close

ग्रहणले स्वास्थ्यमा कुनै असर गर्छ कि गर्दैन ? यस्तो छ वैज्ञानिक तथ्य

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १८:२०

ग्रहणले स्वास्थ्यमा कुनै असर गर्छ कि गर्दैन ? यस्तो छ वैज्ञानिक तथ्य

काठमाडौं । आज विश्वका विभिन्न देशबाट खग्रास चन्द्रग्रहण देखिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज साँझ ५:११ बजेबाट सुरु भएर बेलुका ६:३४ सम्ममा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान हुँदैन । यही असमानताले नै ग्रहण लाग्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै समय यी पिण्डहरू (पृथ्वी, चन्द्रमा र सूर्य) एउटै सीधा रेखामा पर्छन् । फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसरी छायाँ पर्नु नै ग्रहणको अवस्था हो ।

पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो ।

पृथ्वी पूरै छेकिँदा त्यसको छायाँ चन्द्रमा परेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण वा सूर्यग्रहण लागेको समयमा धार्मिक सिद्धान्तमा विभिन्न काम नगर्न सुझाव दिइएको हुन्छ ।

विशेषगरी धार्मिक सिद्धान्तहरूलाई आधार मान्ने हो भने ग्रहण लाग्दा सूर्य वा चन्द्रमातर्फ नाङ्गो आँखाले नहेर्नु भनिन्छ, जसलाई भौतिक शास्त्रीहरू अस्वीकार गर्छन् । विभिन्न खोज तथा अनुसन्धान गर्दा ग्रहणले मानव शरीरमा कुनै पनि असर नपुर्‍याउने वैज्ञानिकका अध्ययनले देखाएका छन् ।

सूर्यको प्रकाशलाई पृथ्वीले छेक्दा वा चन्द्रमाले छेक्दा कुनै पनि प्राणीलाई त्यसको किरणले नकारात्मक असर पार्ने कुरा गलत भएको उनीहरूको तर्क छ ।

यता ज्योतिष शास्त्र अनुसार भने विभिन्न कार्यहरू नगर्न सुझाव दिइएको हुन्छ । विशेषगरी चन्द्रग्रहणको समयमा खाना नखाने, देउताको पूजा नगर्ने, सुतक बार्नेजस्ता धार्मिक मान्यता छन् ।

ग्रहणका समयमा मात्र सूर्यबाट विकिरण आई स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने तर्कको सधैं विरोध हुने गरेको छ । ग्रहण हुनु एक किसिमको संयोग मात्र हो । त्यस्तो संयोग जहाँ सूर्य, पृथ्वी र चन्द्रमा एउटै विन्दुमा पर्छन् । त्यस्तो अवस्थामा सूर्यबाट हानिकारक किरण नआउने वैज्ञानिक विश्लेषण छ ।

यद्यपि घामलाई कुनै पनि समयमा धेरैबेर नाङ्गो आँखाले हेर्न नहुने कुरामा विज्ञान पनि सहमत छ । सूर्यमा नाङ्गो आँखाले हेर्दा त्यसको किरण हाम्रो आँखाको लेन्समा पर्छ । आँखाको लेन्समा पर्दा किरण कन्भर्ज (एकै ठाउँमा ठोक्किनु) भएर त्यसको प्रभाव कोर्नियामा पर्छ, जसले गर्दा आँखामा समस्या आउनसक्छ ।

तर चन्द्रग्रहणमा भने पृथ्वीले सूर्यको किरण छेक्दा चन्द्रमामा छायाँ बन्ने गर्छ । चन्द्रमाको छायाँ हेर्दा आँखामा कुनै असर पर्दैन । त्यसैले चन्द्रग्रहणलाई जहाँ, जहिले, जुनसुकै ठाउँबाट निर्धक्क हेर्न वैज्ञानिकले सुझाव दिएका छन् ।

त्यस्तै खाना नखाने, पूजा नगर्ने, सुतक बार्ने कुरामा पनि चन्द्रग्रहण वैज्ञानिक तथ्यबाट कहीँ कतै जोडिँदैन ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १८:५२