K रेजाेलुसनमा हाइ रिफ्रेस रेटसहित खेल्न मिल्न भएकाले गेमिङ पारखीलाई यो टिभीले साँच्चै सन्तुष्ट बनाउँछ जस्तो मलाई लाग्छ । 

HDMI Ports हरुको क्षमता फरक-फरक छ । त्यसैले आवश्यकता अनुसार चेक गरेर प्रयोग गर्नुपर्ने हुन्छ । HDMI 4 चाहिँ eARC र ARC सहितको हो, जसले थुप्रै तारहरुको विस्थापन गरेर टिभीलाई स्मार्ट बनाउन सफल भएको छ ।

ARC अर्थात् Audio Return Channel सहितको एचडीएमआई भएकाले टिभीसँग साउन्डबार जोडेको खण्डमा एउटै रिमोटले भल्युम कन्ट्रोल गर्न सकिन्छ । eARC अर्थात Enhanced Audio Return Channel पनि यसैमा भएकाले  Dolby Atmos, DTS हाइ व्यान्डविथको स्तरीय अडियो ट्रान्सफर गर्ने सामर्थ्य राख्छ । यसका लागि Ultra High Speed HDMI Cable With Ethernet को आवश्यकता पर्छ ।

यस्तै LAN Port, Antena, AV port, Headphone सँगै Digital Audio Output Port पनि यसमा उपलब्ध छन् । टिभी किन्दा म्यानुअल, पावर केवल, रिमोट, ब्याट्री, AV Adapter केवलसँगै एउटा वेबक्याम पनि आउँदो रहेछ ।

वेबक्याममा चुम्बक भएकाले टिभीको मेटालिक बडीमा मजासँग अडिँदो रहेछ । यसको फाइदा भनेको भिडिओ कल गर्नका लागि ल्यापटप वा मोबाइल चलाइरहन परेन । मानिलिउँ स-परिवार टिभी हेरिरहनुभएको छ भने देश-विदेशमा रहेका आफन्तसँगै सबैजना बसेर कुराकानी गर्न सकियो ।

यति ठूलो टिभीको स्क्रिनमा टाढाको मान्छेलाई भिडिओमा लाइभ हेर्दा साँच्चै मजा आउँछ होला । यो टिभीको रिमोट लुक्सवाइज ठीकठाक देखिए पनि काम गर्ने तरिका चाहिँ मलाई निकै मन पर्‍यो । धेरै प्रयोग हुने नेटफ्लिक्स, प्राइम भिडिओ मात्रै नभएर युट्युबका लागि पनि यहाँ डेडिकेटेड बटन दिइएको छ ।

Hands Free Voice Control गर्नका लागि Google Assistant Icon सहितको बटन पनि रिमोटमा उपलब्ध छ । टिभीमै वेब ब्राउजिङ गर्नुभयो भने धेरै स्मार्ट टिभीमा स्क्रोल गर्दा गर्दा हैरान भइन्छ। यसमा Ok बटनलाई लङ प्रेस गर्ने हो सजिलै स्क्रोल गर्न सकिने फिचर पनि रहेछ ।

अब कुरा गरौं टिभीको युजर इन्टरफेसको । यो टिभीमा गुगल टिभी प्रि-इन्स्टल्ड छ। आफ्नो इमेल राखेर एउटा अकाउन्ट बनाएपछि गुगल टिभीका विविध फिचर उपयोग गर्न सकिन्छ । Home मै Netflix, Youtube, Prime Video सँगै इन्स्टल गरेका एपहरु देखिन्छन् । तलतिर स्क्रोल गर्ने हो भने प्लेटफर्मअनुसार रिकमेन्ड भिडिओहरु देखिन्छन् । 

त्योभन्दा तल ब्राउजिङ सेक्सन छ, जहाँ वेब ब्राउजरसँगै Insta, Facebook, Wikipedia, Yahoo, whatsapp ब्राउज गर्न डेडिकेटेड एप्लिकेसन छन् । यहाँबाट विकिपेडियामा केही कुरा खोज्न होस् वा फेसबुक इन्स्टा चलाउन वा ह्वाट्सएपमा च्याट गर्न अर्को डिभाइसको जरुरी पर्दैन । यस्तै एप्लिकेसन वा मुभीहरु खोज्न पनि गुगल टिभी भएकाले बहुतै सजिलो छ ।

आफ्नो आवश्यकता अनुसार एप्लिकेसनहरु इन्स्टल गरेर त्यसको मजा लिन सकिन्छ । सेटिङमा हेर्नुभयो भने Display and sound section धेरै नै महत्वपूर्ण छ । टिभीमा भएका थुप्रै विशेषता यहीँबाट थाहा पाउन सकिन्छ । स्मार्ट टिभी भएकाले पिक्चर र साउन्डका लागि intelligent setting भनेर देख्न सक्नुहुन्छ । त्यसभन्दा मुनि पिक्चर क्वालिटीलाई आफू अनुकूल बनाउने अनेकौं अप्सन छन् ।

vivid, low power, smart hdr, sports, movie, game भनेर छ ओटा त पिक्चर मोड नै छन् । कुन मोड के का लागि हो भनेर डिस्क्रिप्सन पनि यहाँ नै देखिन्छ । त्यसैले आफूले के हेर्न लागेको हो त्यही अनुसारको फिल दिन उपयुक्त मोड हामीले छान्न सक्छौं । त्यसले नपुगेको खण्डमा advance setting मा जानुभयो भने brightness setting vitra dynamic contrast, black stretch, dynamic brightness, micro contrast जस्ता विकल्प छन् ।

