close

कल तथा डेटा मनिटरिङका लागि ल्याइएका करिब ३ अर्ब मूल्यका सामान २ महिनादेखि भन्सारमा

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १९:२३

कल तथा डेटा मनिटरिङका लागि ल्याइएका करिब ३ अर्ब मूल्यका सामान २ महिनादेखि भन्सारमा

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार ट्राफिक अनुगमन, मापन तथा ठगी नियन्त्रण प्रणाली-टेरामोक्स (TERAMOCS) का लागि आयात गरिएका सामग्री दुई महिनादेखि भन्सार कार्यालयमा थन्किएका छन् । सामानको वर्गीकरण फरक परेको उल्लेख गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दूरसञ्चार प्राधिकरण अन्तर्गतको परियोजनाका लागि आवश्यक सामान रोकेर राखेको हो ।

परियोजनाको ठेक्का पाएको लेबनानी कम्पनी भर्निस सोलुसन्स एलएएल (अफशोर) ले आयात गरेको करिब तीन अर्ब मूल्य बराबरका सामान भन्सार कार्यालयमा लामो समयदेखि थन्किएर बसेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक अधिकारीले वर्गीकरण फरक परेकाले सामान रोकिएको बताए ।

“हामीले दूरसञ्चार प्राधिकरणलाई पत्रमार्फत नै त्यससम्बन्धी जानकारी गराइसकेका छौँ,” उनले भने, “उता बाट त्यसको जवाफ आइसकेको छैन ।” प्राधिकरणका एक उच्च अधिकारीले भने कल ट्राफिक मनिटरिङ सिस्टम सर्भरलाई एनलाइजरको रूपमा राखेर बढी भन्सार उठाउन खोजेको दाबी गरे ।

“यो सिस्टममा नियमित रूपमा आयात भइरहने सामग्री मात्र हुँदैनन्,” ती अधिकारीले भने, “भन्सारका कर्मचारीले यसका लागि यकिन एचएस कोड नै ठम्याउन नसकेर यस्तो समस्या आएको हो ।”

अब कार्यालयले निर्धारण गरेको वर्गीकरण अनुरूपको राजस्व धरौटी स्वरूप जम्मा गरेर सामान छुटाएर लैजान सक्ने विकल्प प्राधिकरणसँग छ । “यस्तोमा भन्सार विभागबाट अन्तिम निर्णय आएपछि त्यसै अनुरूप हुने व्यवस्था छ,” भन्सार कार्यालयका अधिकारीले भने ।

भ्वाइस कल दूरसञ्चार सेवाप्रदायकले विभिन्न शीर्षकमा सरकारलाई बुझाउने राजस्वको महत्वपूर्ण स्रोत हो । यस्तोमा सेवाप्रदायकले पेश गरेको कल ट्राफिक भोलुमको आधारमा भएको बिलिङलाई नै आधिकारिक मान्दा राजस्व छली हुन सक्ने भन्दै यो सिस्टम खरिद गर्ने योजना प्राधिकरणले अगाडि बढाएको हो ।

यसबाट सेवाप्रदायकको 'लोकल तथा इन्टरनेसनल ट्राफिकको रियल टाइम डेटा हेर्न सकिने उल्लेख छ । साथै यसले भीओआईपी कल बाइपास जस्ता अपराधहरू समेत न्यूनिकरण गर्न कल अडिट प्रणालीको काम समेत गर्नेछ । २० असोज २०७४ मा नै अन्तर्राष्ट्रिय स्तरमा आशयपत्र मागिएको यो प्रणाली कानूनी उल्झनमा परेपछि अहिलेसम्म स्थापना हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १९:२४