कलरभित्र डाइनामिक कलरसँगै आँखालाई हानी गर्ने ब्लु लाइट फिल्टर अन गर्ने फिचर पनि पाउन सकिन्छ । clarity भित्र digital noise reduction, noise reduction, gradation clear जस्ता अप्सन दिइएको छ, जसले भिडिओमा देखिने विभिन्न न्वाइजहरु कम गरेर भिडिओलाई स्तरीय देखाउने काम गर्छ । यस्तै मोसन क्लियारिटीको लागि पनि यहाँ अप्सन दिइएको छ । साथमा expert calibration भन्ने विकल्प पनि तपाईँले यो टिभीमा पाउन सक्नुहुन्छ ।

पिक्चर क्वालिटीलाई स्तरीय बनाउन यति धेरै सेटिङ हुनु यो टिभीको अर्को विशेषता हो । त्यस्तै अडियोलाई कस्टमाइज गर्ने पनि पर्याप्त अप्सन यहाँ उपलब्ध गराइएको छ। पिक्चरमा जस्तै अडियोमा पनि छ ओटा साउण्ड मोड दिइएको छ। Audio delay जस्तो युनिक अप्सन पनि यसमा दिइएको छ, जसले भिडिओ अनुसार अडियोलाई डिले गराइदिन सक्छ ।

त्यस्तै audio only mode अन गर्‍यो भने टिभीको स्क्रिन अफ भए पनि अडियो भने सुन्न सकिन्छ। अडियो क्वालिटी मलाई पर्फेक्ट नै लाग्यो। Dolby Atmos सँगै Onkyo Audio System भएकाले होला साउण्डबार बिना पनि अडियो स्तरिय नै सुनिँदो रहेछ ।

यो टिभी Android 11 मा आधारित छ, जसमा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज उपलब्ध छ । टिभीको रिमोटमा एउटा गार्ड आइकन देख्न सकिन्छ । जसबाट टिभीमा रहेका जंक फाइल वा एपहरुलाई सजिलै हटाउन सकिन्छ । यस्तै यसमा मल्टी भिजुअल अप्सन पनि छ । स्मार्ट टिभीमा यो नौलो कुरा त होइन, तर यो ‘वेल मेनेज्ड’ खालको छ ।

multi visual अप्सनमा जानुभयो भने tv app र mobile, tv/ multi mobiles वा multi mobile devices छान्न सकिन्छ, जसको हामीले आवश्यकता अनुसार उपयोग गर्न सक्छौं । 

TCL C735 QLED TV को विशेषतासँगै अब्बल पक्षबारे त मैले भनिहालेँ । कमजोर पक्ष खोतल्ने हो भने पहिलो कुरा नर्मल युजका लागि यो टिभी महँगो सावित हुनसक्छ । किन कि नेपाली बजारमा टिभीको मूल्य दुई लाख १० हजार ८९० रुपैँया तोकिएको छ । तर सीजी डिजिटलले विशेष अफर भनेर एक लाख ७५ हजार ९० रूपैँयामा यो टिभी बिक्री गरिरहेको छ ।

यही टिभी ५५ इन्चमा पनि उपलब्ध छ, जसको मूल्य एक लाख ३१ हजार रुपैँया राखिएको छ । गेम खेल्नेहरुका लागि त यो मूल्यलाई जस्टिफाइ गर्ने थुप्रै विशेषता छन् । तर फिल्मको मजा मात्र लिने हो भने यो मूल्यमा Viewing Angle राम्रो भएको टिभीहरु नै किन्नु उपयुक्त हुन्छ ।

दोस्राे, HDMI 2.1 Support भनेर निकै हाइलाइट गरिएको छ तर HDMI केबल दिन चाहिँ लोभ गरेको छ । तेस्राे, टिभीमा 330 nits को ब्राइटनेस मात्रै उपलब्ध छ । अलि उज्यालो कोठा वा घाम पर्ने ठाउँमा टिभी राख्नु भयो भने यो ब्राइटनेस कम फिल हुनसक्छ ।

यति धेरै कुरा दिइसकेपछि डिस्प्लेको ब्राइटनेस पनि अलि बढी नै हुनुपर्थ्यो जस्तो मलाई लाग्छ। चौथो, रिमोट फङ्सन वाइज त ठीक छ, तर बनौट चाहिँ अझै स्मार्ट हुन सक्थ्यो होला । पाँचौ अनि अन्तिम कुरा मैले अलि फास्ट टिभी स्क्रिन स्क्रोल गर्दा अड्किए जस्तो भइरहेको थियो, जुन समस्या त सानो हो, तर टिभी अनुसार यस्तो समस्या देखिनु उचित लागेन ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १७:२४